+

अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा आफू खुशी खेलाडी सहभागि गराएको भन्दै उठ्यो प्रश्न

२०८२ असोज  ४ गते १०:५६ २०८२ असोज ४ गते १०:५६
अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा आफू खुशी खेलाडी सहभागि गराएको भन्दै उठ्यो प्रश्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली चेस खेलाडीहरु रुसमा भएको प्रथम बौद्ध अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा पुरुषोत्तम सिलवाल, सिन्दिरा जोशी र शैलेन्द्र न्यौपाने सहभागी छन् ।
  • नेसनल च्याम्पियन रुपैश जैसवालले खेलाडी छनोटमा पारदर्शिता नभएको र आफूलाई प्रतिनिधित्व गर्ने अवसर नदिइएको भन्दै असन्तुष्टि जनाएका छन् ।
  • हिमालयन चेस एकेडेमीले खेलाडी छनोट प्रक्रिया सार्वजनिक गर्न र यू-८ राष्ट्रिय च्याम्पियनलाई सहभागी नगराउनुको कारण माग गरेको छ ।

४ असोज, काठमाडौं । हाल नेपाली चेस खेलाडी रुसमा भएको प्रथम बौद्ध अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।

यही सेप्टेम्बर १७ देखि २१ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट पुरुषोत्तम सिलवाल, सिन्दिरा जोशी र एमेच्योर शैलेन्द्र न्यौपाने सहभागि छन् ।

तर रुसमा नेपाली खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहँदा यता नेपालमका भने नेसनल च्याम्पियन खेलाडीहरुले नै नेपाली खेलाडीको सहभागितामाथि नै प्रश्न उठाइरहेका छन् ।

खेलाडी छनोटको आधार, नेपाल चेस महासंघले आफू खुशी खेलाडी छनोट गरेर लैजाने अनी सहभागि जनाउनुपर्ने खेलाडीलाई वास्ता नगरिएको भन्दै नेसनल च्याम्पियन रुपैश जैसवाल लगायतले असन्तुष्टी जनाएका छन् ।

रुपेशले आफू नेसनल च्याम्पियन भएपनि नेपालबाट खेल्न नदिएको बताए । ‘धेरैजसो मेरा विदेशी सहकर्मी र साथीहरूले मलाई किन यो ऐतिहासिक प्रतियोगितामा सहभागी नभएको भनेर सोधे । सत्य कुरा के हो भने मलाई नेपालबाट प्रतिनिधित्व गर्ने अवसर दिइएन । यद्यपि म हालको राष्ट्रिय च्याम्पियन नै हुँ ।’ रुपेशले आफ्नो फेसबुकमा स्ट्याटसमा भनेका छन् ।

रुपेश जैसवाल

रुपेशले आफ्नो हकमा यो पहिलो पटक नभएको र यस्तो घटना यसअघि भएको उल्लेख गरेका छन् । ‘यो पहिलो पटक भएको होइन । यसअघि पनि मलाई दुबईमा भएको एसियन कन्टिनेन्टल चेस च्याम्पियनसिप २०२५ मा सहभागी हुन नदिइएको थियो । नेपाल फिडेको सूचीमा लेभल ४ देशमा पर्छ, जहाँ अन्तर्राष्ट्रिय अनुभव अझै धेरै आवश्यक हुन्छ । तर हाम्रो संघसँग कुनै पारदर्शी र योग्यता आधारित छनोट प्रणाली छैन ।’

उनले आफ्नो परिवारले पनि यस्तो प्रतिष्ठित प्रतियोगिता किन खेल्दैनौँ भनेर सोध्दा आफूसँग कुनै जवाफ नभएको जनाएका छन् । ‘मेरा बाबुआमा र धेरै नेपाली खेलाडीहरूले समेत मलाई सोधे, ‘यस्तो प्रतिष्ठित बौद्ध अन्तर्राष्ट्रिय प्रतियोगितामा किन खेल्दैनौ?’ दुर्भाग्यवश, मसँग उचित जवाफ थिएन ।’

