News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा संक्रमणकालीन अवस्थामा स्वास्थ्य मन्त्रालयलाई नेतृत्व दिने जिम्मेवारी अनुशासित र अनुभवसंपन्न व्यक्तिलाई दिनुपर्ने अवस्था छ।
- डा.गुणराज लोहनीले कोशी अस्पताल र स्वास्थ्य बीमा बोर्डमा ल्याएको सुधारले उहाँलाई स्वास्थ्य मन्त्रालयको उपयुक्त उम्मेदवार बनाएको छ।
- संक्रमणकालमा स्वास्थ्य मन्त्रालयले पारदर्शिता र जवाफदेहिता देखाएर जनविश्वास पुनःस्थापना गर्नुपर्ने आवश्यक छ।
नेपाल अहिले फेरि एउटा संक्रमणकालको डिलमा उभिएको छ । सडकमा धुलो उडिरहेको छ, जनताको मनमा अनिश्चितताको बादल घुमिरहेको छ । आन्दोलनको बलले पुरानो सरकार परिवर्तन भएर अन्तरिम सरकार बनेको छ ।
जनजीवन बिस्तारै लयमा फर्कँदै गरेको देख्न सकिन्छ । केही मन्त्रालयले नेतृत्व पाए पनि थुप्रै मन्त्रालयले मन्त्री पाउन सकेको छैन । यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि पर्छ ।
यो केवल औषधि वितरण गर्ने मन्त्रालय होइन, यो जीवनलाई जोडेर राख्ने आधार हो। यस्तो बेलामा स्वास्थ्य मन्त्रालयले सामान्य परिस्थितिमा भन्दा बढी उत्तरदायित्व हुन्छ । यो अल्पकालीन सरकार भएकाले यसमा यसले नीतिगत भन्दा पनि जनताका आधारभूत आवश्यकतालाई जोड दिनु मुख्य दायित्व हुन्छ ।
जनताको बाँच्ने अधिकारलाई सुरक्षित कसरी गर्ने ? महामारी वा आकस्मिक अवस्थाले फेरि आक्रमण गरे के गर्ने ? सीमित स्रोतलाई कसरी प्रभावकारी प्रयोग गर्ने ? अनि नागरिकले हराएको विश्वासलाई कसरी पुनःस्थापित गर्ने ? भन्ने मुख्य प्राथमिता रहनुपर्छ ।
यसरी हेर्दा अहिलेको अवस्थामा स्वास्थ्य मन्त्री भनेको केवल पद धारण गर्ने व्यक्तित्व मात्र होइन, संकटमा कप्तान बन्ने जिम्मेवारी बोकेको अनुशासित नेता हुनुपर्छ । उनीसँग स्पष्ट दृष्टि, ठोस अनुभव र शुद्ध छवि हुनैपर्छ ।
तर संक्रमणकालीन यो अवस्था सामान्य समय होइन। यहाँ समय केवल ६ महिना हो। स्रोतसाधनहरू धेरै नष्ट छन्, अभिलेखहरू ध्वस्त छन्, जनविश्वास चकनाचुर भएको छ । यस्तो खतरनाक समयमा मन्त्रालयको कामलाई फूर्तिलो, जवाफदेही र पारदर्शी बनाउने कुरा सर्वोपरि हुन्छ ।यो अवस्थामा स्वास्थ्य मन्त्रालय चलाउने व्यक्ति नेपालको स्वास्थ्य प्रणालीलाई गहिरो रूपमा चिनेको, त्यहाँका संरचना र समस्याको अनुभव बटुलेको, अनि व्यावहारिक समाधानमा जुट्न सक्ने हुनैपर्छ ।
यसै कारण यो बेलामा सम्वेदनशिलता बुझेका तर मन्त्रालय र स्वास्थ्य प्रणालीसँग नजिक बसेर काम गरेका व्यक्तिहरू उपयुक्त देखिन्छन्।
यस अवस्थाका लागि चर्चामा दुई वरिष्ठ र सेलिब्रेटी डाक्टरका नाम पनि छ । डा. भोला रिजाल र डा. भगवान कोइराला । दुवै जना स्वास्थ्य क्षेत्रमा चम्किएका नामहरू हुन्।
