News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाको दोस्रो खेल आज सवा ८ बजे शारजाह क्रिकेट रंगशालामा खेल्दैछ।
- नेपालले पहिलो खेल जितेपछि आजको खेल जितेमा शृंखला एक खेल अगावै आफ्नो नाम गर्नेछ।
- नेपालले टेस्ट राष्ट्रविरुद्ध पहिलो द्विपक्षीय सिरिजमा शृंखला जित्ने इतिहास बनाउन सक्छ।
१३ असोज, काठमाडौं । वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ । शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा बेलुका सवा ८ बजे सुरु हुने खेलमा नेपाललाई आज अर्को इतिहास बनाउने अवसर छ ।
यसअघि पहिलो खेलमा ऐतिहासिक जित निकालेको नेपालले आजको खेल पनि जितेमा एक खेल अगावै शृंखला आफ्नो नाममा गर्नेछ । त्यसो भएमा नेपाली क्रिकेटमा अर्को इतिहास रचिनेछ । टेस्ट राष्ट्रविरुद्ध खेलेको पहिलो द्विपक्षीय सिरिजमै जित निकाल्दै नेपालले यो इतिहास बनाउन सक्छ ।
नेपालले हालसम्म हङकङ, मलेसिया, यूएई, अमेरिका, नेदरल्याण्ड्स, केन्यासँग द्विपक्षीय शृंखला खेलेको छ । जहाँ नेपालले ४ शृंखलामा जित निकालेको छ ।
सन् २०१४ मा श्रीलंकामा भएको शृंखलामा नेपाल हङकङसँग पराजित भएको थियो । त्यस्तै सन् २०१५ मा नेदरल्याण्ड्स गएर खेलेको नेपाली टोलि १ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको थियो ।
सन् २०१९ मा यूएईमा भएको शृंखलामा २ खेल जित्दा १ खेलमा पराजित भयो । २०१९ मै मलेसियामा भएको शृंखलामा नेपालले २ मध्ये २ खेल नै जितेको थियो ।
२०२२ मा केन्यामा गएर शृंखला खेलेको नेपालले ३ खेल जित्दा २ खेलमा पराजित भयो । २०२४ मा हङकङमा भएको एकमात्र खेलमा नेपाल पराजित भएको थियो ।
आजको खेलमा नेपालले पहिलो खेलकै टोलीलाई निरन्तरता दिन सक्ने सम्भावना रहेपनि शनिबारको खेलका क्रममा यद्यपी नन्दन यादवलाई केही समस्या देखिएकाले उनको स्थानमा मोहम्मद आदिल आलमले टोलीमा स्थान बनाउन सक्छन् ।
नेपालको सम्भावित ११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सन्दीप जोरा, नन्दन यादव/मोहम्मद आदिल आलम, करण केसी, सोमपाल कामी र ललित राजवंशी
प्रतिक्रिया 4