+
+
Shares
विश्व रेबिज दिवस :

कुकुरको टोकाइले बर्सेनि ५० हजारभन्दा बढी घाइते, खोपबारे थाहा नपाएरै गुम्छ ज्यान

रेबिजविरुद्धको खोप नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आए पनि खोपको मात्रा र समयलाई लिएर अन्योल कायम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १२:२४

१२ असोज, काठमाडौं । नेपालमा प्रत्येक वर्ष ५० हजारभन्दा बढी मानिस कुकुरको टोकाइले घाइते बन्ने गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार यसमध्ये ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका छन्, जो रेबिजको उच्च जोखिममा छन् ।

सरकारले सन् २०३० सम्म मुलुकबाट रेबिज उन्मूलन गर्ने लक्ष्य राखे पनि संक्रमितको संख्या बढ्दै जाँदा यो लक्ष्य पूरा हुने सम्भावना कमजोर बन्दै गएको छ ।

रेबिजको भयावह अवस्था

रेबिज एक शतप्रतिशत प्राणघातक रोग हो । यो रोग भाइरस (ह्र्याब्दो परिवारको लिसा भाइरस)बाट हुन्छ । सुरूमा जनावरका र्‍यालमा रहेका भाइरस जनावरको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिद्दीसम्म पुग्छ ।

टेकु अस्पतालको तथ्यांक अनुसार वर्षेनी ३० देखि ३५ जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ । सरुवा रोग  डा. शेरबहादुर पुनका अनुसार, अस्पतालमा अभिलेख भएकाहरूको तथ्यांक मात्र उपलब्ध छ । तर अभिलेखबाहिर धेरैको मृत्यु भएको हुन सक्छ ।

‘रेबिजलाई धेरैले वास्ता गरेको देखिंदैन । खोप निःशुल्क उपलब्ध भए पनि जानकारीको कमी र बेवास्ताका कारण मानिसहरू खोप लगाउन आनाकानी गर्छन्,’ डा. पुन भन्छन् ।

घरपालुवा कुकुरबाटै जोखिम

पछिल्लो समय घरमा कुकुर पाल्ने चलन बढ्दै जाँदा घरपालुवा कुकुरको टोकाइबाट रेबिजको जोखिम पनि बढेको छ ।

डा. पुनका अनुसार अस्पतालमा रेबिजको खोप लगाउन आउनेहरूमध्ये धेरैलाई घरमै पालेको कुकुरले टोकेको पाइएको छ ।

‘कतिपयले कुकुरले टोकेपछि टिटानसको सुई लगाएर ढुक्क भएको ठान्छन्, तर दुई–तीन महिनापछि रेबिजका लक्षण देखिन्छन्,’ डा. पुन भन्छन् ।

टेकु अस्पतालका पूर्वनिर्देशक डा. सागर राजभण्डारीले रेबिजबाट मृत्यु हुनुको प्रमुख कारण चेतनाको कमी र स्वास्थ्यकर्मीको अपर्याप्त परामर्श भएको बताए ।

‘रेबिजविरुद्धको खोप धेरै अस्पतालमा उपलब्ध छैन। निजी अस्पतालमा रकम तिरेर खोप लगाइन्छ, तर राम्रो परामर्श दिइँदैन,’ डा राजभण्डारी भन्छन् । चिकित्सकका अनुसार जनावरले टोकेको व्यक्तिलाई राम्रो सल्लाह दिएको भए यस्तो अवस्था आउने थिएन ।

रेबिजका लक्षण र जोखिम

रेबिज भाइरस शरीरमा प्रवेश गरेपछि लक्षण देखिन नौ दिनदेखि तीन महिनासम्म लाग्न सक्छ ।

कतिपय अवस्थामा एक वर्षपछि पनि रेबिजका कारण मृत्यु भएको रेकर्ड छ ।  प्रमुख लक्षणहरूमा पानी र हावादेखि डराउने, टोकेको ठाउँमा चिलाउने, ज्वरो आउने, टाउको र घाँटी दुख्ने, पानी पिउन गाह्रो हुने र उत्तेजित हुने हुन्छन् ।