यस्तै एमेच्योर च्याम्पियन पुरुषोत्तम चौलागाईँले पनि प्रथम बौद्ध चेस प्रतियोगितामा खेलाडी छनोटलाई लिएर असन्तुष्टी व्यक्त गरेका छन् ।

‘प्रथम बुद्दिस्ट चेस प्रतियोगितामा के कसरि खेलाडी छनौट भयो? किन नेपाल चम्पियन, नेसनल एमेच्योरलाई नसोधी अथवा मन्जुरी नलिई मनलाग्दी हिसाबले आफै निर्णय गरेर लगियो?’ चौलागाँईले पनि फेसबुकमा स्ट्याटस लेख्दै असन्तुष्टी जनाएका छन् । ‘के महासंघले आफु खुसी ३/४ जना कुरा गरेर कुनै सिस्टम र विधि बिना यस्तो निर्णय गर्न मिल्छ? तेसो भए किन अफिसियल गेम गर्नुपर्‍यो? अनि के- को छनोट सधै आफै निर्णय गर्नु नि ! नेपाल च्याम्पियन पनि आफै सेलेक्ट गर्दिनु ।’

रुपेशले सुरुमा पुरुषोत्तम सिलवाल र सिन्दिरा जोक्कीसँगै आफ्नो नाम पनि पक्का भएको तर पछि भने ब्रोसरमा नाम नभएको उल्लेख गरेका छन् । ‘सुरुमा मेरो नाम पुरूषोत्तम सिलवाल र सिन्डिरा जोशीसँगै यस प्रतियोगिताका लागि पक्का भएको थियो । तर जब प्रतियोगिताको ब्रोसर बाहिर आयो, त्यसमा उल्लेख गरिएको थियो कि एमेच्योर सेक्सन २००० भन्दा तलको रेटिङ भएका खेलाडीका लागि मात्र हो ।’

उनले पुरुषोत्तम र आफू दुवै त्यो मापदण्डमा नपर्ने तर आफू भन्दा उच्च रेटेड भएको, पछिल्लो समयमा बढी पैसा खर्च गरेर प्रतियोगितामा खेलेको र उनले अझै अवसर नपाएकाले यो अवसर निःशुल्क दिनुपर्छ भनेर पुरुषोत्तमलाई सहभागि गराएको हुन सक्ने पनि उल्लेख गरेका छन् ।

‘तर मेरो प्रश्न सरल छ । यदि संघसँग कुनै स्पष्ट मानदण्ड नै छैन भने खेलाडीलाई मनपरी कसरी छानिन्छ? दुई पटकको राष्ट्रिय च्याम्पियन र वर्ल्ड कप सहभागी हुनु नै योग्यता नमान्ने हो भने, के मानिन्छ त?’

यस्तै उनले कजाखस्तानमा हुने फिडे वर्ल्ड क्याडेट चेस च्याम्पियनसिप २०२५ मा पनि कुन आधारमा दुई खेलाडी छनोट गरियो भनेर प्रश्न उठाएका छन् । ‘म तिनीहरूका लागि हृदयदेखि खुशी छु र शुभकामना दिन्छु । तर फेरि सोध्नैपर्छ किन केवल उनीहरूलाई मात्र छनोट गरियो? कुन आधारमा?’ ‘शक्ति भएसँगै जिम्मेवारी पनि आउँछ । जब संघले भेदभाव र पक्षपात गर्न थाल्छ, त्यो चेसको शासक निकायबाट अपेक्षा गर्न सकिने सबैभन्दा खराब परिणाम हो ।’

