News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय कप्तान सूर्यकुमार यादवले भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई अब प्रतिद्वन्द्विता भन्न नमिल्ने बताएका छन्।
- सूर्यकुमारले भने, 'यदि दुई टोलीबीच १५–२० खेल हुँदा ७–७ वा ८–७ जस्तो टक्करको नतिजा आएको छ भने त्यो प्रतिद्वन्द्विता हो।'
- भारतले एसिया कप सुपर फोरमा पाकिस्तानलाई ६ विकेटले हराएको छ र सूर्यकुमारले ७ देखि १५ ओभरमा राम्रो प्रदर्शन गरेको बताएका छन्।
६ असोज, काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोर खेलमा पाकिस्तानलाई ६ विकेटले हराएपछि भारतीय टोलीका कप्तान सूर्यकुमार यादवले भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई अब प्रतिद्वन्द्विता भन्न नमिल्ने टिप्पणी गरेका छन्।
खेलपछिको पत्रकार सम्मेलनमा एक पत्रकारले सोधेको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘यदि दुई टोलीबीच १५–२० खेल हुँदा ७–७ वा ८–७ जस्तो टक्करको नतिजा आएको छ भने त्यो प्रतिद्वन्द्विता हो। तर १३–० वा १०–१ जस्ता परिणाम आयो भने त्यो प्रतिद्वन्द्विता होइन’ उनले भनेका थिए ।
भारत र पाकिस्तानबीच सन् २००७ देखि हालसम्म भएका खेलहरूमा भारत ११-३ ले अगाडि रहँदै आफ्नो दबदबा कायम राखेको छ । यही एसिया कपमा भएको दुवै भेटमा पनि भारतले बाजी मारेको छ ।
यसअघि पनि सूर्यकुमारले पत्रकार सम्मेलनमा कुरा गर्दा स्टेडियम भरिएको माहोल मात्र प्रतिद्वन्द्विता जस्तो देखिने बताएका थिए।
सुपर फोरको खेलबारे उनले भने, ‘हामीले ७ देखि १५ ओभरमा राम्रो खेल्यौं र बलिङतर्फ पनि त्यही अवस्थामा राम्रो प्रदर्शन गर्यौं।’
भारतले जित निकाले पनि चार क्याच छाडेको थियो । यद्यपी सूर्यकुमारले यसलाई सामान्य गल्ती भन्दै त्यो खेलको हिस्सा भएको र अझै महत्वपूर्ण खेलहरू बाँकी रहेको उल्लेख गरे ।
‘फिल्डिङ अभ्यास धेरै भएको छ, त्यसैले बहाना खोज्नु हुँदैन। गल्ती सुधारेर फेरि खेलमा फर्कनुपर्छ’ उनले थपे ।
प्रतिक्रिया 4