रेबिज लागेका कुकुरले   जथाभावी टोक्ने, र्‍याल काढ्ने, मुखमा फिँज आउने, पानीदेखि डराउने र अस्वाभाविक व्यवहार लक्षण देखाउने गर्छ ।

‘विशेषगरी रेबिज भएको कुकुर पानीदेखि डराउँछ र जथाभावी टोक्दै हिंड्छ,’ डा. पुन भन्छन् ।

खोपप्रतिको अन्योल

रेबिजविरुद्धको खोप नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आए पनि खोपको मात्रा र समयलाई लिएर अन्योल कायम छ ।

डा. पुनका अनुसार, निजी अस्पतालहरूमा अझै पनि पाँच डोज खोप सुझाव दिइन्छ । जबकि सरकारी अस्पतालमा चार डोज वा छालामुनि (इन्ट्रा डर्मल) विधिबाट तीन डोज मात्र दिइन्छ ।

अझ छालामुनि (इन्ट्रा दर्मल) दिने विधिबाट त तीनपटक मात्र दिने गरिन्छ । छालामुनि (इन्ट्रा दर्मल) दिने विधिबाट एकपटकमा दुवै पाखुरामा दिने गरिन्छ । पहिले कुनै पनि समयमा खोपको मात्रा पूरा (डोज) गरेको भए दुईपटक मात्र लगाए पुग्छ ।

‘पहिले खोपको पूरा मात्रा लगाएकाहरूलाई दुई डोज मात्र पर्याप्त हुन्छ,’ डा. पुनले  स्पष्ट पारे ।

जनावरले टोकेको २४ वा ४८ घण्टाभित्र खोप लगाउनुपर्छ भन्ने भ्रम धेरैमा छ । रेबिजविरुद्धको खोप टोकेको जतिसक्दो चाँडो लगाउनुपर्छ । त कुनै कारणले केही दिन ढिला भएको अवस्थामा पनि खोप लगाउन सकिन्छ ।

कुकुर किन टोक्छ ?

कुकुर स्वभावतः मान्छेसँग मिलेर बस्ने प्राणी हो। तर रेबिज संक्रमण भएका कुकुरले जथाभावी टोक्ने गर्छ ।  यसबाहेक, कुकुरलाई यातना दिएको, कुटपिट गरेको वा खोरमा थुनेर राखिएको अवस्थामा पनि आक्रमक बन्न सक्छ । सडकमा भोकै रहेका कुकुरलाई तर्साएमा पनि आक्रमण गर्न सक्छन् ।

जनचेतना आवश्यक

रेबिज नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको भ्याक्सिन प्रभावकारी उपाय हुन् ।

नेपालले सन् २०३० सम्म रेबिज शून्यमा झार्ने प्रतिबद्धता जनाए पनि जनचेतनाको कमी र खोपप्रतिको बेवास्ताले यो लक्ष्य चुनौतीपूर्ण बनेको छ ।  सरकारले गरेको प्रतिबद्धतालाई जनावरको टोकाइपछि खोप लगाउन नआउने वा आनाकानी गर्ने व्यवहारले चुनौती दिएको चिकित्सक बताउँछन् ।

चिकित्सकहरूका अनुसार रेबिजलाई तीन प्रकारमा वर्गीकरण गरिन्छ : पहिलो डिग्री, दोस्रो डिग्री र तेस्रो डिग्री ।  यसमध्ये तेस्रो डिग्री सबैभन्दा जटिल र खतरनाक मानिन्छ ।

पहिलो डिग्री : सामान्य सम्पर्क

पहिलो डिग्री रेबिज तब हुन्छ जब कुकुर वा अन्य जनावरले चाट्छ वा तिनको र्‍याल छालामा पर्छ । यो अवस्थामा भाइरस सर्ने जोखिम कम हुन्छ ।

रोकथाम : प्रभावित ठाउँलाई साबुनपानीले राम्रोसँग धुनुपर्छ ।  यो सामान्य प्रारम्भिक उपायले भाइरसको जोखिमलाई हटाउन सकिन्छ ।