हिमालयन चेस एकेडेमीको विज्ञप्ती

यस्तै पछिल्लो समय विभिन्न प्रतियोगिता आयोजना गरी नेपाली चेसमा योगदान दिँदै आएको हिमालयन चेस एकेडेमीले पनि स्टेटमेन्ट सार्वजनिक गर्दै वर्ल्ड क्याडेट चेस च्याम्पियनसिप २०२५ मा के आधारमा खेलाडी छनोट गरियो भनेर प्रश्न उठाएको छ ।

सेप्टेम्बर १९ देखि ३० सम्म हुने उक्त प्रतियोगितामा नेपालबाट यु-१२ वर्ष मुनिका अग्रिम सैंजु र हार्दिक पन्त सहभागि छन् ।

एकेडेमीले यू-१२ मा मात्र खेलाडी लगेको र अन्य उमेर समूहमा खेलाडी सहभागिता नभएको जनाएको छ । यू-८ क्याटेगोरीका राष्ट्रिय च्याम्पियन सुभाङ्ग प्रधानलाई पनि सहभागिता नगराएको एकेडेमीले जनाएको छ ।  यस्तै एकेडेमीले खेलाडी छनोटको प्रक्रिया, छनोट कमिटीका रहेका सदस्यको नाम र माइनट तत्काल सार्वजनिक गर्न आग्रह गरेको छ । साथै यू-८ को राष्ट्रिय च्याम्पियन खेलाडीलाई सहभागि नगराउनुको कारण पनि महासंघले दिनुपर्ने एकेडेमीको माग छ ।

रुपेशले यो आफ्नो व्यक्तिगत मात्र पिडा नभएर चेस भित्रैकै समस्या भएको जनाएका छन् । ‘राष्ट्रिय एमेच्योर च्याम्पियनलाई समेत एमेच्योर वर्गमा विचार गरिएन । त्यसो भए अर्को यू-२००० खेलाडीलाई कुन आधारमा चयन गरियो ?’ उनले लेखेका छन्, ‘म यो कुरा व्यक्तिगत निराशाले लेखिरहेको होइन । म आवाज उठाइरहेको छु किनभने अबदेखि सबैभन्दा योग्य खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिनुपर्छ । हामी विदेश  सहभागी हुन मात्र होइन । जित्न, नेपाललाई गौरवान्वित बनाउन जान्छौँ ।’

त्यसैले संघले खेलाडी छनोटका आधारहरु के हो? भनेर सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने र जवाफदेहिता हुनुपर्ने उनले बताएका छन् ।

संघले न्यायपूर्ण र पारदर्शी प्रणाली बनाएर पक्षपात नगरी योग्यतालाई ध्यान दिएका मात्र नेपाल साँच्चिकै अन्तर्राष्ट्रिय चेस मञ्चमा उदाउन सक्ने रुपेशले लेखेका छन् ।

पुरुषोत्तम चौलागाईँ

एमेच्योर पुरुषोत्तम चौलागाईले  यस्तो अवस्थामा पनि महासंघका रहेका पदाधिकारीले कुनै धारणा नराखेको भन्दै बरु राजीनामा दिनु बेस भएको बताएका छन् । ‘अनि ३/४ जना बाहेक महासंघमा रहेका अरुले चाही के हेरेर बसेको होला ? कि प्रस्ट आफ्नो धारणा राख्नु नत्र राजिनामा दिनु ।’ उनले लेखेका छन्, ‘थोरै पनि नैतिकता बाँकी छ भने ज-जसले यो निर्णय लिएको हो उहाँले प्रस्ट्याउनु होला के कति आधारले यो छनोट भयो, अनि अफिसयल खेलाडी किन परेनन्?’

संघमा पार्टीबाट नियुक्त भएकाहरुले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने उनले जनाएका छन् ।

उनले कुनै पनि खेलाडीप्रति आफूहरुको गुनासो नरहेको तर विधि र नियम अनुसार नहुँदा त्यसमा आपत्ति रहेको उल्लेख गरेका छन् ।

नेपाल चेस महासंघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय