
१३ असोज, काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका ४ वटा कार्यालयमा क्षति पुगेको पाइएको छ ।
आन्दोलनका क्रममा भएको आगजानी तथा तोडफोडका क्रममा भएको क्षति संकलन गर्ने क्रममा विभाग अन्तर्गतका ४ वटा कार्यालयमा क्षति पुगेको पाइएको हो ।
११ वटा कार्यालयहरूमध्ये श्रम तथा रोजगार कार्यालयहरू भद्रपुर झापा, पोखरा कास्की, बुटवल, रुपन्देही र धनगढी कैलालीमा क्षति पुगेको हो ।
विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपका अनुसार झापा कार्यालयका २ थान मोटरसाइकल जलाइएको छ । त्यस्तै गाडीको सिसा फुटाइएको छ । अन्य विभिन्न सामग्रीहरूमा समेत तोडफोड गरिएको छ ।
त्यस्तै पोखरा कार्यालयका २ वटा मोटरसाइकल जलाइएको छ भने विभिन्न ४० भन्दा बढी सामग्री तोडफोड गरिएको छ । बुटवल र धनगढीमा ३/३ थान मोटरसाइकल जलाइएको छ । त्यो बाहेक एसी, टेलिफोन, फर्निचर, प्रिन्टर लगायतका सामग्रीमा समेत तोडफोड र आगजनी भएको रिपोर्ट आएको प्रवक्ता गोपले बताए ।
विभागले यसको पुनर्निर्माणका लागि सरकारको निर्णय कुरेर बसेको छ । दशैं–तिहारपछि सेवा प्रवाह र पुनर्निर्माणको कामलाई अघि बढाउनेगरी तयारी भइरहेको उनको भनाइ छ ।
तोडफोड र आगजानीपछि विभागले अनुगमनलाई समेत सुस्त बनाएको छ । कतिपय प्रतिष्ठान तथा उद्योगधन्दाहरूमा आगजानी तथा तोडफोड गरिएको थियो । जसले गर्दा त्यहाँ काम गर्ने श्रमिकहरू समेत समस्यामा परेका छन् ।
उक्त परिस्थितिलाई मध्यनजर गरेर विभाग तथा कार्यालयबाट हुने अनुगमन लगायतका कार्यलाई केही कम गरेको उनको भनाइ छ । ‘अहिले यस्तो जटिल परिस्थिति छ । यस्तो अवस्थामा हामीले अनुगमन गर्ने, कानुन कार्यान्वयमा कडाइ गर्न खोज्दा समस्या हुन्छ,’ गोपले भने, ‘उनीहरूलाई अर्को खालका मानसिक तनाव हुन्छ । अहिले कानून कार्यान्वयको संक्रमणकालीन अवस्था छ । हामीले त्यही अनुसार काम अघि बढाइरहेका छौं ।’
आन्दोलनका क्रममा असर नपरेका क्षेत्रहरूमा भने कानून कार्यान्वयको कडाइलाई कमी नगरेको उनको भनाइ छ । श्रमिकले तलब नपाएको, सेवा सुविधा नदिएको, कामको सुरक्षामा ध्यान नदिएको जस्ता श्रमिकसँग प्रत्यक्ष जोडिएका विषयमा विभाग सचेत रहेको बताए ।
प्रतिक्रिया 4