दोस्रो डिग्री : सतही घाउ

दोस्रो डिग्रीमा :कुकुर वा जंगली जनावरले कोतरेर सानो घाउ बनाएको अवस्था पर्छ, तर गहिरो वा ठूलो घाउ हुँदैन ।

रोकथाम : घाउलाई कम्तीमा १० मिनेटसम्म मिचीमिची साबुनपानीले धुनुपर्छ । जसले भाइरस निष्क्रिय हुन सक्छ । त्यसपछि नजिकको स्वास्थ्य संस्थामा गएर एन्टी–रेबिज भ्याक्सिन (एआरभी) लगाउनुपर्छ ।

तेस्रो डिग्री : गम्भीर र जटिल

तेस्रो डिग्री रेबिज सबैभन्दा खतरनाक मानिन्छ ।  कुकुर वा जनावरले टोकेर मासुको चौटा निकालेको, हड्डी देखिएको, वा घाँटीभन्दा माथि, हत्केला वा पैतालामा टोकेको अवस्था यसमा पर्छ ।

रोकथाम : यस्तो अवस्थामा तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ । साबुनपानीले घाउ धोएर एन्टी–रेबिज भ्याक्सिनका साथै रेबिज इम्युनोग्लोबुलिन (आरआईजी) खोप पनि आवश्यक पर्न सक्छ ।  यो खोप गहिरो घाउ वा संवेदनशील अंगमा टोकेको अवस्थामा अनिवार्य हुन्छ ।

रेबिज विरुद्धको खोप विगतको तुलनामा हाल सहज र निःशुल्क हुँदा पनि दुई दशक अगाडि भन्दा हाल रेबिज बिरामीको संख्या अझै बढ्दो देखिन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, ९३ प्रतिशत रेबिज कुकुरको टोकाइबाट र ७ प्रतिशत अन्य जनावर (बाँदर, स्याल, चमेरो) बाट सर्छ ।

डा. पुन भन्छन्, ‘रेबिजको संक्रमण मांसपेशी हुँदै नसामा फैलिएपछि कुनै उपचार हुँदैन । खोप नै यो रोगबाट बच्ने एकमात्र उपाय हो ।’

विशेषगरी गहिरो घाउ वा घाँटीमाथि टोकेको अवस्थामा तुरुन्त रेबिज इम्युनोग्लोबुलिन खोप लगाउनुपर्छ ।

यदि कुकुर वा अन्य जनावरले टोकिहाले घाउलाई १५ मिनेटसम्म बगेको पानीमा थापेर धुनुपर्छ । साबुन पानीले घाउलाई राम्ररी सफा गरेर खुला छोडिनिदुपर्छ ।

घाउमा बाँध्ने, निचोर्नेजस्ता काम गर्नु हुँदैन । सकेसम्म छिटो एआरभी लगाउन जानुपर्छ ।

डा. पुन भन्छन्, ‘कुकुर ९वा जनावर०ले टोकेर घाउ सानो देखिंदा केही हुँदैन भनेर खोप नलगाउँदा रेबिज संक्रमित भएका धेरै उदाहरण छन् ।’

समुदायमा रहने सबै कुकुर बहुला हुँदैन वा आफूलाई आक्रमण नगरेसम्म जथाभावी टोक्दैन । तर कहिले कहिले शंकास्पद बहुला कुकुरले जथाभावी टोक्दै हिंडेको अवस्थामा त्यस्तो कुकुर वा जनावरको व्यवस्थापनमा द्रुत प्रतिकार्य हुनुपर्छ ।

रेबिज विरुद्धको खोप विगतको तुलनामा हाल सहज र निःशुल्क हुँदा पनि दुई दशक अगाडि भन्दा हाल रेबिज बिरामीको संख्या अझै बढ्दो देखिन्छ । रेबिजको चुनौतीलाई अझै पनि बेवास्ता गर्दा आगामी वर्षमा रोगले थप विकराल रुप नलेला भन्न नसकिने डा. पुन बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?