+
+
Shares

विध्वंसले सेयर बजारमा सूचीकृत दुई दर्जन कम्पनीलाई असर

निर्माण क्षेत्रलाई सहयोग, हाइड्रोपावर सुरक्षित

विभिन्न भवन, सवारीसाधन, चोरिएका सुन तथा अन्य मूल्यवान वस्तुहरुको बीमा दाबी भुक्तानी गर्नुपर्ने भएपछि सूचीकृत १३ निर्जीवन बीमा र २ पुनर्बीमालाई असर पर्नेछ। पर्यटन सेवा प्रभावित हुँदा होटल तथा पर्यटन समूहका ६ कम्पनीको बिजनेस घट्नेछ ।

कमल नेपाल कमल नेपाल
२०८२ असोज २ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २४ मा भएको आगजनी, तोडफोड र लुटपाटले सेयर बजारका करिब दुई दर्जन कम्पनी प्रभावित भएका छन्।
  • निर्जीवन बीमा कम्पनीहरूलाई करिब ३० अर्ब रुपैयाँ दाबी भुक्तानीका लागि आवेदन पाएका छन्, यसले पुनर्बीमा कम्पनीहरू हिमालयन र नेपाल पुनर्बीमालाई ठूलो असर परेको छ।
  • बैंकका ६१ शाखा, केही एटीएम मेसिनहरूमा क्षति पुगेको छ भने हाइड्रोपावर कम्पनीहरू सुरक्षित रहेका छन् र निर्माण क्षेत्रलाई सकारात्मक प्रभाव पर्ने देखिएको छ।

२ असोज, काठमाडौं । भदौ २४ मा विरोध प्रदर्शनका क्रममा आक्रमणकारीले गरेको आगजनी, तोडफोड र लुटपाटका घटनाबाट सेयर बजारमा सूचीकृत करिब दुई दर्जन कम्पनीलाई असर पर्ने देखिएको छ ।

विध्वंसका कारण सेयर बजारमा सूचीकृत  तीनवटा पब्लिक कम्पनीमा आगजनी तथा भौतिक क्षति नै भएको छ । तारागाउँ रिजेन्सी होटेल, चन्द्रागिरि हिल्स लिमिटेड तथा नेपाल टेलिकमका केही भौतिक संरचनामा आगजनी लुटपाट तथा तोडफोड भएको छ ।

त्यस्तै, देशभर विभिन्न बाणिज्य बैंकका शाखाहरुमा समेत क्षति पुगेको नेपाल बैंकर्स संघले जनाएको छ। अप्रत्यक्ष रुपमा भने निर्जीवन बीमा, पुनर्बीमा कम्पनी एवम् होटेलहरू बढी प्रभावित भएका छन् । यी कम्पनीको बिजनेसमा प्रत्येक्ष असर पर्ने भएकाले सेयर मूल्यमा यसको प्रभाव देखिन सक्नेछ ।

नेप्सेमा १३ निर्जीवन बीमा कम्पनी, २ पुनर्बीमा कम्पनी सूचीकृत छन् । हालसम्म ३० अर्ब रुपैयाँ हाराहारीमा माग दाबी परेको छ । यो दाबी रकम बढ्न सक्ने निर्जीवन बीमक संघको अनुमान छ ।  पर्यटन सेवा प्रभावित हुँदा होटल तथा पर्यटन समूहका ६ कम्पनीको बिजनेसमा अबका केही महिना सिधा असर पर्ने भएको छ ।

होटल सेक्टरका ६ कम्पनीलाई असर

सेयर बजारमा सूचीकृत रहेकामध्ये बौद्धस्थित तारागाउँ रिजेन्सी होटल (हायात)को एउटा भवनमा आगजनी भएको छ । मुख्य गेटनजिक रहेको क्यासिनो भवन र सो भवन भित्रका भौतिक संरचना आगजनी भएको छ । तर पर्यटक बस्ने रुम रहेका भवन भने सुरक्षित नै छन् ।

पार्किङमा रहेका केही सवारीसाधन जलाइएको छ । आगजनीका कारण तत्कालै होटेल सञ्चालन गर्न भने असहज छ । होटलको बिजनेसमा अरु केही महिना असर पर्न सक्ने छ ।