डा. रिजालले स्त्रीरोग र प्रसूति क्षेत्रमा साथै जनचेतनामा ठूलो योगदान दिनुभएको छ । उहाँको नाम सुन्दा धेरैलाई नारी स्वास्थ्य सुधार र लामो अनुभवको सम्झना आउँछ। तर उहाँको प्रभाव र छवि धेरैजसो निजी संस्थासँग जोडिएको छ। संक्रमणकालीन अवस्थाको मन्त्रीलाई चाहिने प्रशासनिक र नीतिगत अनुभवको तुलनामा उहाँको योगदान बढी चिकित्सकीय अभ्यासमा केन्द्रीकृत छ।
त्यस्तै डा.भगवान कोइराला, जसको नाम सुन्दा नै जनताले विश्वास गर्छन् । हृदय रोग उपचारमा, हृदय प्रतिष्ठानमा, अनि पछिल्लो समय चिकित्सा शिक्षा सुधारको अभियानमा उहाँले खेलेको भूमिका अनुपम छ । तर उहाँलाई बढी चिकित्सा शिक्षा सुधार र संस्थागत क्रान्तिसँग जोडिन्छ। उहाँको लोकप्रियता र नेतृत्व क्षमताबारे प्रश्न छैन । तर संक्रमणकालको ६ महिनामा, जहाँ प्रणालीलाई तत्कालिक रूपमा उठाउन, स्रोतलाई व्यवस्थित गर्न र सेवा निरन्तरता कायम राख्नुपर्छ, त्यहाँ उहाँको विशिष्टता भन्दा फरक प्रकारको अनुशासन र प्रशासनिक अनुभव आवश्यक हुन्छ ।
यही सन्दर्भमा अर्को नाम जोडिन्छ, डा.गुणराज लोहनी । उहाँको नाम चर्चामा छैन । सायद उहाँ काम गर्ने तर चर्चा मन नपराउने हुन सक्छ ।
उहाँलाई मैले व्यक्तिगत रूपमा चिनेको छैन, न त उहाँसँग प्रत्यक्ष काम गर्ने अवसर पाएँ। तर उहाँको कामले ल्याएको परिवर्तनलाई मैले आफ्नै आँखाले देखेको छु, महसुस गरेको छु । कोशी अस्पतालमा उहाँ मेडिकल सुपरिन्टेन्डेन्ट भएर आउँदा त्यहाँको अवस्था कस्तो थियो भन्ने कुरा धेरैलाई थाहा छ । अव्यवस्थित, ढिलोसुस्ती गर्ने, बिरामीमैत्री नभएको प्रणाली, अनि प्रशासनिक अलमल। तर उहाँको नेतृत्वमा त्यहाँ आएको अनुशासन, सफाइ, कार्यकुशलता र सेवा सुधारलाई त्यतिबेला नै धेरैले अनुभूति गरेका थिए। अस्पताल प्रशासनमा एकजना व्यक्तिको दृष्टि र अनुशासनले कस्तो फरक पार्छ भन्ने उदाहरण त्यही हो।
त्यसपछि उहाँले स्वास्थ्य बीमा बोर्डमा नेतृत्व लिनुभयो। त्यो बेलासम्म बीमा कार्यक्रम लगभग विफल जस्तै थियो। कागजी योजना थियो, तर कार्यान्वयन अस्तव्यस्त, जनविश्वास हराएको। तर डा.लोहनीको नेतृत्वमा त्यो अस्तव्यस्ततालाई धेरै हदसम्म नियन्त्रणमा ल्याइयो। नीति स्पष्ट पारियो, सेवा प्रवाहलाई व्यवस्थित गरियो, अनि नागरिकलाई फेरि कार्यक्रमसँग जोड्ने प्रयास भयो। यो आफैंमा सजिलो काम थिएन। संस्थागत सुधार भनेको केवल नियम बनाउने कुरा होइन, त्यो संस्कार बदल्ने कुरा हो। त्यस्तो संस्कार बदल्न सक्ने नेतृत्व क्षमता उहाँमा देखियो।
