+
+
Shares

कमाइको २ प्रतिशत पुनर्निर्माणका लागि दिने आईटी विज्ञ राईको घोषणा

‘मैले सानै भए पनि त्यति योगदान गरें भने देशलाई माथि लानको लागि अलिकति भए पनि सेवा पुग्छ भन्ने सोच राखेर यो निर्णय गरेको हुँ,’ राईले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १८:४५

५ असोज, काठमाडौं । धनकुटाका प्रमोद राई आईटी विज्ञ हुन् । सेडर गेट टेक्नोलोजिज नामक आईटी कम्पनीमा उनी नेपालको अपरेसन हेडका रूपमा कार्यरत छन् ।

उनैले बुधबार सामाजिक सञ्जालमा एउटा पोस्ट राखे – आजदेखि मृत्युसम्म आफ्नो कमाइको २ प्रतिशत नेपालको पुनर्निर्माणमा समर्पित गर्छु ।

उनले कुनै पनि फन्डाका लागि यसो लेखेका थिएनन् । ‘मैले देशलाई के दिन सकें’ भन्ने भावनालाई चरितार्थ गर्न लेखेका थिए । जुन आफैंमा प्रेरणादायी निर्णय भएको भनेर धेरै सराहना गरिरहेका छन् ।

राई धनकुटामा जन्मे पनि हुर्काइ काठमाडौंमा नै भएको थियो । बूढानीलकण्ठ स्कुलमा उनले छात्रवृत्तिमा अध्ययन पूरा गरेका थिए । त्यो बेलादेखि नै देशका लागि केही न केही गर्नुपर्छ भन्ने भावनाले उनको मनमा डेरा जमाएको थियो।

‘मलाई पहिलादेखि नै मनमा लागिरहन्थ्यो कि मैले आफ्नो देशका लागि केही गर्नुपर्छ ‍भन्ने,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘त्यो सोचले जहिले पनि मनमा पिरोलिरहन्थ्यो’

ठीक यही समयमा, हालै भएको जेनजी आन्दोलनले देशको प्रमुख सरकारी भवनहरूमा गम्भीर क्षति पुग्यो । क्षतिको विवरण अझै सार्वजनिक भइसकेको छैन । तर, निश्चित छ कि प्रशासनिक भवनहरू निर्माण गर्दा देश आर्थिक प्रगतिमा पछि पर्ने छ ।

त्यसबारे देशलाई कसरी निकास दिने भनेर विभिन्न छलफल र बहसहरू पनि भइरहेका छन् । कतिपय ठाउँहरूमा भने प्रदर्शनका क्रममा तोडफोड गरिएका प्रहरी चौकीहरू नागरिक स्तरबाटै बनाउन सुरु गरिएको छ ।

यस्तोमा उनलाई लाग्यो, देशलाई माथि उठाउनका लागि ठूलै पदमा पुग्नुपर्छ वा ठूलै क्रान्ति गर्नुपर्छ भन्ने छैन। आफ्नो सानो प्रयासले पनि राष्ट्र निर्माणमा इँटा थप्न सकिन्छ । यही सोचका साथ उनले यो कदम चालेका हुन् ।

‘मैले सानै भए पनि त्यति योगदान गरें भने देशलाई माथि लानको लागि अलिकति भए पनि सेवा पुग्छ भन्ने सोच राखेर यो निर्णय गरेको हुँ,’ उनले स्पष्ट पारे ।

उनले आफ्नो यो कामलाई पारदर्शी पनि बनाउने बताए । त्यसका लागि छुट्टै बैंक खाता खोल्ने, तत्काल रकम हस्तान्तरण गर्ने उनको योजना छ ।

‘चाँडै नै व्यक्तिगत खाताभन्दा अलग एउटा नयाँ बैंक खाता खोल्छु । त्यसमा तलब आएको केही दिनभित्रै तोकिएको रकम त्यो नयाँ खातामा जम्मा गर्छु,’ उनले योजना सुनाए, ‘अनि सकभर ३० दिनभित्रै सम्बन्धित ठाउँमा पुर्‍याउँछु । जसलाई दिनुपर्ने हो, म दिइहाल्छु । म त्यो पैसा आफूसँग राख्न चाहन्नँ ।,’

यसो गर्नुको उनको मुख्य लक्ष्य रकम सही ठाउँमा, सही उद्देश्यका लागि प्रयोग होस् भन्ने हो । ‘यो पैसाको एकमात्र उद्देश्य नेपाललाई पुनर्निर्माण गर्नका लागि हो,’ उनी भन्छन् ।

तर देशका लागि छुट्टाएको रकम कसरी परिचालन गर्नेबारे भने अहिल्यै उनले सोचिसकेका छैनन् । कुनै गैरसरकारी संस्था वा अन्य कुनै उपयुक्त संयन्त्रमार्फत परिचालन गर्ने उनको योजना छ ।

त्यस्तै आफ्नो यो कामलाई उनले चर्चा कमाउने वा प्रचारमा आउने माध्यम नबनाइ दिन अनुरोध गरे । ‘म हाइलाइटमा आउँछु भन्ने आशयले गरेकै होइन । हामी सबैले मिलेर एकजुट भएर देशलाई अर्को तहमा लान पाए राम्रो हो नि,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?