९ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्विट्जरल्यान्डका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।
भेटमा स्विस सहयोगमा हाल सञ्चालित आयोजना कार्यान्वयन अवस्था, अल्पकालीन र दीर्घकालीन रूपमा सहयोग गर्न सकिने क्षेत्र, स्विस लगानी, द्विपक्षीय सहयोग लगायत विषयमा छलफल भएको थियो ।
स्विस सरकारबाट नेपालको विकासमा उपलब्ध सहायताका लागि धन्यवाद दिँदै मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठित सरकारको प्रमुख प्राथमिकता चुनाव, आन्दोलनका कारण क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचना पुनर्निर्माण र सुशासन कायम गर्दै युवामा आशा जगाउनु रहेको उल्लेख गरे ।
उनले विद्युतीय सवारीसाधन प्रवर्द्धन, घरायसी प्रयोजनमा विद्युत्लाई इन्धनका रूपमा प्रयोग गर्न प्रोत्साहन, स्विट्जरल्यान्डले सडक यातायातमा प्रयोगमा ल्याएको सुरुङ प्रविधिलाई नेपालमा अनुशरण, हरित हाइड्रोजन ऊर्जाको प्रवर्द्धन, साना उद्योग स्थापना मार्फत रोजगारी सिर्जना गर्न आवश्यक तालिमका लागि सहयोग उपलब्ध गराउन आग्रह गरे ।
हाल स्विस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग, रोजगारमूलक सिप विकास तालिम लगायत कार्यक्रम सञ्चालित छन् ।
राजदूत मेउलीले नेपालको ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सधैं तयार रहेको बताइन् ।
प्रतिक्रिया 4