+
+
Shares

रास्वपाले भन्यो– जेनजी आन्दोलनमा अराजकतामा संलग्नले पार्टी त्याग

रास्वपा सहमहामन्त्री विपिन कुमार आचार्यले आगजनी र तोडफोडमा पार्टी नेता वा समर्थक संलग्न रहेको प्रमाणित भए कानुनअनुसार कारबाही गर्न सरकारलाई आग्रह गर्दै त्यसमा रास्वपाको पूर्ण सहयोग रहने पनि बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते ८:५४

२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन कुमार आचार्यले हालैको जेनजी युवा आन्दोलनका क्रममा देखिएका अराजक गतिविधिमा संलग्नलाई पार्टीसँगको आबद्धता त्याग्न र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।

आचार्यले नख्खु कारागारबाट सभापति रवि लामिछाने बाहिरिएपछि भएको आगजनी र तोडफोडमा पार्टी नेताहरू संलग्न रहेको प्रमाणित भए कानुनअनुसार कारबाही गर्न सरकारलाई आग्रह गर्दै त्यसमा रास्वपाको पूर्ण सहयोग रहने पनि बताएका छन् ।

नख्खु कारागार आसपासमा भएको प्रदर्शनका क्रममा पार्टीका नेताहरू प्रत्यक्ष वा परोक्ष रूपमा भीडलाई उक्साउने वा हिंसात्मक गतिविधिमा संलग्न भएको प्रमाणित भए बिनाशर्त अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउँदै आचार्यले भनेका छन्, ‘म वा मभन्दा माथिल्लो तहका वा तल्लो तहका जसैले संलग्नता देखाए पनि छानबिन र कारबाहीको दायरामा आउनुपर्छ ।’

घटनासँग प्रत्यक्ष र परोक्ष सम्बन्ध रहेको भन्दै विभिन्न भिडियोहरू र फोटोहरू आफूलाई प्राप्त भएको भन्दै उनले पार्टीको जिम्मेवार पदाधिकारीको रूपमा ती सबै सामग्रीहरू जस्ताका त्यस्तै अनुशासन आयोगसम्बद्ध सदस्यहरूलाई पठाएको उनले उल्लेख गरेका छन् ।

‘सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूबाट राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रदेखि विभिन्न तहमा रहेका नेतृत्वले उग्रता प्रदर्शन गरेको देखिए यस्तो कुराको अपनत्व पार्टीले लिन सक्दैन,’ आचार्यले भनेका छन्, ‘रास्वपाजस्तो शान्ति र अहिंसात्मक राजनीतिलाई मूल मर्म बनाएको पार्टीले नेतृत्व वा समर्थकले गरेका कुनै पनि उग्रताको समर्थन गर्नसक्ने ठाउँ रहन्न ।’

उनले रास्वपा स्थापना कालदेखि नै अहिंसा र लोकतान्त्रिक मूल्यमा प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीविरुद्ध मिथ्या सूचना र अफवाह फैलाउने षड्यन्त्र भइरहेको दाबीसमेत गरेका छन् ।

जेनजी आन्दोलनलाई रास्वपाले सुरुदेखि नै शान्तिपूर्ण ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै आचार्यले अन्यायको अनुभूति गर्ने सबै युवाहरूसँग एकता र सहकार्य निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

भदौ २३ गते राजधानीमा भएका शान्तिपूर्ण आन्दोलनलाई सरकारले दमन गरेको भन्दै आचार्यले त्यसैको प्रतिक्रियास्वरूप उत्पन्न अराजकतालाई पार्टीले कहिल्यै समर्थन नगर्ने प्रष्ट पनि पारेका छन् ।

‘शान्ति र अहिंसात्मक राजनीतिलाई मूल मर्म बनाएको पार्टीले कुनै पनि तह वा तप्काबाट उग्र गतिविधि हुने हो भने त्यसको समर्थन गर्न सक्दैन,’ आचार्यले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?