त्यस्तै सूचीकृत अर्को कम्पनी चन्द्रागिरि हिल्सको तल्लो स्टेशनमा आगजनी भएको छ । तल्लो स्टेसनमा भएको आगजनीले अहिले चन्द्रागिरि हिल्सको केबुलकार सेवा ठप्प छ । केबुलकार सेवा सञ्चालन नै अनिश्चित भएको छ । यसले कम्पनीको बिजनेसमा केही महिना असर पार्नेछ । निर्माण सम्पन्न भएपछि मात्रै निर्वाध रुपमा व्यवसाय सञ्चालनमा आउनेछ ।

‘चन्द्रागिरि केबुलकार कुनै एकल लगानी भएको संस्था होइन, यो पब्लिक कम्पनीका रुपमा लाखौं साझा लगानीकर्ता भएको संस्था हो’ कम्पनीले विज्ञप्तिमा भनेको छ ‘प्रदर्शनका क्रममा मंगलबार केबुलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको छ, तर हामी विचलित भएका छैनौं ।’

यी दुई मात्रै नभई होटल तथा पर्यटन समूहका अरु ४ कम्पनी सोल्टी, ओरियन्टल, सिटी होटल र कालिन्चोक दर्शनलाई पनि अप्रत्येक्ष रुपमा असर पर्नेछ ।

हालको विध्वंस घटनाले विश्वभर नकारात्मक सन्देश फैलिएको छ । पर्यटन सिजन सुरु हुनै लाग्दा भएको यो घटनाले नेपाल आउने पर्यटकको मनोभावनालाई असर परेको होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन् ।

‘यतिबेला विदेशमा एउटा गलत म्यासेज फैलिएको छ, अब सरकार र निजी क्षेत्रका सबै व्यवसायीले तत्कालै सकारात्मक सन्देश प्रवाह गराउनुपर्छ’ उनले भने । सकारात्मक सन्देश बढाउन सके केही महिनामै पर्यटन क्षेत्र रिकभर हुने उनले बताए ।

२३ र २४ गते भएको प्रदर्शनका क्रममा कयौं होटल बुकिङ समेत रद्द भएका छन् । ‘यतिबेला होटल तथा पर्यटन सेक्टरका कम्पनीको बिजनेसमा धक्का परेको छ’ शाहले भने।

तर ट्रेकिङमा कुनै अवरोध नरहेको, हाम्रा पर्यटकीय सम्पदा दुरुस्त रहेको, कुनै महँगी नभएको जस्ता सन्देश कुटनीतिक नियोगमार्फत पुर्‍याएर पर्यटन क्षेत्र जगाउनुपर्ने उनले बताए ।

१३ निर्जीवन बीमा कम्पनीमा हलचल

विध्वंसले सूचीकृत सबै १३ निर्जीवन बीमा कम्पनीलाई सिधा असर पर्ने भएको छ । विभिन्न भवन, सवारीसाधन, चोरिएका सुन तथा अन्य मूल्यवान वस्तुहरुको बीमा गरिएको हुन्छ।

ती सम्पत्तिको निर्जीवन बीमा कम्पनीले क्षतिपूर्ति दिलाउँछन् । हालसम्म करिब ३० अर्ब रुपैयाँ माग दाबी गर्दै आवेदन परेको निर्जीवन बीमक संघले जनाएको छ । यो दाबी रकम अझै बढ्न सक्ने अनुमान छ ।

निर्जीवन बीमक संघका अध्यक्ष विरेन्द्रबहादुर बैदवार क्षेत्रीका अनुसार अहिले केही ठूला दाबीहरू मात्रै आएको छ । ‘जति क्षति भएको छ, त्यो क्षति सबै निर्जीवन बीमा कम्पनीमा बाँडिएको हुन्छ, त्यसैले धेरै आत्तिनुपर्ने अवस्था पनि होइन ।’

सेयर बजारमा सूचीकृत भएका निर्जीवन बीमा कम्पनीमा नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, हिमालयन एभरेस्ट, युनाइटेड अजोड, सिद्धार्थ प्रिमियर, नेको, प्रभु, सगरमाथा लुम्बिनी, आईजीआई, शिखर, एनएलजी, सानिमा जीआईसी तथा नेपाल माइक्रो इन्स्योरेन्स छन् ।

जोखिम हस्तान्तरण विषय प्राविधिक भएको बताउँदै क्षेत्रीले मोटामोटी औसतमा ३५ प्रतिशतको हाराहारीमा निर्जीवन बीमा कम्पनी आफैंले जोखिम लिने गरेको जानकारी दिए ।

उता रेटिङ कम्पनी इक्रा नेपालले केही कम्पनीलाई पछिल्लो विध्वंसले नकारात्मक प्रभाव परेको रुपमा औंल्याएको छ । सार्वजनिक सूचनामार्फत नै इक्राले आफूले रेटिङ गरेकामा नेपाल पुनर्बीमा र अरु ५ निर्जीवन कम्पनीलाई ‘नकारात्मक प्रभावमा हेर्नुहोस्’ भन्ने सूचना जारी गरेको छ ।

अन्य समूहका दुई पुनर्बीमालाई ठूलो असर, टेलिकम प्रभावित

निर्जीवन बीमा कम्पनीभन्दा ठूलो असर अन्य समूहमा सूचीकृत भएका दुई पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमालाई पर्ने भएको छ ।

बीमा कम्पनीहरुले आफ्नो जोखिम पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गरेका हुन्छन् । त्यसैले बीमा कम्पनीले प्रदान गरेका बीमा पोलिसीअन्तर्गतका जुनसुकै सम्पत्ति क्षति भएको खण्डमा भुक्तानी हुने सम्पूर्ण दाबी कम्पनीले मात्रै गर्दैनन्, पुनर्बीमा कम्पनीले पनि गर्छन् । नेपालमा रहेका दुई पुनर्बीमा कम्पनीलाई यसले अझ बढी झट्का दिएको छ।

स्थानीय बीमा कम्पनीले ती दुवै कम्पनीमा चार–चार प्रतिशत अनिवार्य रि इन्स्योरेन्स गर्नुपर्ने बीमा प्राधिकरणको व्यवस्था छ । त्यसपछि बाँकी रहेको बीमांकीय रकम बराबरका जोखिम अन्तर्राष्ट्रिय रिइन्स्योरेन्स कम्पनीहरूमा हस्तान्तरण हुन्छ ।

एक अर्बको बिजनेस छ भनेदेखि त्यसको ४–४ प्रतिशत दुईटा कम्पनीलाई दिइसकेपछि ८ प्रतिशत जान्छ । त्यसपछि पुनर्बीमा कम्पनीले आफुले लिने जोखिम तोकेपछि अन्य रियन्स्योरेन्सको माध्यमबाट जोखिमलाई विश्व समुदायमा पुर्‍याउँछन् । विदेशका पुनर्बीमा कम्पनीमार्फत पनि क्षतिपूर्ति प्राप्त हुन्छ ।

सूचीकृत अन्य समूहको कम्पनी नेपाल टेलिकमलाई पनि केही असर परेको छ । आगजनीका कारण नेपाल टेलिकमको वीरगन्जसहित केही कार्यालय ध्वस्त भएका छन् भने रिचार्ज कार्ड चोरिएका तथा नष्ट भएका छन् । त्यस्तै तीन दिनसम्म कम्पनीले निशुल्क कल सेवा प्रदान गरेको थियो ।

निर्माण क्षेत्रलाई सकारात्मक प्रभाव

आगजनीका कारण निजी तथा सरकारी गरी थुप्रै भवनहरु भत्काएर नयाँ बनाउनुपर्ने भएको छ । केन्द्रदेखि स्थानीय तहसम्मका सरकार र निजी क्षेत्रले यस्ता संरचना फेरि बनाउनुपर्ने छ ।