सबैभन्दा महत्वपूर्ण कुरा, उहाँको छवि अहिलेसम्म कुनै पनि भ्रष्टाचार काण्डसँग जोडिएको छैन। ओम्नी प्रकरण जस्ता घोटालाहरूले नेपालका स्वास्थ्य मन्त्रालयलाई लगातार प्रश्नमा राखेका छन् । त्यस्तो समयमा विवादमुक्त, शुद्ध र अनुशासित व्यक्तित्व हुनु भनेको जनताको मन जित्ने प्रमुख आधार हो । उहाँ हक्की मान्छे हुनुहुन्छ, तर हक्की हुनु यस परिप्रेक्ष्यमा कमजोरी होइन, बरु शक्ति हो । स्पष्ट बोल्न सक्ने, निर्णय लिन सक्ने, अनि जिम्मेवारी वहन गर्न सक्ने व्यक्तित्व आवश्यक छ ।
संक्रमणकालमा स्वास्थ्य मन्त्रालयलाई चाहिने कुरा दीर्घकालीन रणनीति होइन, तत्कालीन अनुशासन हो । यो ६ महिनामा ठूलो योजना कार्यान्वयन हुँदैन । तर एउटा ठूलो कुरा हुन्छ-नागरिकको भरोसा पुनःजागृत हुन्छ ।
यदि यो छोटो अवधिमा स्वास्थ्य सेवा निरन्तर र पारदर्शी देखियो भने जनताको मनमा फेरि विश्वास पलाउँछ । अनि त्यो विश्वास नै आगामी प्रणालीलाई बलियो बनाउने आधार बन्छ । यस्तो विश्वास पुनःस्थापना गर्ने क्षमता भएको व्यक्तित्व डा.लोहनी उपयुक्त उम्मेदवार हुन सक्नुहुन्छ ।
स्वास्थ्य सेवा केवल उपचार मात्र होइन, आशाको प्रतीक हो । गाउँबाट बिरामी बोकेर ल्याउने आमाबाबु, सुत्केरीका लागि अस्पतालको ढोका ढकढक्याउने महिला, आकस्मिक कक्षमा चिच्याउँदै छट्पटाउने बालबालिका । यी सबैले राज्यलाई स्वास्थ्य सेवामार्फत भेट्छन् ।
त्यहाँ उनीहरूले पाउने व्यवहारले उनीहरूको मनमा देशप्रति दृष्टिकोण निर्माण गर्छ । त्यसैले स्वास्थ्य मन्त्रालयमा आउने व्यक्तिले केवल अस्पतालका पर्खालभित्रको प्रणाली होइन, राष्ट्रको आत्मालाई पनि सिञ्चित गर्ने जिम्मेवारी बोकेको हुन्छ।
अहिलेको संक्रमणकालमा, जब सबै मन्त्रालयहरू आ-आफ्नै अस्तव्यस्ततामा छन् । यस्तो बेला स्वास्थ्य मन्त्रालयले अनुशासन, पारदर्शिता र जवाफदेहिता प्रदर्शन गर्न सक्यो भने त्यो सरकारको नैतिकता पुनःजागृत गर्ने एउटा प्रकाश स्तम्भ बन्न सक्छ । र, त्यो गर्न सक्ने व्यक्तित्व डा.गुणराज लोहनीमा देखिन्छ।
अहिलेको विशेष परिस्थिति हेर्दा उपयुक्त स्वास्थ्य मन्त्रीका रूपमा डा.गुणराज लोहनी नै अघि आउन सक्ने ठोस तर्क छन्। उहाँको अनुभव, छवि र अनुशासनलाई हेर्दा यो जिम्मेवारी उहाँलाई सुम्पनु भनेको केवल स्वास्थ्य मन्त्रालयलाई दिशा दिनु मात्र होइन, जनताको भरोसा पुनःजागृत गर्नु पनि हो।
देश र जनताको आवश्यकताले भन्दा पनि पार्टी र त्यहाँ भएका गुटको सन्तुलन मिलाउने हिसाबमा मन्त्री चयन हुने परिपाटी रहँदै आएको थियो । जेन जी विद्रोहको कारणमध्ये एउटा यो पनि हो । यो समय फरक छ।
समय ६ महिना भए पनि यसले भविष्यको दिशा तय गर्छ । त्यसैले यसपटक केवल सही मान्छे रोज्न सक्ने साहस गर्नुपर्छ। अनि त्यो सही मान्छे कोही अर्को होइन, डा. गुणराज लोहनी नै हुन सक्छन्।
प्रतिक्रिया 4