
३१ भदौ, काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–८ सिनागालमा केन्द्रीय कार्यालय रहेको अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २४ करोड ९७ लाख ५ हजार ९७७ रुपैयाँ ठगी गरेको भन्दै सञ्चालकसहित ३३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
२०४ जना बचतकर्ताको उजुरीका आधारमा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ३३ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
लामो अनुसन्धानपछि प्रहरीले कागजपत्रसहित जिल्ला सरकारी वकिलको कार्यालय तथा सरकारी वकिलको तर्फबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम २९ भदौमा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुद्दा बुझाएको थियो ।
८८ पृष्ठको अभियोगपत्र अदालतमा दर्ता भएको छ । अहिले बयान र बहसको काम सुरु भएको छ ।
प्रहरीको अनुसन्धानमा ३४ जनाविरुद्ध मुद्दा चलाउन भनिए पनि सरकारी वकिलको कार्यालयले ३३ जनाको विरुद्धमा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुद्दा दायर गरेको हो । मुद्दा दायर भएका ३३ मध्ये प्रहरीले हालसम्म ६ जनालाई पक्राउ गरी अदालतमा पेस गरेको छ ।
पक्राउ पर्नेमा अग्नी सहकारीका अध्यक्ष ललितपुर महानगरपालिका–१३ जावलाखेलका रविन्द्र श्रेष्ठ, सचिव बनेपा–१ नालाका सन्तोष पाण्डे, सञ्चालक समिति सदस्य बनेपा–७ का दिनेश वैद्य, व्यवस्थापक बनेपा–७ का राहुल चौ प्रधान, ऋण अधिकृत विकास गौतम तथा अग्नी सहकारी र स्थानीय व्यक्तिसँग बिचौलियाको काम गर्ने प्रकाश गौडेल छन् ।
उनीहरूलाई अदालत पेस गरिएको छ । ठगीमा संलग्न बनेपा–७ का उज्वल वैद्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरी अनुसन्धान गरे पनि सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उनी छुटेका छन् ।
वैद्य लक्ष्मी सनराइज बैंक गण्डकी प्रदेशका मेनेजर हुन् । अग्नी सहकारी ठगेर २७ जना फरार रहेको अदालतमा पेस गरिएको विवरणमा उल्लेख छ ।
फरार हुनेमा अग्नीका सञ्चालक समिति उपाध्यक्ष ललितपुर उपमहानगरपालि– २० का सुरोज महर्जन, कोषाध्यक्ष काभ्रे पाँचखाल–५ की स्वस्तिका खदाल, सञ्चालक समिति सदस्यहरू पनौतीका सुजन थापा, साहाना श्रेष्ठ, लेखापाल धुलिखेल–१ का चण्डिका चौलागाईं, अग्नीका पूर्वअध्यक्ष मोरङ घर भई हाल बनेपा–२ बस्ने भरतराज भट्टराईका छोरा हरि वशिष्ठ (भट्टराई) छन् ।
यसैगरी, अग्नीका पूर्वसदस्य चन्द्रतारा शाक्यका छोरा काठमाडौं–२१ का मणिशरत्न शाक्य, लेखापाल जितबहादुर लिम्बुकी छोरी चन्द्रा लिम्बु, पूर्वप्रबन्धक भद्रपुर–१ का डम्बरध्वज सुब्बा, उदयपुर लिम्चुङबुङ–३ का मनप्रसाद राई, दोलखा भीमेश्वर–२ की कल्पना श्रेष्ठ, ओखलढुङ्गा लिखु–३ का लोचन बस्नेत, पाँचथर फिदिम–९ का कुमार जवेगु पनि फरार छन् ।
यसैगरी अग्नीका लोन अधिकृत तारकेश्वर–११ का रवि नेपाल भन्ने अविश्रान्त केसी, लेखापाल बनेपा–११ की रोशिना तामाङ, पाँचखाल–२ का श्रीराम अधिकारी, बनेपा–१ का नवीन पाण्डे, धुलिखेल–७ का सनिल लामा, बनेपा–१४ का रोशन लामा, नमोबद्ध–३ बस्ने ज्ञानु लामा भन्ने ज्ञानबहादुर तामाङ, उदयपुर चौदण्डीगढी–३ का विज्ञान राई (जो जीबी राईसँग जोडिन्छन्) समेत फरार रहेका छन् ।
फरार हुनेमा झापा शिवसताक्षी–९ बस्ने नुनम सुब्बा र उनका भाइ सुनम सुब्बा, बारा जितपुर सिमरा–१४ घर भई भक्तपुर सूर्य विनायक–५ बस्ने शान्तमणि रिजाल, भोजपुर षडानन्द–१० बस्ने ईश्वर किरात राई, उदयपुर चौदण्डीगढी–३ का विनय राई र धुलिखेल–४ का रोशन चौलागाई छन् । उनीहरूलाई जिल्ला अदालत काभ्रेबाट पक्राउ पुर्जी जारी भएको छ ।