निजी क्षेत्रका छाता संगठनहरुले यसअघि नै व्यवसायिक संरचनामाथि भएको आगजनीको भत्सर्ना गर्दै फेरि उठ्ने प्रतिवद्धता जनाइसकेका छन् । यसले गर्दा सरकारी, व्यवसायिक तथा निजी थुप्रै भवनहरु नयाँ बन्ने छन् ।

ती भवनमा खपत हुने अधिकांश निर्माण सामग्री स्वदेशमै उत्पादन हुन्छ । उत्पादन तथा प्रशोधन समूहअन्तर्गत ४ सिमेन्ट कम्पनी सर्वोत्तम, शिवम्, घोराही र सोनापुर बजारमा सूचीकृत छन् ।

निर्माण हुने संरचनामा ठूलो परिमाणमा सिमेन्ट खपत हुन जानेछ । त्यसकारण यी कम्पनीको सेयर मूल्यलाई हालको विध्वंसले नकारात्मकभन्दा सकारात्मक प्रभाव नै पर्ने अनुमान छ ।

बैंक, विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्समा कस्तो प्रभाव ?

सेयर बजारमा १९ वटा वाणिज्य बैंक, १५ विकास बैंक, १५ फाइनान्स र ५० वटा माइक्रोफाइनान्स कम्पनी सूचीकृत छन् । यी सबैको मुख्य बिजनेस कर्जा प्रवाह हो । यीमध्ये सबैभन्दा बढी असर परेको राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको हो, जुन बजारमा सूचीकृत छैन ।

नेपाल बैंकर्स संघका अनुसार देशभरि बैंकहरूका ६१ वटा कार्यालयमा आन्दोलनकारीले क्षति पुर्‍याएका छन् । बैंकहरूका केही स्थानका एटीएम मेसिन तोडफोड भएका छन् । केही भौतिक संरचना तोडफोडबाहेक बैंक तथा वित्तीय क्षेत्रलाई ठूलो नकारात्मक असर परेको छैन ।

हाल बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले संस्थाहरुको कोष लागत उच्च छ । आगजनी भएका भौतिक संरचना बनाउनका लागि बैंक तथा वित्तीय संस्थाबाट जाने कर्जा बढ्न सक्नेछ । यसले बैंक तथा वित्तीय संस्थाको बिजनेस बढ्न जानेछ । तर सँगै कर्जा बढ्दा निष्क्रिय कर्जा पनि बढ्ने जोखिम छ ।

यो घटनाक्रमपछि राष्ट्र बैंकले दिने निर्देशन बैंकहरुले कुरिरहेका छन् । ‘कर्जा प्रवाहका सवालमा राष्ट्र बैंकका कस्ता निर्देशन आउँछन्, त्यसैअनुसार अघि बढ्ने हो’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने।

यसअघि भूकम्प तथा कोरोनाका बेला पनि राष्ट्र बैंकले क्षेत्रगत रुपमा कर्जा प्रवाहलाई सहजीकरण गराइदिएको थियो । अहिले पनि राष्ट्र बैंकले सहजीकरण गर्ने अपेक्षामा बैंकहरु छन् ।

हाइड्रोपावर सेक्टर सुरक्षित

सेयर बजारमा सबैभन्दा धेरै ९४ कम्पनी हाइड्रोपावर सेक्टरका छन् । हालैको ध्वंसात्मक घटनामा हाइड्रोपावरका कुनै पनि आयोजना तथा कार्यालयमा क्षति भएको छैन ।

‘हाइड्रोपावर कम्पनी र आयोजनामा क्षति पुर्‍याइएको रिपोर्ट अहिलेसम्म आएको छैन’ स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानका अध्यक्ष गणेश कार्कीले भने । अन्य सेक्टरभन्दा हाइड्रोपावर सुरक्षित देखिएको उनले बताए ।

‘आयोजना ग्रामीण क्षेत्रमा बनेका हुन्छन्, त्यसकारण शहरी क्षेत्रमा हुने आगजनी, तोडफोडजस्ता गतिविधिबाट यी सुरक्षित नै रहन्छन्’ उनले भने । यसले लगानीकर्तालाई हाइड्रोपावर सेक्टर प्रति सकारात्मक भावना बढ्न सक्ने उनले बताए ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?