+
+
Shares

चार्जिङ स्टेसन मार्फत रोजगारी सिर्जना गरौं : ऊर्जामन्त्री घिसिङ

सन् २०३० सम्म कुल निजी सवारीसाधनको ९० प्रतिशत र सार्वजनिक सवारीसाधनको ७० प्रतिशत ईभी पुर्‍याउने लक्ष्य छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन्।
  • सरकारले सन् २०३० सम्म निजी सवारीसाधनको ९० प्रतिशत र सार्वजनिक सवारीसाधनको ७० प्रतिशत विद्युतीय बनाउने लक्ष्य राखेको छ।
  • नेपाल विद्युत् प्राधिकरणले देशभर ६२ चार्जिङ स्टेसन स्थापना गरेको र निजी क्षेत्रमा करिब ८ सय चार्जिङ स्टेसन सञ्चालनमा रहेको छ।

१२ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन मार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् ।

विद्युतीय चार्जिङ स्टसेनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गरी त्यस वरपर होटल, रेस्टुरेन्ट, कफी सप खोल्न सकिने र त्यसबाट रोजगारी सिर्जना हुने मन्त्री घिसिङले बताए ।

चेन्ज डिजिटलले काठमाडौंको सामाखुसी लगायत विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण आवश्यक रहेको बताए ।

चार्जिङ स्टेसन व्यवसाय गर्न लगानीको राम्रो क्षेत्र भएकाले यसबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै घिसिङले नेपालमा उत्पादित जलविद्युत् खपतका लागि घरायसी, उद्योग, कलकारखाना लगायत क्षेत्रमा उपभोग बढाएर पेट्रोलियम पदार्थ आयात घटाउन सकिने बताए ।

यसबाट आयात घट्दा मुलुकको विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परी अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उनले बताए ।

सरकारले विभिन्न नीति तथा योजना मार्फत विद्युतीय सवारीसाधन (ईभी) प्रयोगलाई प्राथमिकतामा राख्दै आएको छ । सन् २०३० सम्म कुल निजी सवारीसाधनको ९० प्रतिशत र सार्वजनिक सवारीसाधनको ७० प्रतिशत ईभी पुर्‍याउने लक्ष्य छ ।

सन् २०३५ मा यो प्रतिशत वृद्धि गरी क्रमश : ९५ र ९० प्रतिशत पुर्‍याउने लक्ष्य छ । ईभी प्रयोग प्रोत्साहन गर्न नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ । निजी क्षेत्रका करिब ८ सय वटा चार्जिङ स्टेसन सञ्चालनमा छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोष अन्तर्गत भायबिलिटी ग्याप फन्डिङ सहयोगमा आधारित दिगो ऊर्जा च्यालेन्ज फन्डमार्फत चार्जिङ स्टेसन स्थापनाका लागि सहयोग गर्दै आएको छ ।

केन्द्रबाट १८ कम्पनीसँग ४५ आयोजना मार्फत १ सय २४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?