
‘बाबा, खै खोला’, कुक्कुरत (काँधेकुरीरत) जेन–अल्फा छोरीले बाबा काँधबाट ओर्लेपछि सोधिन्, ‘अब कहाँ खेल्ने बाबा ?’
छोरीले ‘खै खोला’ भनेर सोधेको बाल कविताको खोला थिएन । अर्थात् ‘गाई बगाउने’ बालकविते खोला थिएन । जुन खोला ‘कुखुरी काँ’बाट शुरु भएर ‘खै खोला, सुक्यो’ मा सुक्थ्यो । छोरीले खोजेको खोला हरिसिद्धिबाट करिब पाँच/सात मिनेट पैदल दक्षिण–पश्चिमबाट उत्तर बग्ने कर्मनासा थियो । जो फुलचोकी गोडाबाट फुत्त निक्लेर बागमतीमा सुक्थ्यो ।
कर्मनासामा ‘समृद्धि’ पर्खाल ठिंग उभिएको थियो । तपाईंले सुनेको, जानेको र भोगेको ‘भ्युटावरे समृद्धि’ पर्खाल । पर्खालले हरिसिद्धि र धापाखेल दुईतिरबाट चपक्क चेपेको थियो । यति चपक्क चेपेको थियो कि, कर्मनासा सास न बास भएको थियो । कर्मनासाले सास फेरिरहेको थियो कि थिएन ? पज पाइन्नथ्यो । पर्खालकै बाटोबाट कर्मनासामा ढल पसेको थियो । ढल पसेपछि बागमती नपुग्दै कर्मनासा त ‘बागमती’ बन्दैथियो ।
कर्मनासा छेउमा जेन–अल्फा छोरीले माटो खोजिन् । ढुंगा खोजिन् । झार खोजिन् । खर्सेट्टी झाडी खोजिन् । कमिला खोजिन् । लेडीबग नाउँ जानेकी छोरीले सुनपंखी खोजिन् । भोम्लाकाना खोजिन् । पुतली खोजिन् । तिनै उनका स्हङ (साथी) थिए ।
छोरीको हात समाएँ ।
पर्खाल उभिनुअघि कर्मनासामा धोबीले लुगा धुन्थे । धोबीसँगै इँटा बनाउने मजदुर, इँटा बोक्ने मजदुर र साना काँठीका डेरावाल लुगा धुन्थे । लुगा धुँदा निक्लेको धुनमा छोरी ढुंगा, माटो र झारसँग खेल्थिन् । बगिरहेको कर्मनासासँग आफू पनि बगेको अभिनय गर्दै बेलाबेलामा छाम्रा फाल्थिन् । कर्मनासाबाट पुट्लुङ्ङ आवाज आउँथ्यो । त्यसपछि गिट्टीभन्दा थोरै नाजो (ठूलो) ढुंगा फाल्थिन् । प्रतिक्रियास्वरुप ‘चोप्लाङ’ आवाज आउँथ्यो । चोप्लाङ आवाजलाई छोरीले ‘स्यानीमाय’ गीत ठानेर नाच्थिन् ।
चार वर्ष पुरानो दशैंताकाको फोटो मोबाइलमा हेरें ।
कर्मनासाको डुबिल्कामा तीन जना भुरा भौ खेल्दैथिए । डुबिल्कामा डुब्की लगाएको फोटो खिच्दा लजाउँदै दौडिए । भौ खेल्ने भनेको पौडी खेल्नु हो । नांगा गोडावाल नानीहरूले डुब्की लगाउने डुबिल्का नै कर्मनासा त थियो । भलै जीउ डुबाउन अयोग्य डुबिल्कामा तिनले डुबेको अभिनय गरेका किन नहोउन् ! बस्, नानीहरूले कर्मनासाका डुबिल्कामा धीत मारेर डुब्की लगाउँदै भौ खेलेको फोटो थियो ।
त्यसपछि पाँच वर्ष पुरानो भिडियो हेरें ।
जलारी कर्मनासामा जाल खेल्दैथिए । अधबैंसे जलारीको जालमा माछा पर्यो । त्यसबेला बाबा काँधमा कुक्कुरत जेन–अल्फा छोरो थिए । ती छोरा माछा हेर्न दौड्दै जलारीछेउ पुगे । माछा हेरे । दंग परे ।
