News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्व भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले पहिलो संस्करणको आईएलटी–२० अक्सनमा आफ्नो बेस प्राइस १ लाख २० हजार अमेरिकी डलर तोकेका छन्।
- आईएलटी–२० को चौथो संस्करण डिसेम्बर २ देखि जनवरी ४ सम्म हुनेछ र प्रत्येक टिमले जम्मा २ मिलियन अमेरिकी डलरसम्म खर्च गर्न पाउनेछ।
- प्रत्येक टिममा १९ देखि २१ खेलाडी हुनेछन् जसमा कम्तीमा ११ पूर्ण सदस्य राष्ट्रका र ४ युएईका खेलाडी अनिवार्य हुनेछन्।
७ असोज, काठमाडौं । पूर्व भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले आगामी अक्टोबर १ मा दुबईमा हुने पहिलो संस्करणको आईएलटी–२० अक्सनमा आफ्नो बेस प्राइस १ लाख २० हजार अमेरिकी डलर तोकेका छन्। यो मूल्य अक्सनमा सूचीकृत सबै खेलाडीमध्ये सबैभन्दा उच्च हो।
अन्तर्राष्ट्रिय क्रिकेट र आईपीएलबाट सन्यास लिएका ३९ वर्षीय अश्विनले आफू पूरा सिजन उपलब्ध रहने जानकारी दिएका छन्। अक्सनमा टिमले उनलाई छनोट गरे भने आईएलटी–२० उनको पहिलो विदेशी टी–२० लिग हुनेछ।
अहिलेसम्म अक्सनको सूचीमा ८ सयजति खेलाडी समावेश छन्, जसमा २४ जना भारतीय खेलाडी छन्। अन्तिम सूची फ्रेन्चाइजहरूले पठाउने इच्छा सूचीअनुसार यसै साताभित्र तयार हुनेछ।
आईएलटी–२० को चौथो संस्करण डिसेम्बर २ देखि जनवरी ४ सम्म हुनेछ। यसअघि फ्रेन्चाइजहरूले जुलाईमै आफ्ना खेलाडी कायम राख्ने र प्रत्यक्ष साइनिङ गरिसकेका छन्।
प्रत्येक टिमले जम्मा २ मिलियन अमेरिकी डलरसम्म खर्च गर्न पाउनेछ भने कम्तीमा १.५ मिलियन खर्च गर्नैपर्ने नियम छ। साथै, अतिरिक्त २.५ लाख डलरमा अक्सन बाहिर दुई जना वाइल्डकार्ड खेलाडी लिन सक्ने व्यवस्था छ।
स्क्वाड संरचना अनुसार प्रत्येक टिममा १९ देखि २१ खेलाडी हुनुपर्छ। तीमध्ये कम्तीमा ११ जना पूर्ण सदस्य राष्ट्रका, ४ जना युएईका, १ जना कुवेतका, १ जना साउदी अरबका र २ जना अन्य एसोसिएट मुलुकका खेलाडी अनिवार्य हुनेछन्।
साथै, टिमहरूले एउटै युएई खेलाडीलाई ‘राइट टु म्याच’ कार्ड प्रयोग गरी पुनः किन्न सक्ने सुविधा पाउनेछन्।
प्रतिक्रिया 4