
News Summary
Generated by OK AI. Editorially reviewed.- द वाइनर्स ब्यान्डको 'गो हर्के गो' गीत सामाजिक सञ्जालमा निकै चर्चित भएको छ।
- यो गीत ९० को दशकको मध्यतिर रिलिज भएको 'कन्ट्री पङ्क रक' शैलीको हो र किरण गुरुङले गाएका हुन्।
- गीतमा काठमाडौं शहर प्रवेश गरेका हर्के पात्रलाई व्यंग्यात्मक रूपमा सम्बोधन गरिएको छ।
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यतिबेला एउटा गीत खुब चलेको छ । गीतको बोल छ, गो हर्के गो.. ।’ सामाजिक सञ्जालमा गीत छ्यापछ्याप्ती हुँदैछ । तपाईं टिकटकमा चाहर्नुहोस् वा फेसबुकमा । इन्स्टादेखि युट्युबसम्म यो गीत सुन्ने ह्वात्तै बढेका छन् ।
गीतमा ‘हर्के’ भन्ने पात्रलाई सम्बोधन गरिएको छ । यो पात्र काठमाडौं शहर प्रवेश गरेका छन् । तर, शहरको जीवनशैलीमा घुलमिल हुन सकेका छैनन् । अनि गीतमार्फत उनलाई भनिएको छ, गो हर्के गो… ।
गो हर्को गो गो
जा हर्के जा जा
हर्के घर जा
९० को दशकको मध्यतिर निस्किएको रमाइलोको खालको ‘कन्ट्री पङ्क रक’ गीत हो । द वाइनर्स नामक ब्यान्डको यो गीत किरण गुरुङले गाएका छन् । यो गीत ब्यान्डको ट्रिब्युट नामक एल्बममा संलग्न छ ।
गीत भने चक बेरीको ‘जोनी बी गुड’ बाट प्रेरित भएको बताइएको छ ।
यो गीत युट्युबमा सुन्न सकिन्छ । जसमा अकोस्टिक र स्टुडियो दुवै भर्सन रहेको छ । गीतको अकोस्टिक भर्सन २००८, सेप्टेम्बर ८ मा रिलिज गरिएको छ भने स्टुडियो १८ मे २०१३ मा । तर यी दुवै युट्युब च्यानल आधिकारिक लाग्दैनन् ।
यो गीतमा हर्कले सारङ्गी जिम्मी हेन्डरिक जस्तो बजाउने, बाबुको सम्पत्ति रित्ताएर ह्विस्की खाने, कुमार बस्नेतले जस्तो रक एन्ड रोल गाउने, टाउकोमा फेटा बाँधी गुन्डाजस्तो हिँड्ने भनेर व्याख्या गरिएको छ ।
यस्तो छ गीतको शब्द,
कहाँ हो हेर्दा खेरी डाँडाकाँडा
काठमाडौं शहरदेखि धेरै टाढा
त्यहाँ रहेछ एउटा हर्के भन्ने
गीत गाउँदा खेरी साह्रै कन्ने
मान्छे हेर्दा खेरी कस्तो-कस्तो
तर बजाउँछ सारङ्गी जिम्मी हेन्डरिक जस्तो
गो गो
गो हर्को गो गो
जा हर्के जा जा
हर्के घर जा
गुन्द्रुके कपाल फिजाई
कानमा मुन्द्री झुन्डाई
लेदरको सुरुवाल माथि
फलामे इजार लगाई हिँड्ने
कलेज जान चाहिँ गाह्रो मान्ने
बाबुको सम्पत्ति रित्ताएर ह्विस्की खाने
मान्छे हेर्दा खेरी कस्तो कस्तो
तर गाइदिन्छ रक एन्ड रोल
कुमार बस्नेत जस्तो
गो गो
गो हर्के गो गो
जा हर्के जा जा
हर्के घर जा
मित बाउको जुत्ता लगाई
छातीको करङ देखाई
च्यापुको टुप्पो मुनि
बोका झैं दारी पाली हिँड्ने
उफ्रीउफ्री हिँड्न थाले हर्के दाजु
रक्सीसँगै सधैँ खानु पर्ने काजु
मान्छे हेर्दा खेरी कस्तो कस्तो
तर टाउकोमा फेटा बाँधी हिँड्छ
गुन्डा जस्तो
गो गो
गो हर्के गो गो
जा हर्के जा जा
हर्के घर जा
प्रतिक्रिया 4