कर्मनासा वरपर हेरें । पाँच वर्षअघि जाल खेल्न आउने जलारी थिएनन् । कर्मनासामा चक्लेटको खोल, चुरोटको ठुटा, चाउचाउको खोल र प्लाष्टिक पो खेलिरहेका थिए । माछा, भ्यागुता, गँगटासँग जेन–अल्फा छोरीको चिनजान र संवादको साइत घर्किसकेको देखेर मन चस्स दुख्यो ।
छोरीसँग खेल्न कर्मनासा किनारतिर झार, बुटा, झाडीवासी जीव मात्र बचेका थिए । छोरीका स्हङ मुख्ली, दुबो, उप्पासे, तिउरी, बन्सो, च्वारच्वारे, किटुके फूल, हजारी, ऐंसेलु, चोत्रा, माओवादी झार (वनमारा), कोदेझार थिए । छोरीले ढुंगाको चुल्हो बनाउँथिन् । माटोको म:म पकाउँथिन् । भन्थिन्, ‘बाबा ! आऊ, टिमी म:म खाऊ ।’ म:म पकाएर दिएको छोरीले अभिनय गर्थिन् त मैले खाएको ।
सिकार बोकेर हिंडिरहेका कमिलाका लाम देखेर छोरी रमाउँथिन् । दुलोभित्र पसेपछि बल्ल ‘बाइ’ भन्दै कमिलासँग बिदावारी हुन्थिन् । छोरीमन मौरी, अरिंगाल, भमरा, पुतली, बारुलासँगै उड्थ्यो । छोरी त पुतलीको पछि लाग्थिन् । लेडीबगले पखेटा खोलेर जुरुक्क उडेको हेर्दा दंग पर्थिन् । त्यसबेला तीनछक पर्थिन्, जब भोम्लेकानाले गोबरलाई गुच्चा बनाएर गुडाइरहेको देख्थिन् ।
कर्मनासा पूर्वपट्टि हरिसिद्धि त पश्चिमपट्टि धापाखेल । काठमाडौं पसेका सर्वसाधारण कर्मनासा वरपरका खेत र बारी लिजमा लिएका थिए । कतिका तरकारी फार्म थिए त कतिका गाई/भैंसी फार्म । मेसिनले कर्मनासालाई तरकारी फार्ममा तानेका थिए । बर्खामास फार्मदेखि तल खेतमा कतै कोदोेका बाला झुलेका हुन्थे त कतै धानका । जग्गा कारोबारीले प्लटिङ गर्न आजको मितिसम्म बालबाल बचेका खेत थिए ती बारी थिए ती । सीजी गु्रुपले कर्मनासा छेवैको डाँडो खुरल्ले पारेर सम्याउँदै थियो ।
सम्झिएँ, कोभिडकालीन कर्मनासा किनारमा उभिएका केही थान ऐंसेलु बोट थिए । ऐंसेलु पाके । त्यसैबेला त हो, जेन–अल्फा छोरोले ऐंसेलु चिनेको । ऐंसेलु चाखेको ।
कोभिडकालमा कर्मनासा त थियो, सर्वसाधारणले सास फेर्ने ठाउँ ।
तपाईंलाई भन्दैथिएँ, छोरी र बाबा कर्मनासा पुग्दा समृद्धि पर्खाल गोदावरीतिर लाग्दैथियो । छोरीले के हराएजसरी के नभेटेजसरी वरपर खोजिन् । न छाम्रा थिए न ढुंगा थिए न माटो । छोरी आँखामा पर्खालले चेपेर च्याउसे कर्मनासाको घाँटीमा समृद्धि सुर्काने गाँठो कसिंदै थियो ।
****
हामीले डेरा गरेको घरको आँगन र आँगन वरपर रूख छैनन् । डेराबाट निक्लनेबित्तिकै गोडा कालोपत्रे बाटोमा । पानी, माटो, ढुंगा, झारपातसँग भेट हुन कर्मनासा पुग्नुपर्थ्यो । कर्मनासा ‘पुत्रीकारिता’ स्कूल थियो । कुनै बेला पत्रकारिता नामक ‘कमैयाकारिता’ गरेको थिएँ । एकदिन त्यो ‘सक्रिय कमैयाकारिता’लाई ‘बाइ’ भनें । ‘आबेचोबे’ पत्रकारितासँगै ‘पुत्रकारिता’ थपियो । जेन–अल्फा पुत्रकारिता । त्यसपछि गरिरहेको थिएँ, जेन–अल्फा ‘पुत्रीकारिता’ ।
