+
+
Shares
विचार :

शीर्ष नेतृत्वको राजीनामा खै ?

विषम परिस्थितिमा पनि वैधानिकताको बाटो पर्खिएर थप कलंकको भारी बोक्नु उचित छैन । अब नेतृत्व वरिपरिका आसेपासेको समीक्षा र तर्कलाई होइन पार्टी, देश र आफ्नै विक्षिप्त मनलाई सोधेर राजीनामा दिनु उत्तम हुन्छ ।

भुवन न्यौपाने भुवन न्यौपाने
२०८२ असोज २ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन–जी आन्दोलनमा सहादत भएका युवा साथीप्रति श्रद्धासुमन अर्पण गर्दै परिवारजनलाई धैर्यधारणको कामना गरिएको छ।
  • भ्रष्टाचार, बेथिति र कुशासनले मुलुकलाई अपूरणीय क्षति पुर्‍याएको र नेतृत्वको असफलता देखिएको छ।
  • शीर्ष नेतृत्वले राजीनामा गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने र नयाँ पुस्तालाई अवसर दिनुपर्ने माग गरिएको छ।

जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवा साथीहरूलाई श्रद्धासुमन । परिवारजनमा धैर्यधारण गर्ने शक्तिको कामना । आन्दोलनका क्रममा अराजकता, आगजनी र आततायी प्रवृत्तिलाई कदापि पनि क्षम्य मान्न सकिंदैन । त्यस्ता कुकृत्यहरूको कानून बमोजिम सख्त कारबाहीका लागि पनि आग्रह गरौं ।

लामो समय जरा गाडेर बसेको भ्रष्टाचार, बेथिति र कुशासनको चरम प्रवृत्तिबाट ग्रसित मुलुकले छोटो समयमै अपूरणीय क्षति बेहोर्नु परेको छ । अहिलेसम्मकै इतिहासमा आश्चर्यजनक परिस्थितिको साक्षी बनेको छ समग्र समाज । यसले अभूतपूर्व रूपान्तरणको संकेत पनि दिएको छ ।

व्यक्तिगत, व्यावसायिक, सरकारी, सार्वजनिक र सञ्चारजगतमा भएको क्षति देख्दा आँशु थाम्न सकिने अवस्थाको छैन । यस क्रममा आन्दोलनका बहुरूप देखिए । प्रहरी प्रशासन, सुरक्षा निकाय र नेतालाई आक्रमण गर्नेहरू पनि देखिए । सुरक्षा दिएर बचाउने ज्यादै कम मानवीयता पनि देखिए ।

नेपाली समाज यति धेरै निर्दयी थियो जस्तो लाग्दैन । के र कस्ता कारणले हाम्रो समाजभित्रको सहिष्णुता भंग हुन पुगेको हो विहंगम समीक्षा आवश्यक छ । आर्थिक, सामाजिक, भौतिक, मानवीय दृष्टिले नेपाली समाज अहिले विक्षिप्त छ ।

नेतृत्वको सामूहिक असफलता, सरकारको अकर्मण्यता, संवेदनहीन सत्ता सारथिहरू, सुरक्षा निकायहरूका संवेदनशील भूमिकामा आशंकाहरू पनि देखिएका छन् । केही पार्टीका कार्यकर्ता र नेतृत्वहरूले बारम्बार उच्चारण गर्ने उत्तेजनायुक्त भाषा, भाष्य र भय पनि यथेष्ट थिए । स–साना विषयहरूले नेपाली जनता प्रताडित थिए ।

राजनीतिक दलहरूका चरित्र, प्रवृत्ति र कार्यले सबै पुस्तामा चासो, चिन्ता र आक्रोश थपिएको थियो । यो कहिले र कसरी विस्फोट हुन्छ भन्ने पूर्वानुमानहरू प्रशस्त थिए । तर पनि, सत्ताको मैमत्त मस्तिष्कमा यस्तो संवेदनशीलताका बारेमा गहिरो चिन्तन कहिल्यै भएनन् ।

माथि उल्लिखित भावनाका शब्दहरूबाट तितो यथार्थ र मुख्य विषयमा प्रवेश गर्ने अनुमति चाहन्छु । पछिल्लो सात दशकमा राजनीतिक रूपान्तरणका इतिहास देखेका दलका शीर्ष नेतृत्वहरूले यो विषम परिस्थितिमा समेत आफूहरूले आत्मसमीक्षा, आत्मालोचना र मार्गप्रशस्त किन गर्न नसकेका हुन् ? नेपाली समाजमा हामीलाई रुचाइएको छैन भन्ने जानकार हुँदाहुँदै पनि किन यथार्थ बुझ्न नसकेका होलान् ?

