News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अनावश्यक समिति गठन नगर्न कर्मचारीलाई निर्देशन दिएका छन्।
- मन्त्री पुनले विद्यालय शिक्षा ऐनबारे विज्ञहरूको टिम बनाएर काम गर्ने बताएका छन्।
- उनले भ्रष्टाचार अन्त्य र सुशासनको मुद्दामा १६ देखि ३० उमेर समूहका युवालाई समेट्ने योजना बनाएको बताए।
६ असोज, काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ठोस नतीजा निकाल्नेगरी अघि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
सोमबार केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री पुनले अनावश्यक र औचित्यहीन समिति गठनमा आफूलाई रूचि नभएको बताए ।
पदभार ग्रहणका बेला मन्त्रालयका सचिवसहितको टोलीले मन्त्रीको पहिलो निर्णयमा हस्ताक्षर गरिदिन आग्रह गर्दा उनले नाम मात्रको समिति गठन गर्न जरुरी नरहेको बताए ।
‘हाजिर गर्ने, दुई चार पटक मिटिङ बस्ने, सदस्य भएर एउटा पद लिने, म चैं यो समितिको सदस्य हुँ भनेर भिजिटिङ कार्डमा नाम लेख्ने मात्रै भएन के, अब ठोस काम होस् भन्ने म चाहन्छु,’ उनले भने ।
सो क्रममा उनले पटकपटक नाम मात्रैको समिति नबनाउन कर्मचारीहरूलाई निर्देशन दिँदै टिओआरमा हस्ताक्षर गर्न समेत अनकनाए ।
पुनले विद्यालय शिक्षा ऐनबारे विज्ञहरूको टिम बनाएर काम गर्ने बताएका छन् ।
पदभार ग्रहणको क्रममा पत्रकारहरूले शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासमा उनले भने, ’त्यो थाहा छैन । त्यो कस्तो ऐन बनाएको हो, के हो ? यसका लागि विज्ञहरूको टिम बनाउँछु । विज्ञहरूको टोलीले जे–जस्तो किसिमको सल्लाह सुझाव दिन्छन् । सोही अनुसार अघि बढ्छु ।’
संसद् विघटन भइसकेको अवस्थामा सबै संसदीय समितिहरू निष्क्रिय भइसकेको भन्दै उनले विज्ञहरूलाई इमान्दारितापूर्वक सुझाव दिन आग्रह गरे ।
मन्त्री पुनले आफूलाई कवाडी मन्त्री भन्न आह्वान गरेकोबारे सञ्चारकर्मीको प्रश्नमा उनले मन्त्रालयभित्र बाहेक बाहिर भेट हुँदा मन्त्री सम्बोधन नगर्न आग्रह गरे ।
काम गर्दा समूहमा १६ देखि ३० उमेर समूहका युवा पुस्तालाई समेट्ने उनले बताए ।
जेनजी पुस्ताले उठाएको भ्रष्टाचार अन्त्य र सुशासनको मुद्दाबारे आफ्नो मन्त्रालयमातहतमा ध्यान दिने उनको भनाइ छ ।
प्रतिक्रिया 4