छोरीलाई कुक्कु गराएर कर्मनासा जानु र कर्मनासा किनारतिर बचेका झाडी, झारपात रूख चिनाउनु र चिन्नु कर्मनासा स्कूल पुत्रकारिता थियो । छोरीबाट नयाँ–नयाँ कुरा सुन्नु र सिक्नु नै पुत्रीकारिता थियो । छोरीले आफ्नो स्कूले म्याडमका नाउँ आफ्नो सहजता र बुझाइ अनुसार राखेकी थिइन्– सङटिङटाङ म्याम । पुत्रीकारिताकै क्रममा ढिलोगरी जानें, छोरीकी सङटिङटाङ म्याम नै संगीता म्याम थिइन् । पुत्रीकारिताले कर्मनासासँग जोड्ने ‘रसन’ हाल्यो । सुनारले सुनमा रसन हालेजसरी । यसको कारण थियो, छोरीलाई ‘खोला यो हो’ भनेर चिनाएकै कर्मनासा थियो ।
पुत्रकारिता र पुत्रीकारिता कहिलीकसो फेसबुकमा फोटो पोस्टन्थें । बेलाबेलामा लेखक झलक (सुवेदी) दाइ भन्थे, ‘धीतमारी खेल्नू । खेल्ने नै छोराछोरी साना हुँदा हो । पखेटा लागे त उडिहाल्छन् । उडेपछि खेलूँ भने पनि कहाँ पाई ।’
भ्यागुतागान
हाम्रो डेरा वरपर चार/पाँच वटा घडेरी थिए । खाली भाग भनेका तिनै घडेरी त थिए । धन्न, डेरापछाडि गुठीको खेत थियो । बर्खा लागेपछि तिनै घडेरीमा भ्यागुताले गाउँथे– बर्खे साँझ सजाउँदै ‘ट्वार ट्वार ट्वार’ । भ्यागुतागानमा मस्त हुन बा–छोरी निक्लन्थ्यौं । गानथलोमा यति सजग भएर पुग्थ्यौं कि, हाम्रो उपस्थितिले भ्यागुतागान नरोकियोस् । रोल्पा राङ्कोट दमाईडेराका मानसिङ दमाईले भोक्रा फुलाउँदै सनाही बजाएजसरी भ्यागुताले गाइरहेको देखेपछि छोरी आँखा मुख सकेजति ठूलो बनाउँथिन् । त्यसपछि सासैसासले ‘वाह्’ भन्थिन् ।
छोरीजत्रो नहुँदै मैले त भान्सामै भ्यागुता भेटेको थिएँ । भ्यागुतागान सुनेको थिएँ । बर्खा लाग्यो कि वस्तुभाउ लिएर चोत्राढारा, माइढारा र मझौढारा गोठ उक्लन्थ्यौं । (गोठ भनेका प्राय: एकतले खरछाने छाप्रा थिए । मूलघर बाहेकका घरलाई रोल्पा रुकुमतिर गोठ भन्ने चलन थियो ।) गोठमा जेइले भाङ्ङु धागो कात्दै ढिरो पकाइरहेकी हुन्थिन् । ‘फुट्रुक्क फुट्रुक्क’ फट्कदै भ्यागुता गोठको चुलोछेउमा पुग्थ्यो । कहिलेकाहीं त चुलोछेउमै पुगेर भोक्रा फुल्लाउँदै गाउँथ्यो ।
भाङ्ङु धागो कात्न फन्किरहेको हातको टाकु गतिमा ब्रेक लगाउँदै जेइले भन्थिन्, ‘कान्छा, हेर तो, बोक्रे पाहुना आए ।’
भ्यागुताको गाउँघरे नाउँ बोक्रे थियो ।
गएको जनैपूर्णिमाको दिउँसोपखको कुरा सुनाएँ है ।
त्यसदिन पनि छोरी र बाबा कर्मनासा जाँदैथियौं । आलीमा क्वाटी देखिन् । सिमीको पातमा राखिएको क्वाटी । आलीमा क्वाटी देखेर छोरी छक्क परिन् । कर्मनासा खोला पुग्नुअघि घडेरी र घर बन्न बाँकी खेतमा धान थियो । धानखेतको आलीमा क्वाँटी ।
‘बाबा कसलाई हो यो ?’
‘बोक्रेलाई ।’
‘बोक्रेलाई ?’
हरिसिद्धि डेराछेवैकी स्थानीय शारदा महर्जनलाई सोधेको सम्झिएँ ।
‘आज भ्यागुतालाई खाना खुवाएर पूजा गरेको नि !’