उमेर, अपेक्षा र सम्मान पुग्दा पनि पटक–पटक पार्टी र सत्तामा निर्विकल्प जस्तो रहनुपर्ने कारण के थियो ? नयाँ पुस्ताप्रति भरोसा किन टुटेको हो ? विभिन्न अभियान मार्फत शीर्ष नेतृत्वप्रति जनआक्रोश हुँदाहुँदै पनि किन नेतृत्व छोड्न तयार नभएका हुन् ? यस्ता अनेक प्रश्न अब विगत भइसकेका छन् । अबको एउटा मात्र विकल्प छ । त्यो हो, शीर्ष नेतृत्वको राजीनामा ।

नेपाल पूर्वप्रधानमन्त्रीहरूको क्लब जस्तै पालैपालो एकले अर्कालाई अँगाल्ने, धोका दिने, स्वर्ग–नर्क सँगै जाने कसम खाने, एकअर्काका आरोप–प्रत्यारोप चरम सीमा नाघ्ने अनेकौं प्रवृत्तिले जनतामा निराशा देखिएको थियो । नेतृत्वबाट सचेतना, सहिष्णुता र समभाव भन्दा पनि विभेद, विवाद र विग्रहको भाषा सिकाइएको अनगिन्ती उदाहरण छन्।

२०६२–६३ को जनआन्दोलन सफल भएको १९ वर्षमा धेरै पटक सरकार गठन, विघटन भए । संविधानसभाबाट ५ वर्षमा बन्नुपर्ने संविधान पनि यिनै नेतृत्वकै कारण बन्न सकेन । १० वर्ष लगाएर संविधान जारी भयो।

संविधानलाई कार्यान्वयन गर्ने कानून निर्माण गरी कानूनी शासन भन्दा पनि शीर्ष नेतृत्व सत्ताकै गणितमा केन्द्रित रह्यो । समृद्धि र सुशासनका नाराहरू मत्र्यलोकका श्लोकहरू जस्ता भए ।

केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले संविधान निर्माणयताका १० वर्ष पनि आलोपालो सत्ताको रजगज गरेर दुरुपयोग गरे । विगतमा राज्य सत्ता दोहन, कुशासन, भ्रष्टाचार, बेथिति मात्र होइन कि बूढानीलकण्ठ, बालकोट र खुमलटारका निवासमा पैसाका खात, सुन–चाँदी जस्ता बहुमूल्य सामान, आलिसान बंगला, विलासी जीवनशैली देखिंदा अहिले व्यापक प्रश्नहरू उठेका छन् । भ्रष्टाचारका अनेक प्रकरण छरपस्ट थिए।

सत्ता र पार्टीमा अधिनायक जस्तो प्रवृत्ति अविच्छिन्न नेतृत्व, उमेर हद पनि नलाग्ने, पार्टीभित्रैका सम्भावित नेतृत्वप्रतिको निकै निकृष्ट विचार, निषेध र प्रतिपक्ष विरुद्ध कडा टिप्पणी, सञ्चारजगतका प्रश्नहरूको बहिष्कार यस्ता अनेक कारण थिए।

जवाफदेहिता, पारदर्शिता र जिम्मेवारीपनामा च्यूत भएका अनेक घटनाहरू थिए । नेतृत्व हस्तान्तरणको विकल्प भन्दा पनि निरन्तरता, अविच्छिन्न, अमृत्युञ्जयको कल्पना गरेपछिको परिणाम नै अहिलेको खरानीको अवस्था उत्पन्न भएको हो।

ओली सत्तामा रहेर बोलेका प्रत्येक वाक्यहरू कर्कस जस्ता थिए । नरम र सम्बोधन योग्य थिएनन् । जनताको सर्वोच्चता भने पनि जनताप्रति अवमूल्यन स्पष्ट देखिन्थे । त्यी तमाम कर्कस मध्येमा सामाजिक सञ्जाल बन्द गर्नु, गाडीले बालिकालाई कुल्चेर हिंड्नु, मानवता समेत नदेखाउनु, आन्दोलनलाई दमन गर्नु, युवा पुस्तलाई तत्काल सम्बोधन नगर्नु र गोली हानेर हत्या गर्नुले सत्ताच्यूत र सुरक्षाका लागि शरण पर्नु परेको थियो।

प्रचण्डका पछिल्ला अभिव्यक्तिहरू आवेग, उत्तेजना र असंवेदनशील थिए । सत्ताबाट बाहिरिनु पर्दाको छटपटी थियो । न्यूनतम पनि राजनीतिक संस्कार, नैतिकता, विपक्षीको भूमिका र राज्यको अभिभावकत्व थिएन ।

