७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने २४ भदौमा नख्खु कारागारबाट निस्कनका लागि कारागार प्रशासनले नै पटकपटक फोन गरेर आग्रह गरेको बताएको छ ।
मंगलबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले यस्तो बताएकी हुन् ।
‘सुरक्षा चुनौती छ भनेर उहाँहरूले नै अनुरोध गरेपछि, पटकपटक दशौं मान्छेलाई फोन आएपछि उहाँ निस्कनुभएको अवस्था हो,’ उनले स्पष्ट पार्दै भनिन् ।
साथै, कारागार प्रशासनले दिएको पत्रबारे कारागारले नै बोल्नुपर्ने उनले बताइन् ।
‘नख्खु कारागारको लेटरहेड प्रयोग भएर नै पत्र आएको छ । त्यसबारे त हामीले भन्दा पनि उहाँहरूले नै बोल्नुपर्ने होला नि,’ उनले भनिन् ।
पार्टी प्रवक्ता मनिष झाले पनि पत्रका बारेमा प्रश्न उठेकाबारे आपत्ति जनाए । उक्त पत्रमा भएको केरकारबारे चर्चा भएपनि त्यहीँ भएको हस्ताक्षर र स्ट्याम्पबारे भने कसैले चर्चा नगरेकोमा आपत्ति जनाए ।
‘पत्रको बारेमा प्रश्न उठेको हुन्छ । केरिएको ठाउँमा हस्ताक्षर र स्टाम्प देख्नुभएन,’ झाले भने ।
कारागार प्रशासनले नै जोखिम छ भनिसकेपछि आफूहरूले सभापतिको सुरक्षाका लागि जिम्मा लिएको रास्वपाले बताएको छ ।
प्रतिक्रिया 4