‘किन ?’
‘उहिलेउहिले भ्यागुताले मान्छेलाई बचाएको रे ! त्यसैको गुन तिर्न खाना दिएर पूजा गरेको हो ।’
‘कोबाट बचाएको ?’
‘भूतबाट ।’
‘कसरी ?’
‘उहिलेको कुरा । गाउँलेलाई खान्छु भनेर भूत आयो रे ! बाटोमा पानी भरिएको खाल्डो रहेछ । भ्यागुताले भूतलाई खाल्डोमै अल्मलायो रे ! यसरी, गाउँलेलाई भूतबाट बचाएकाले भ्यागुुतालाई पूजा गर्न थाले रे !’
शारदा महर्जनहरू खेतबारी जति घडेरी भएपछि बचेखुचेको खेतमा धान रोपेर चित्त बुझाइरहेका थिए । शारदाहरूका नेवा: समुदाय ‘बालीनालीमा लाग्ने कीरा खाएर बाली जोगाएकाले’ पनि ऋण तिर्न भ्यागुता पूजा गर्थे । क्वाटी भोजन गराउँथे । जसलाई ब्याँचायात नकेगु भन्थे (लेखक अभय श्रेष्ठसँगको कुराकानी) । ब्याँचायात नकेगुले पर्यावरण र मानव बीचको ‘सद्भाव’ सम्झाएको !
हरिसिद्धिको पुरानो बस्तीनजिकै खेत नै घडेरी भएर बनेका घरमा हाम्रो डेरा थियो । घर बन्नुअघि हाम्रो डेरामा पनि भ्यागुतागान हुन्थ्यो होला ।
यही बर्खाको एक दिनको कुरा हो ।
बोक्रे गाउने एउटा घडेरीमा नयाँ घर उभिने भयो । घरले गोडा टेक्न खनेपछि माटो थुप्रियो । छोरी थुप्रिएको माटो खेल्न थालिन् । घरी रोटीको आकार दिइन् त घरी चराको । राजधानीमा डेरावालका बच्चाबच्चीले माटो खेल्न पाउनु दुर्लभ थियो । भिडियो बनाउँदै छोरीलाई भनें, ‘तिमीजत्रै हुँदा म पनि गाउँमा माटो खेल्थें ।’ छोरीले खेल्न बोलाउँदै भनिन्, ‘टिमी ठूलोमा पनि माटो खेल है, बाबा ।’ छोरीको कुरा सुनेर खनिरहेका राजापुरे (बर्दिया)‘संघारी’हरू हाँसे । थारू भाषामा संघारी भनेको साथी ।
कर्मनासासँग पहिलो भेट
करिब तीन दशक पुरानो हिउँदमा चिनजान हुँदा कर्मनासाको अनुहार पानीरङको थियो । कर्मनासा सङ्लो बग्थ्यो । सिंहदरबारबाट करिब १० किलोमिटर दक्षिणमा कर्मनासा कलकल गीति धुनमा उत्तर लाग्दैथियो । शक्तिशाली मानिस र यो मुलुकको सत्ताले कर्मनासाको कर्मनास गरेका थिएनन् । ‘समृद्धि’ नामक विध्वंसले कर्मनासालाई सास न बास बनाएको थिएन ।
कर्मनासाछेउ हात्तीवन पश्चिमपट्टि खेतैखेत थिए । एउटा खेतमा उभिएको थियो, आकाश नै छेड्लाजसरी इँटाभट्टाको चिम्नी । हो, त्यो चिम्नी वरपरका खेत (तिहारलगत्तै) धानको जरा खुर्काएर चिल्लो पार्दैथिए । चिम्नी वरपर र तलमाथिका खेतमा झ्याउली उभिदैथिए । इँट्टा बनाउने र बोक्ने मजदुर बस्ने छाप्रालाई झ्याउली भन्थे । ३०/४० वटा झ्याउलीमध्ये एउटा झ्याउली हाम्रो बास बन्यो । जसमा दक्षिण रोल्पा नुवागाउँ पिरालेका धरम घर्तीमगर र उनका ठूला बा पनि बसे । झ्याउलीको छाना परालको थियो । मुन्टो निहुराएर झ्याउलीभित्र पस्थ्यौं । उभिन मन लागे झ्याउलीबाहिर निक्लन्थ्यौं ।