कहिले बंगलादेश बनाइदिन्छु भन्ने, कहिले विद्रोहमा मारिएका ५ हजारको मात्र जिम्मा लिन्छु भन्ने विचलित मानसिकताबाट व्याप्त थिए । माओवाद, कम्युनिष्ट साम्यवाद र समानताका कुरा गर्ने तर आफंै नातावाद, कृपावाद, धनवाद र भ्रष्टाचारमा लिप्त हुने विलासी जीवन शैलीले ग्रसित थिए।

ओली र प्रचण्डभन्दा देउवामा लोकतान्त्रिक चरित्र देखिए पनि परिवारवाद, लोभीपना, रवैया र अविवेकीपनाको शिकार भएको देखिन्छ। व्यवहार र बोलीमा रुखो देखिए पनि निर्णयमा परिपक्वता, वचनको पक्का र लोकतान्त्रिक मूल्यमान्यतालाई जोगाउने प्रयत्न गरेतापनि वरिपरिका धूर्तहरूले देउवालाई पनि खरानीमा पुर्‍याएका छन् । अन्य नेताले ज्यान जोगाए पनि देउवाले भौतिक आक्रमण बेहोर्नु परेको छ । जुन दुःखद् पनि हो।

केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले उमेरको उत्तरार्धमा घर जलेर, भौतिक आक्रमणमा परेर गम्भीर अवस्थामा पुग्दा, ज्यान जोगाउन भाग्नु पर्दा पनि आफ्ना अनुहारमा पोतिएको कलंकलाई बिर्सेर बसिरहेका छन् ।

यसरी त विगतका योगदानहरू पनि विस्मृतितिर धकेलिएर अझै अलोकप्रियताको पगरी बोक्नु परेको छ । केही असल नेताहरूलाई धर्मसंकट परेको छ। आमकार्यकर्ताहरू रक्षात्मक हुनु परेको छ । समाज विग्रहमा छ ।

नेकपा समाजवादी, जसपा, लोसपा, राप्रपा जस्ता अन्य परम्परावादी दलका नेतृत्वमा पनि कुनै राजनीतिक इमानदारी देखिएन। रूपान्तरणको जिम्मेवारी देखिएन। नयाँ प्रगतिशील भन्ने दलको नेताका रूपमा रवि लामिछानेको शैली देख्दा आम मानिस आक्रोशित देखिन्छ।

कारागारमा सजाय भोगेको कैदीबन्दीले एकाएक आन्दोलनको फाइदा र सुरक्षाको संवेदनशीलता देखाएर हिरोपन्थी शैलीमा हात हल्लाउँदै बाहिरिंदा देशभरि सयौं कारागार तोडफोड भए । हजारौं कैदी बन्दी भागेर कानूनी र सुरक्षामा समेत गम्भीर चुनौती थपिएको छ । तर पनि, पार्टीको नेतृत्व हस्तान्तरण गर्ने अझै इच्छा छैन।

शीर्ष नेतृत्व र आसेपासेहरूबाट कानून र राज्यका संरचनाहरूलाई सधैं सत्तासँग सौदावाजी गरेर शक्तिको दुरुपयोग भयो । ती पात्रहरूका लागि समाजले एककिसिमको सजाय दिइसकेको छ । केही नगण्य असल पात्रहरू पनि आवेग र प्रतिशोधको शिकार भएका छन्। त्यस्ता प्रवृत्तिलाई आगामी दिनमा कानूनले अनुसन्धान गरी कारबाही पनि गर्ला।

अब शीर्ष नेतृत्वको विवेकको खाँचो छ । दल विना मुलुक अगाडि बढ्न सक्दैन । तर, तपाईंहरूको राजीनामा विना दलहरू अगाडि बढ्न सक्दैनन् । अब कार्यकर्ता र आम मानिसले शीर्ष नेतृत्वको स्वीकार गर्दैन।

यो कुनै दलले गरेको आन्दोलन होइन। विदेशी शक्तिको कुनै ठाडो हस्तक्षेप पनि होइन । बेथितिले चुलिएको आक्रोश र नेतृत्वको अविवेकीपनको परिणाम हो । जेन–जी पुस्ताले अपेक्षा गरेको सुशासनको बाटो हो।

इतिहासकै विषम परिस्थितिमा समेत नेतृत्व हस्तान्तरण गरेर मार्गप्रशस्त नगर्ने, युवाहरूको आकांक्षालाई आत्मसात् नगरेको कि अपमान ? अझै पनि जिम्मेवारी छैन। इमानदारी छैन । कर्तव्यबोध छैन । यी नेतृत्वलाई युवा पुस्ताले तिरस्कार गरिसकेपछि पार्टीभित्रका कार्यकर्ता र अन्य पुस्ताले पनि बहिष्कार गर्नुको विकल्प छैन।

राजनीतिक दलहरूले गर्नुपर्ने सुधारका विषय धेरै छन् तर विषम परिस्थितिमा कार्यकर्ताहरूलाई नैतिक रूपमा एकताबद्ध गर्नका लागि एउटा कदम भए पनि राजीनामा तत्काल गर्नुपर्छ।

