News Summary
Generated by OK AI. Editorially reviewed.- वीर अस्पतालमा एक बिरामीको मस्तिष्कमा भएका ६ वटा धमनी (एनोरिजम) मध्ये एक फुटेको अवस्थामा नौ घण्टा लामो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।
- न्युरोसर्जरी विभाग प्रमुख प्रोफेसर डा. राजीव झाको नेतृत्वमा पाँच धमनीमा क्लिप लगाएर र एउटा धमनीलाई विशेष कपडाले बेरेर उपचार गरिएको थियो।
- यसरी एउटै व्यक्तिको मस्तिष्कमा धेरै एनोरिजमलाई एउटै भागबाट शल्यक्रिया गरी उपचार गर्ने यो ११ औं सफल केस हो।
वीर अस्पतालमा एक बिरामीको मस्तिष्कमा भएका ६ वटा धमनी (एनोरिजम) मध्ये एक फुटेको अवस्थामा एकैपटकमा शल्यक्रिया गरिएको छ। उक्त जटिल शल्यक्रिया गर्न करिब नौ घण्टा लामो समय लागेको थियो ।
यो कठिन अपरेसन न्युरोसर्जरी विभाग प्रमुख प्रोफेसर डा. राजीव झाको नेतृत्वमा भएको थियो । उनीसँगै डा. अन्जन सिंह कार्की र डा. मदन बजगाईं (न्युरोसर्जन), डा. प्रदीप वैद्य र डा. अनुज जे. कार्की (एनेस्थेसिया टोली) र नर्स सिन्धु गौतम तथा अश्मिता कार्की सहितको टोलीको संयुक्त प्रयासबाट शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।
उक्त शल्यक्रियाको क्रममा पाँच धमनीलाई क्लिप लगाएर बन्द गरिएको थियो भने एउटा धमनीलाई विशेष कपडा (निर्मलीकरण गरिएको) ले बेरेर सुरक्षित राखिएको थियो । सामान्यतया एउटै व्यक्तिमा धेरैवटा एनोरिजम भएको अवस्थामा अलग–अलग शल्यक्रिया गरिन्छ । तर यो केसमा भने मस्तिष्कको एकापट्टि (बायाँपट्टि) बाट मस्तिष्कको अन्य भागहरुमा भएका एनोरिजमलाई उपचार गर्न सकिएको थियो, जसमा अर्कोपट्टिका एनोरिजमहरू समेत मस्तिष्कको एकै ठाउँ (बायाँ) बाटै एकै पटकको शल्यक्रियाबाट सुरक्षित गरिएको थियो ।
अपरेसनपछि बिरामीको स्वास्थ्यस्थिति सुधार भएको छ । उनी केही समयपछि घर फर्कन सक्ने बताइएको छ ।
डा. झाले अहिलेसम्म ७६५ वटा भन्दा बढी एनोरिजमको शल्यक्रिया गरिसकेका छन् भने यसरी एउटै व्यक्तिको मस्तिष्कमा भएका धेरै वटा एनोरिजमलाई मस्तिष्कको एउटै भागबाट शल्यक्रिया गरी मस्तिष्कको अन्य भाग भएका एनोरिजमको पनि शल्यक्रिया गरेको यो ११ औं पटक हो ।
यस्तो शल्यक्रिया अत्यन्त जटिल मानिन्छ, जुन विश्वमा कमै मात्रामा सफल भएको बताइन्छ । यसअघि यस्ता शल्यक्रिया केवल अमेरिका, चीन, टर्की, भेनेजुएला, मेक्सिको र नेदरल्याण्डजस्ता केही सीमित मुलुकहरूमा मात्र हुने गरेका थिए । अहिले नेपालमा पनि यस्तो जटिल अपरेसन सफल भएपछि वीर अस्पताललाई विश्वस्तरको मस्तिष्क शल्यक्रिया गर्ने अस्पतालको रूपमा चिनिने भएको छ।
फुटेको मस्तिष्क एनोरिजमको मृत्यु दर करिब ४०–५० प्रतिशतसम्म हुनसक्ने डा. झाले बताए । बाँचेका धेरै बिरामीहरूमा दीर्घकालीन स्नायुजन्य कमजोरी वा अपाङ्गता देखिन सक्छ। सर्जिकल क्लिपिङ बाहेक एन्डोभास्कुलर प्रक्रिया पनि अर्को प्रभावकारी उपचार विकल्प हो, जसमा भित्रैबाट क्याथेटर प्रयोग गरेर एनोरिजमलाई सुरक्षित पारिन्छ ।
प्रतिक्रिया 4