झ्याउलीवासी भएको भोलिपल्ट यनाबाङ्ङे नाइके मामाले खेत देखाउँदै भने, ‘भान्ज, तमी दुई भाइको खला हो यो । चिल्लो हुनेगरी खुर्काऊ । चिल्लो पार है, बड्डा । इँट्टा बनाने खला यही हो ।’
इँट्टा बनाउने वा बोक्ने मजदुर खेरखार पारी ल्याउनेलाई नाइके भन्थे । कामदार ल्याएवापत इँट्टा साहुले नाइकेलाई कमिसन दिन्थ्यो । उनै नाइके मामा रोल्पा भाबाङ यनाबाङका टेकबहादुर बाँठामगर थिए । बाबैले नाइकेसँग ‘मामाभान्जा’ साइनो गाँसिदिएका थिए । उनका छोरा भीम (चिरन) रोल्पा नुवागाउँ स्कूल पढ्ने बेलाका क्लासमेट र रुममेट थिए । होे, यनाबाङ्ङे नाइके मामाको पछि लागेर काकुको छोरा (भाइ) प्रकाश र म कर्मनासाछेउको झ्याउलीवासी भएका थियौं ।
अचेल सिटी स्केप अपार्टमेन्ट उभिएको वरपर झ्याउलीवासी ठूल्पाखा बस्थे । ठूल्पाखा बस्ने भनेको दिसा गर्ने हो । कर्मनासाछेउको त्यो पाखा त्यसबेलासम्म झ्याउलीवासी ठूल्पाखा बस्थे, जुनबेलासम्म हुस्सु हुन्थ्यो । हुस्सु हुुँदा ‘नेचर कल’ नहुने झ्याउलीवासीको बज्नु बाह्र बज्थ्यो । हुस्सु हुइँकिएपछि खुला ठाउँमा कसरी ठूल्पाखा बस्नु ?
हप्तामा एक दिन ‘हप्ता’ हुन्थ्यो । साहुले पैसा दिने दिनलाई झ्याउलीवासी ‘हप्ता’ भन्थे । हो, हप्तामा झ्याउलीवासी लुगा धुन र नुहाउन कर्मनासामा पस्थे । लुगा धुन्थे । नुहाउँथे ।
काठमाडौं खाल्डो जिन्दगी नै झ्याउलीबाट शुरु भएको थियो । झ्याउलीबाट डेरामा डेरा सरें । आजसम्म जारी डेरा जिन्दगी पाँगा (कीर्तिपुरे विश्वविद्यालय पढ्नेबेला)बाट थालिएको थियो । कीर्तिपुरे स्थानीयवासीसँग लयमा लय हाल्दै हामी विद्यार्थीहरूले पनि रत्नपार्कतिर जानुलाई ‘शहर जाने’ भन्थ्यौं । विद्यार्थीले नाउँ दिएको लाउडा नामक ठूलो बस चढेर कीर्तिपुर–रत्नपार्क गर्थ्यौं ।
एकदिन पाँगा छाडें, कीर्तिपुरेका अनुसार शहरको डेरावासी भएँ । बबरमहल, घट्टेकुलो, बुद्धनगर, नरेफाँटहुँदै हरिसिद्धि डेरावासी । हरिसिद्धि पुगेपछि कर्मनासासँग फेरि भेट भयो ।
लाग्दै किशोरवयको चिनजानले होला, सानोमा भौ खेलेको झाँक्रीखोलासँगै कर्मनासा पनि सम्झनामा आउँथ्यो । रपा स्कूल जाँदा भौ खेल्न सिकेको चुनबाङगार, लिबाङ पढ्ने बेला भौ खेलेको ढाङ्सीखोलासँगै कर्मनासा पनि सम्झनामा आउँथ्यो ।
झ्याउली र स्याउलीबासी संवाद

कर्मनासाछेउको इँटाभट्टा वरपर उभिएका झ्याउलीभित्र बिहान–बेलुकी स्टोभले ‘भुरुरुरु’ धुन झिक्थे । साँझपखे–स्टोभको भुरुरुसँगै झ्याउलीवासी कुनै एउटा झ्याउलीमा भेला हुन्थे । मादल घन्काउँथे । गाउँथे । नाच्थे । दिनभरको थकान भुल्थे । यस्तो साइत हर रात भने हुन्नथ्यो ।
झ्याउलीवासीले नाचगान गर्दा पनि नगर्दा पनि अग्लो ठाउँ (जहाँ अहिले क्लासिक टावर उभिएको छ) मा स्याउलीवासी(स्याल) भेला हुन्थे । कहिलीकसो स्याउलीवासीले झ्याउलीवासीको गला घाँस्थे त कहिले दोहोरी नै गाउँथे । झ्याउली र स्याउलीवासी बीच एकखाले गीति संवाद हुन्थ्यो । झ्याउली र स्याउलीवासी कहिले रुन्थे कहिले हाँस्थे । झ्याउली र स्याउलीवासीका संगीतमा कर्मनासा सुस्तसुस्त सुसाउँदै बागमती भेट्न बग्थ्यो ।