३१ साउन २०८१ मै संस्कति पर्यटन तथा सहकारी मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार उक्त सहकारी ठगीमा संलग्न व्यक्तिहरूलाई अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पत्राचार गरिएको थियो ।
सहकारीका अध्यक्ष रविन्द्र श्रेष्ठ, उपाध्यक्ष सुरोज मर्हजन, सचिव सन्तोष पाण्डे, कोषाध्यक्ष स्वस्तिका खदाल, सदस्यहरू साहना श्रेष्ठ, सुजन थापा, दिनेश वैद्य तथा व्यवस्थापक राहुल चौ प्रधान र ऋण अधिकृत विकास गौतमविरुद्ध जाहेरी दर्ता भएको थियो । २ मंसिर २०८१ मा जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी परेको थियो ।
त्यसको लगत्तै ४ मंसिरमा सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौंडाको पत्रबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पछि प्रहरीमा ठगी भएको भन्दै सञ्चालक र अग्नीसँग जोडिएका विभिन्न व्यक्तिलाई विपक्षी बनाउँदै २०४ जनाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएका थिए ।
उनीहरूले समितिका अध्यक्ष लगायतका सञ्चालकहरूले अनेक बहाना बनाई समयमा बचत फिर्ता नगरेको, झुलाउने र झुक्याउने, विभिन्न शीर्षकमा जम्मा गरेको रकम हिनामिना गरेको भन्दै उजुरी दिएका थिए ।
‘कार्यालय समेत बन्द भएको र सम्पर्कविहीन भएको भन्दै २०४ जनाले उजुरी दिएपछि हामीले अनुसन्धान सुरु गर्यौं,’ जिल्ला प्रहरी प्रमुख कोमल शाहले भने, ‘झन्डै २५ करोड ठगीको प्रमाण, ३४ जना दोषी देखिए ।’
उजुरी परेकोमध्ये अर्जुन तिमल्सिना लगायत ५४ जनाको ८ करोड २ लाख ५७ हजार ७३७, सुजेन्द्र तौजले श्रेठको ४ करोड ८५ लाख ४ हजार ६६२, ताराकुमारी श्रेष्ठ लगायत ९ जनाको ८२ लाख ७२ हजार ३६०, रामेश्वर बैद्धार लगायत १३ जनाको ७९ लाख ९१ हजार ५४६, गंगालक्ष्मी वैद्य (सञ्चालक दिनेश वैद्यकी श्रीमती) २ करोड ५० लाख, भागवत श्रेष्ठ लगायत ६ जनाको १ करोड १७ लाख ४६ हजार ७९७ लगायत विभिन्न २०४ जना व्यक्तिको २४ करोड ९७ लाख ५ हजार ९७७ रुपैयाँ छ ।
३३ जनालाई मात्र मुद्दा चलाउने सरकारी वकिलको निर्णय जिल्ला प्रहरी कार्यालय काभ्रेले लामो समय लगाएर ३४ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेस गर्यो ।
पक्राउ गरी अनुसन्धान गरिरहेका उज्वल वैद्यलाई भने जिल्ला सरकारी वकिल कार्यालयले हिरासतमा रहेको लामो समयपछि मुद्दा नै खारेज भयो ।
अग्नीको रकम हिनामिनामा विभिन्न कोणबाट जोडिएका लक्ष्मी सनराइज बैंकका गण्डकी प्रदेश प्रमुख उज्वल वैद्य तत्कालीन समयमा लक्ष्मी सनराइज बैंक बनेपा शाखाका म्यानेजर थिए । बनेपा शाखा बागमती प्रदेशको कार्यालय पनि थियो ।
उनी बागमती प्रदेशको प्रमुख र बनेपा शाखाको म्यानेजर हुँदा ऋण मिलाइदिनेदेखि अग्नीका अध्यक्ष रविन्द्रमार्फत आफ्नी श्रीमती रस्ना पोटे वैद्यको नाममा जग्गा लिएको तथा बचतकर्ताहरू किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । उनी पनि ठगीमा संलग्न भएको पर्याप्त प्रमाण प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
उज्वल ठगीमा संलग्न भएको बनेपाका सुरेन्द्र तौजलेले जाहेरी दिएका थिए । सुजेन्द्र तौजलेको किटानी जाहेरी र अध्यक्ष रविन्द्र श्रेष्ठको बयानका आधारमा उज्वल वैद्यलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको भए पनि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको छ ।
उज्वललाई सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले अनुसन्धान गर्नु नपर्ने भनेर अदालतमा नै पेस गरिनन् । जिल्ला न्यायाधिवक्ता भण्डारीले प्रहरीबाट आएको फाइलमा उज्वल एकजनालाई मुद्दा नचलाउने भन्दै हटाएर अदालत पेस गरेकी थिइन् ।
