+
+
Shares

सुरु भयो माओवादी केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १२:१३

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाहरु प्रस्तुत गरेका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तावउपर केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् ।

बैठकमा विशेष महाधिवेशन सम्बन्धी तयारी, आम निर्वाचन, पार्टी एकता लगायत विषयमा छलफल हुनेछ ।

बैठकमा विकसित राजनीतिक परिस्थितिबारे प्रचण्डले समसामयीक राजनीतिक प्रस्तावबारे छलफल गरी निर्णय लिने माओवादी केन्द्रले जनाएको छ । त्यसपछि आगामी महाधिवेशनको मिति र स्थान तय गरिने नेताहरुले बताएका छन् ।

प्रवक्ता अग्नि सापकोटाका अनुसार जेनजी युवा आन्दोलनपछि विकसित राजनीतिक परिस्थ्तििमा पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

माओवादीका उपमहासचिव जनार्दन शर्माले समसामयीक परिस्थितिमा पार्टीको नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने विशेष महाधिवेशनको माग गर्दै आएका छन् । जनेजी युवा आन्दोलनपछि उनले अध्यक्ष प्रचण्डको राजीनामा नै मागेका छन् ।

आइतबारको पदाधिकारी बैठकमा उपमहासचिव शर्माले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई संयोजक बनाएर विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेका थिए । दुई वर्षदेखि नेतृत्व परिवर्तनको अडानमा रहेका शर्माकै जस्तो तर्क श्रेष्ठको पनि थियो । ‘अलग तर्क र सन्दर्भ भएपनि नेतृत्व परिवर्तनमा उहाँहरू एकैठाउँ जस्तो देखिनुभयो,’ बैठक स्रोत भन्छ ।

अध्यक्ष प्रचण्डले केन्द्रीय समितिसहित पार्टीका सबै कमिटी भंग गरेर आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पदाधिकारी र स्थायी समिति बैठकमा गरेका छन् । आजको केन्द्रीय समिति बैठकले त्यसबारे औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।

प्रचण्ड पक्षका नेताहरु भने महाधिवेशन आयोजक समितिको संयोजक प्रचण्ड नै हुनुपर्ने पक्षमा छन् । उपाध्यक्ष पम्फा भुसालले केन्द्रीय कमिटी बैठकले मंसिरमा विशेष महाधिवेशन गर्ने र प्रचण्ड संयोजक रहनेगरी आयोजक समिति बनाउने निर्णय हुने अनलाइनखबरलाई बताएकी छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्तावमा सामूहिक छलफल गर्ने तयारी छ ।

भौगोलिक र गैरभौगोलिक गरी १२ वटा समूहमा सदस्यहरुलाई विभाजन गर्ने तयारी छ । भौगोलिक ७, प्रवासका ३ तथा सम्पर्क विशेष र उपत्यका विशेष एक–एक प्रदेश गरी १२ प्रदेशमा सदस्यहरुलाई विभाजन गरिने छ ।

ती समूहले आ–आफ्नो टोली नेता चुन्नेछन् र टोली नेताले आफ्नो समूहमा भएको छलफलका विषयबारे बैठकमा जानकारी गराउने छन् ।

‘प्रत्येक सदस्यलाई बोल्न दिँदा बैठक लम्बिने भएकाले समूह विभाजन गरी सामूहिक छलफल गर्ने तयारी छ,’ स्रोतले भन्यो ।

बैठकमा सहभागीहरुलाई प्रवेश शुल्कको रुपमा एक हजार रुपैयाँ तोकिएको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव गणेशमान पुन रश्मीले हल भाडा, खाजा, पानी लगायतको व्यवस्थापनका लागि सहभागीहरुबाट रकम संकलन गरिने बताए । ‘त्यो भनेको एकदम न्यूनतम रकम हो,’ उनले भने ।

आज र भोलि दुई दिनसम्म बैठक बस्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?