****
‘पुत्रीकारिता’ स्कूल कर्मनासामा झ्याउलीवासी नुहाइधुवाइ गरेका थिए । लुगा धोएका थिए । पर्खाल बन्न बाँकी कर्मनासामा धोबी लुगा धोइरहेका हुन्थे । ती कति सीतापाइला त कति कुन खोलाबाट कर्मनासा पुगेका थिए । ती सब बागमती बनेपछि पुगेका धोबी अब कर्मनासा पनि बागमती बनेपछि कहाँ जालान् ? डेरावाल, मजदूरका छोराछोरी कर्मनासामै भौ खेल्थे ।
बद्री बाजेहरूका लागि भने कर्मनासा न खोला थियो न पानी । पूर्वमन्त्री बालाराम घर्तीमगरपत्नी बेलमतीले आफ्नो घर सातदोबाटोमा एकसट्ठी सालको गर्मी महिनाको यादमा कर्मनासा सम्झँदै थिइन् । त्यो गर्मीमा पानीले राजधानी छाड्यो । मर्ता क्या नै कर्ता भनेजसरी मानिस पानी खोज्दै कर्मनासा पुगे ।
‘जेठा ज्वाइँले कर्मनासाको पानी किन्नुभएछ, हामी पनि त्यही पानी खाइम् । पानी नभएपछि के गर्ने त, खानै पर्यो ?’
बेलमतीलाई सोधें, ‘कर्मनासाको पानी पिउन नहुने हो र ?’
जवाफ दिन उनले आफ्ना बाहुन बद्री बाजेलाई सम्झिइन् ।
‘हाम्रा बाहुन बद्री बाजे (सापकोटा) भन्थे, ‘यो कर्मनासाको पानी खाने त के, मुख धोए पनि अगति पर्छ ।’ पानीको हाहाकार भएपछि के गर्ने? मुख धुने त के, खाइयो ।’
बेलमतीलाई बद्री बाजेहरूले कर्मनासा खोलाको पानी छोए पनि किन अगति पर्छ भनेर कारण भने खुलाएनन् ।
भारतको कर्मनासा नदी किन अपवित्र भनेर भारतका बद्री बाजेहरूले पौराणिक कहानी कहेका थिए । बिहारबाट उत्तरप्रदेशहुँदै गंगामा जाने श्रापित कर्मनासा नदीको अपवित्र भन्नुका कहानी बुनेका थिए–
राजा हरिश्चन्द्रका पिता सत्यव्रत थिए । एकदिन सत्यव्रतले आफू स्वर्ग जाने इच्छा आफ्ना गुरु वशिष्ठलाई सुनाए । गुरु वशिष्ठले भने सत्यव्रतको इच्छालाई इन्कार गरे ।
सत्यव्रतले अर्को उपाय खोजे । उनी विश्वामित्रकहाँ गए । स्वर्ग जाने वरदान मागे ।
विश्वामित्रले सत्यव्रतलाई स्वर्ग पठाए । तर, सत्यव्रत स्वर्ग जाने कुरा देवराज इन्द्रलाई मन परेन । उँधोमुन्टे पारेर सत्यव्रतलाई धरतीमा पठाए ।
विश्वामित्रले सत्यव्रतलाई आकाशमै रोके । आकाशमा उँधोमुन्टिएका सत्यव्रतको मुखबाट र्याल चुहियो । धर्तीमा खसेपछि त्यो र्याल कर्मनासा नदी बन्यो ।
र्यालबाट बनेको नदी कहीं पवित्र हुन्छ ? सराप परेको नदी भने । अपवित्र नदी भनेर दर्ज गरे ।