प्रहरीको अनुसन्धानबाट आएका उज्वलसँग सम्बन्धित बयानहरू यथावत राखे पनि उज्वलको अभियोजन हटाएर जिल्ला अदालतमा फाइल पेस गरेकी छिन् ।
भण्डारीले अदालतमा पेस गरेको फाइलमा नै उल्लेख भएका बयानले उज्वलले अग्नीका अध्यक्ष रविन्द्रसँग मिलेर बैंकबाट ऋण मिलाउने, व्याजमा कमिसन खाने तथा रविन्द्रलाई सहयोग गरेवापत रविन्द्रको नाममा रहेको ललितपुरको साढे दुई तलाको घरसहित जग्गा लिएर आफ्नी श्रीमती रस्ना पोटेको नाममा गरेको खुलेको छ ।
उज्वलको बुबा दिनेश बैद्य अग्नीकै सञ्चालक समिति सदस्य हुन् भने उज्वलले उनकी आमा गंगालक्ष्मी महाजु वैद्य र सुरेन्द्र तौजलेको संयुक्त नाममा रहेको जग्गा राखेर अग्नीमार्फत नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) बाट ५ करोड रुपैयाँ ऋण लिएको अग्नीका अध्यक्ष रविन्द्रले बयानमा भनेका छन् । उनीहरूले नेफस्कुनबाट कम व्याजदरमा रकम निकाल्ने अनि बढी व्याजमा लगानी गरिरहेका थिए ।
गंगालक्ष्मी महाजु वैद्य र सुजेन्द्र तौजलेको जग्गा राखेर निकालिएको ऋण अग्नीले तिर्न नसकेर लिलामीमा निस्केपछि नेफ्स्कुनको ऋण गंगालक्ष्मीको छोरा उज्वल र सुजेन्द्र तौजलेले बेहोर्ने र त्यो वापत रविन्द्रले ललितपुरमा भएको आफ्नो नामको घर सहितको जग्गा दिने सहमति भएको थियो ।
त्यस बखत उज्वलले झेल गरेर रविन्द्रले दिएको जग्गा र घर आमालाई र सुजेन्द्रलाई मिलाउँछु भन्दै आफ्नी श्रीमती रस्नाको नाममा पास गरेका थिए ।
सुजेन्द्रको पैसा उज्वलले तिर्ने सहमति भए पनि नतिरेपछि सुजेन्द्रले किटानीसहित प्रहरीमा उजुरी दिएका थिए । रविन्द्रले बयानमा भनेका छन्, ‘उज्वलले सुजेन्द्रले पाउनुपर्ने हिसाब म मिलाउँछु, तपाईंले तिर्नु पर्दैन भनेर भनेपछि ४ आनामा बनेको साढे २ तल्ले घर उसको श्रीमतीको नाममा पास गरेको हुँ ।’
त्यति मात्र हैन, लक्ष्मी सनराइज बैंकमा काम गर्दा सुजेन्द्र तौजलेलाई अग्नी बचतमा १ करोड रुपैयाँ जम्मा गर्न लगाई उज्वलले २४ प्रतिशत व्याज अग्निसँग लिएर सुजेन्द्रलाई १८ प्रतिशत मात्र दिएको आरोप लागाएका छन् ।
प्रहरीले बुझाएको ३४ जनामध्ये उज्वलको मात्र नाम हटेर अन्यलाई मुद्दा पेस भएपछि न्यायाधिवक्ता कृष्णा भण्डारीको नियतबारे अन्य आरोपितका आफन्तले शंका गरेका छन् ।
अन्य आरोपितका आफन्त तथा उज्वललाई जाहेरी दिने व्यक्तिहरूले आइतबार जिल्ला न्यायाधिवक्ता भण्डारीलाई भेटेर आफ्नो रकमको सुनश्चितताको लागि अनुरोध गरेका छन् ।
यसबारे न्यायधिवक्ता भण्डारीले अनलाइनखबरसँग कुरा गर्दै उज्वलमाथि मुद्दा चलाउने आधार नभएकोले मुद्दा दायर नभएको बताइन् । ‘मैले अभियोजन गर्ने हो, अनुसन्धान गर्ने हैन । मैले जे देखें त्यही गरें, आधार देखिनँ,’ न्यायाधिवक्ता भण्डारीले भनिन् ।
कहाँ-कहाँबाट समातिए आरोपित अग्नीका अध्यक्ष रविन्द्र श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले भाग्दै गरेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोजी चोकबाट मध्यरातमा पक्राउ गरेको थियो । रविन्द्रसँगै प्रकाश गौडेल पनि पक्राउ परेका थिए ।
प्रकाश रविन्द्रसँग मिलेर कैलाली–कञ्चनपुरका स्थानीयको जग्गा व्याज बढी दिने लोभ देखाएर धितो राख्दै भ्यालुएसन पुर्याउन सहयोग गर्ने व्यक्ति हुन् । उनी स्थानीय र अग्नीको मध्यस्थकर्ताको रूपमा कार्य गर्ने र नेफस्कुनबाट गएको टोलीलाई जग्गा देखाउने काम गर्थे ।
त्यस्तै दिनेश वैद्य, सन्तोष पाण्डे, राहुल चौप्रधान, विकास गौतमलाई बनेपाबाट पक्राउ गरिएको हो भने उज्वल वैद्यलाई लक्ष्मी सनराइज बैंक पोखराबाट फक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4