नेतृत्वको सम्मानजनक बहिर्गमनको उपयुक्त बाटो रहेका बेला शीर्ष नेतृत्वको मगजमा सद्बुद्धि देखिनुपर्दछ । समाजमा कार्यकर्ताहरूलाई नैतिक बल चाहिएको छ । राजनीतिबाट अवकाश लिएर त्यो नैतिक बललाई उठाउनु छ।

विषम परिस्थितिमा पनि वैधानिकताको बाटो पर्खिएर थप कलंकको भारी बोक्नु उचित छैन । अब नेतृत्व वरिपरिका आसेपासेको समीक्षा र तर्कलाई होइन पार्टी, देश र आफ्नै विक्षिप्त मनलाई सोधेर राजीनामा दिनु उत्तम हुन्छ।

जेन–जी युवा साथीहरूले पनि यहाँहरूको योगदानलाई सम्झेर विगतका कमजोरीलाई माफी दिन सक्ने वातावरण बन्न सक्छ । जेन–जी पुस्ताले आफ्नो देशको अवस्थालाई हिजोको आफ्नै अवस्थासँग हैन कि आजको विश्व–परिवेशमा तुलना गरेर हेरेको छ।

आखिर जेन–जीले दलविहीन शासन मागेका छैनन् । सबैभन्दा ठूलो कुरा नेपालमा दलविहीन राजनीतिको परिकल्पना छैन । दलहरू जीवित छन् । सक्रिय छन् । सुधार हुनुपर्ने धेरै विषय पनि छन्।

दलभित्रै युवाहरूले नेतृत्व पुस्तान्तरणको चर्को आवाज उठाइसकेका छन् । तत्काल नेतृत्व पुस्तान्तरणले युवामाझ नयाँ सन्देश जानेछ । राजनीति भन्दा माथि मुलुक, कार्यकर्ता भन्दा माथि जनता, नैतिकता, कानून, मानवता हुन्छन् भन्ने नेतृत्वले भुलेको देखिन्छ।

संविधान जीवित छ । जनप्रतिनिधिमूलक संसद् भंग भएको छ । अन्तरिम सरकार गठन भएको छ । निर्वाचनको मिति तय भएको छ । कुनै गैरसंवैधानिक कदम होइन मुलुकको निकास जनादेशलाई शिरोधार्य गरिएको छ।

अझै पनि राजनीतिक दलहरूले संसद्को विघटन संवैधानिक भएन भनेर विज्ञप्ति मार्फत प्रश्न उठाइरहेका छन् । तर, नेतृत्वको विकल्पप्रति कुनै आवाज उठेको छैन । पार्टीभित्र नेतृत्वको विकल्प सशक्त विरोधका आवाज, अन्योलता, आक्रोश र असहमति आइरहेका छन् । तर, पनि नेतृत्व अझै पनि मौन बसेको छ।

विद्यमान परिस्थिति, युवा पुस्ताको आकांक्षा र आवश्यकताको सिद्धान्तको आधार मानेर राष्ट्रपतिले आफ्नो परिपक्व अभिभावकत्व निर्वाह गरिरहनुभएको छ । सुरक्षा निकायहरूमा मानवीय र भौतिक क्षतिका बीचमा पनि नागरिकको सुरक्षा र विस्तारै सामान्यीकरणमा जनजीवन फर्किएको छ।

राजनीतिक दलहरूले विगतका सबै कुरा बिर्सिएर जनादेशलाई स्वीकार गर्नुको विकल्प छैन । शीर्ष नेतृत्वको सबैभन्दा ठूलो गल्ती अरूको सुझाव, सल्लाहलाई ग्रहण गर्न नसक्नु नै मुख्य कमजोरी देखिन्छ । सबै राजनीतिक दल फेल भएका होइनन् नेतृत्व फेल भएका हुन्।

विगतमा विवेक गुमाउँदा अहिलेको अवस्था भोग्नु परेको छ।वर्तमान अवस्थालाई विवेक नगर्दा आफ्नै कार्यकर्ताबाट बलपूर्वक पदच्यूत भई अपदस्थ हुन सकिन्छ । राजनीतिक दलले अब नेतृत्व फेरेर नयाँ पुस्ताका सुदृढ एजेण्डा सहित फेरि जनतासमक्ष जान पनि शीर्ष नेतृत्वको राजीनामा अपरिहार्य छ।

शीर्ष नेतृत्वले तत्काल आत्मसमीक्षा र आत्मालोचना गरी सम्मानजनक बहिर्गमनका लागि राजीनामा सहित मार्गप्रशस्त गर्नु सर्वोत्तम विकल्प हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?