****
बद्री बाजेहरूले पनि हेला गरेको कर्मनासालाई समृद्धि पर्खालले हेलामात्र होइन, चेपेर सास न बास बनाएको थियो । हरिसिद्धिका बूढापाकालाई भन्थे, ‘बेलाबेलामा किसानका कर्म नै नास गर्ने गरी बाली बगाएकाले नाउँ नै कर्मनासा रह्यो ।’ कहिले धापाखेलतिर त कहिले हरिसिद्धितिर ‘नागबेली’ बगेको कर्मनासा देखाएर थपेथे, ‘कर्मनासामा नाग जोडी बस्थे । तिनका विछोड भयो । नागिनीको त कर्म नै नास भयो नि ! कर्मनासा भयो, खोलाको नाउँ । अहिले पनि मच्छिन्द्रनाथ बोक्ने काठलाई नक्खुखोलामा राख्छन् । विछोडिएका नाग भेट होऊन् भनेर (हरिसिद्धि स्कूलका पूर्व हेडसर धर्मगोविन्द महर्जनसँगको कुराकानी) ।
आफ्ना अनुभव र सम्झना सुनाउँदै हरिसिद्धिका ज्यापु समुदायका पाकाहरूले भन्थे, ‘खोला त एकदिन आफ्नो बाटो खोज्दै आउँछ ।’ पोहोर असोज १२ गते कर्मनासा आफ्नो बाटो खोज्दै निक्लेको थियो । शायद कर्मनासा कुनै बेला रोल्पातिर चल्तीको गीत गाउँदै निक्ल्यो, ‘घरको हेला, वनैको हेला, कुइरेपानी काटम् कि यै बेला ।’
कर्मनासा विद्रोह थियो । शक्तिशाली मानिस र यो देशका शासकले गरेको दोहन, शोषण र उत्पीडन विरुद्ध विद्रोह । भलै विद्रोहले शासक र शक्तिशाली मानिसले कर्मनासा चेपेर उभ्याएका हाउजिङ उभिइरहे । सरकारी पार्टी नेता र पूर्वमन्त्रीको स्कूल उभिइरहे ।
असोज १२ गतेको कर्मनासा विद्रोह थियो । कर्मनासाहरूका त्यस्ता विद्रोह कुनै बेला ‘प्राकृतिक’ थिए । जुन विद्रोहका कारण थिए । एक, कहिलीकसो उठ्ने ज्वालामुखी । दुई, कहिलेकाहीं जाने भुइँचालो । ज्वालामुखी र भुइँचालो जस्ता प्राकृतिक प्रकोपले कहिले बाढी आउँथ्यो कहिले खडेरी छाउँथ्यो त कहिले पहिरो जान्थ्यो ।
औद्योगीकरणसँगै शक्तिशाली देश र शक्तिशाली मानिसले गरेको कर्मनासाहरूको दोहन दिन दुगुना र रात चौगुना बढ्यो । कहिले कर्मनासा सुक्ने खडेरी हुन थाल्यो, कहिले कर्मनासा वारपार उर्लने भेलबाढी । गर्मीमा अचाक्ली गर्मी त जाडोमा धेरै जाडो । हुँदाहुँदा कर्मनासाबाट देखिने हिमालको रूप नै फेरियो । शक्तिशाली देश र शक्तिशाली मानिसले गरेको प्रकृति लुटतन्त्र विरुद्ध कर्मनासाहरूले विद्रोह थालेका थिए ।

दोहनकै शृंखलास्वरुप समृद्धि नामक पर्खाल उभिंदै थियो । पर्खालको बाटो भएर कर्मनासामा ढल पसेको थियो । ढल पसेपछि कर्मनासाको रूप र रङ फेरिएको थियो । रूप त ‘विरुप’ भएको थियो ।
पर्खालमा छोरीसँगै उभिएँ ।
‘बाबाको काँधमा कुक्कु गर्दै कर्मनासा जान्थें । ‘समृद्धि’ले ‘कर्मनासा’ त ‘कर्मनास’ भयो’ पर्खालमा उभिएको बेला मलाई लागिरह्यो कि, भोलि छोरीले भन्नेछिन्, ‘म उही अभागी छोरी हुँ, जो बाबाको ‘अहम्’ले मम्मी, दाजु र मेरा स–साना ‘रहर’ पनि रहर ‘रह’मै रहे । परिवारका सदस्यका ‘आधारभूत रहर’समेत पुर्याउन नसक्ने एकादेशका एक ‘ब्याड बाबा’ थिए । हो, उनै ब्याड बाबाकी छोरी म ।’
छोरीको ‘ब्याड बाबा’ । हतासिएँ । वरपर हेरें ।
जेन–अल्फा छोरीसँग कर्मनासा खोलामा थिएँ । छोरीले कर्मनासा खोला खोजिरहेकी थिइन् । कर्मनासा किनारमा खेल्ने ठाउँ खोजिरहेकी थिइन् ।
