
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालय मातहत १४ आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जेनजी आन्दोलनमा जलेर नष्ट भएका छन्।
- दमक, इटहरी, विराटनगर, लहान, जनकपुर लगायत १५ आन्तरिक राजस्व कार्यालय पूर्णरूपमा क्षति भएका छन्।
- भन्सारको अनलाइन प्रणाली आशिकुडा र आन्तरिक राजस्वको प्रणाली आईएसपी सुरक्षित रहेकाले कर संकलन सुचारु गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ।
२७ भदौ, काठमाडौं । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका छन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा आंशिक क्षति भएको छ ।
क्षति हुँदाहुँदै भन्सार कार्यालयहरूबाट अत्यावश्यक सामान आयातका लागि भन्सार जाँचपासको काम सुरु गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालयबाट भौतिक रूपमा राजस्व संकलनको काम सुरु गर्न नसकिए पनि अनलाइन मार्फत भने राजस्व संकलन भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
पूर्णरूपमा क्षति भएका आन्तरिक राजस्व कार्यालयमा दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेलधुरा र पोखरा रहेको अर्थ स्रोतले जनाएको छ ।
त्यस्तै कृष्णनगर, धुलिखेल, इलाम र सिन्धुलीका आन्तरिक राजस्व कार्यालयमा आंशिक क्षति भएको छ ।
भन्सारतर्फ मेची, भद्रपुर, भैरहवा, कैलाली र जनकपुरका कार्यालय पूर्णरूपमा क्षति भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले जानकारी दिए ।
विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी कार्यालयमा आंशिक क्षति भएको छ ।
आन्तरिक राजस्व विभाग, भन्सार विभाग तथा काठमाडौंको आन्तरिक राजस्व कार्यालयहरू भने सुरक्षित रहेको उनले बताए ।
भन्सारको अनलाइन प्रणाली आशिकुडा र आन्तरिक राजस्वको प्रणाली आईएसपी सुरक्षित रहेकाले कर संकलन सुचारु गर्न सकिने उनले बताए ।
अर्थ मन्त्रालय अन्तर्गत मुख्य भवन बाहिर रहेको बजेट महाशाखाको एउटा सानो भवन पूर्णरूपमा जलेको उनले बताए ।
मन्त्रालयको मूलभवन आगलागीबाट जोगिए पनि १५ वटा जति गाडी र ठूलो संख्यामा मोटरसाइकल जलेर नष्ट भएको उनले बताए ।
नयाँ सरकार आएसँगै अर्थ मन्त्रालयका सम्पूर्ण काम सुचारु गर्ने गरी तयारी थालिएको प्रवक्ता पाण्डेले बताए ।
प्रतिक्रिया 4