
३ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् ।
शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाइ तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।
मन्त्री घिसिङले मन्त्रिपरिषदलाई पूर्णता दिने काममा ढिलाई नहुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरूसँग गरेको पनि बताए ।
‘सरकारले आफूले गर्नुपर्ने कामहरू अगाडि बढाइसकेको छ । अब मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ । मन्त्रिपरिषद्लाई पूर्णता दिने कुरा प्रधानमन्त्रीले चाँडै गर्छु भन्नुभएको छ,’ उनले भने ।
मन्त्री घिसिङले सरकारले आफूले गर्नुपर्ने पुनर्निर्माण लगायतको काम शुरु गरिसकेको पनि जिकिर गरे ।
‘सरकारले सरसफाइको काम आ आफ्नो मन्त्रालयमा शुरु गरिसकेका छौं । भोलेन्टियर साथीहरू पनि आउनुभएको छ । उहाँहरूलाई पनि हामीसँगै लिएर जान्छौं,’ मन्त्री घिसिङले भने, ‘विभिन्न संघ संस्थाका साथीहरू पनि आउने अवस्थामा हुनुहुन्छ । उहाँहरू सबैलाई पनि आह्वान गर्दछौं ।’
प्रतिक्रिया 4