पर्खाल उभिएपछि कर्मनासा किनारले सिमेन्ट पाउडर घसेर चिल्लो थियो । भाङ्ङु, तीतेपाती, सिस्नो, चुत्रा, ऐंसेलु, बन्सो, उप्पासे झार थिएनन् । ती नभएपछि कसरी हुनु लेडीबग, पुतली, भोम्लाकाना, भँगेरा, पुतली, बारुला, अरिंगाल, कमिला … ।
प्रकृतिको नासा न कर्मनासा थियो नानीहरूको कर्मनासा । प्रकृति प्रदत्त नासा कर्मनासा थिएन ।
समृद्धि दोहनले कर्मनासा त कर्मनास हुँदैथियो । मानव र प्रकृति सद्भाव भत्केर कर्मनासा त कर्मनास हुँदैथियो । कर्मनासा त कर्मनास हुँदैथियो ।
फेरि समृद्धि पर्खालमा उभिएँ । यताउति हेरें । पर्खाल उभिएपछि न नानीले कर्मनासा देख्थिन् न कर्मनासाले नानी । कर्मनासा र नानीको बीचमा पर्खाल थियो । समृद्धि पर्खाल । समृद्धि त नानी र कर्मनासा बीच ‘पुल’ हुनुपर्ने होइन र ?
वारिपारिबाट पर्खाल लगाएर समृद्धिले दायाँबायाँ गर्न पाउँदैनस् भनेर कर्मनासालाई निरंकुशता लादिएको थियो ।
फेरि हरिसिद्धि क्यान्सर अस्पतालतिर नजर फालें । अस्पताल भएर नै छोरी र बाबा कर्मनासा पुगेका थियौं । अस्पताल अगाडि घाइते पुलिसचौकीलाई बटुवाले मोबाइलमा कैद गर्दैथिए । सुशासन ल्याउन भ्रष्टाचार विरुद्ध उठेको जेन–जी ‘विद्रोह’को बेला जलेको पुलिसचौकी चोसेमोसे थियो । कांग्रेस, एमाले र माओवादी सुप्रिमोका घरसहित सिंहदरबार, संसद्, सर्वोच्च अदालत जलेको धुवाँ कर्मनासा माथि–माथि उड्दैथियो । भलै जेन–जी विद्रोह ‘ओली–देउवा–प्रचण्ड तन्त्र’मात्र फालेर स्थगित भएको थियो । ‘डरमर्नु’ प्रतिगमन ‘डर’ बाँकी नै थियो ।
जेन–अल्फा छोरीलाई पुलुक्क हेरें ।
सुशासन आएन, सर्वसाधारणका दिन फिरेन भने, जेन–अल्फाले गर्ने विद्रोह कति भयानक होला ?
पर्खाल र कर्मनासा हेरें ।
ठूलो विद्रोह त बाँकी नै थियो । छोरी र कर्मनासा बीचको पर्खाल बनाउने कुशासन विरुद्धको विद्रोह । प्रकृति दोहन विरुद्धको विद्रोह । कर्मनासाहरूको कर्मनास गरी सारा कर्मनासा नै सखाप पार्ने भ्रष्टाचार र कुशासन विरुद्धको ‘अनिवार्य विद्रोह’ त बाँकी नै थियो । जेन–जीको त्यो सुशासनको लागि गर्ने अझ ठूलो र भयानक विद्रोह बाँकी नै थियो । त्यो विद्रोह ओलीहरूको कुशासन विरुद्ध मात्र थिएन, सारा कर्मनासाहरूका कर्म नास गर्ने ट्रम्प, सीहरू जस्ता शक्तिशाली मानिस र शक्तिशाली मुलुकका कुशासन विरुद्ध पनि थियो ।
तपाईं नै यी स–साना जिज्ञासाका जवाफ दिनुस् त, आजको मितिसम्म बचेका पाखा, बारीमा पनि घर उभिए भने कहाँ होला, बोक्रेगान ? नेवा: समुदायले बोक्रेलाई कहाँ भोजन गराउँदै पूजा गर्लान् ? ‘पुत्रीकारिता’ स्कूल कर्मनासा नै कर्मनास भए, नानी र कर्मनासा ‘हाल’ के हाल जस्तै होला ?
फोटोहरू: नवीन विभास
प्रतिक्रिया 4