
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन नारायणगढका अत्ताउल्ला खान २७ वर्ष वैदेशिक रोजगारीमा बिताएर दशैं नवमीको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युएईको दुबई जाने जहाजको बोर्डिङ पास कुरिरहेका थिए।
- अत्ताउल्लाले देशको न्यायोपन र सुन्दरता पैसाले किनेर नपाइने पीडा व्यक्त गर्दै देशको अवस्था देखेर फेरि परदेशिन बाध्य भएको बताए।
- उनीले विदेशमा काम गर्न सिप सिक्नुपर्ने र कानुनको सम्मान गर्नुपर्ने सुझाव दिँदै देश बनाउने जिम्मा नयाँ पुस्ताको काँधमा रहेको बताए।
१७ असोज, काठमाडौं । दशैं नवमीको दिन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल बाहिर भिडमा एक जना निराश देखिए । उमेरले ६० नाघिसकेको, हातखुट्टा बलिया देखिन्छन्, तर मुहारमा कुनै खुसी देखिन्न । रहरले होइन, बाध्यताले परदेसिनुको पीडा र निराशाको धर्सा उनको अनुहारमा प्रष्ट देखिन्छ ।
तर, ६ दशकको जीवन यात्रामा उनी अर्कै यात्रामा निस्किएका छन् । त्रिभुवन विमानस्थलबाट उडेर दूर कुनै देशमा श्रम गर्न जान लागेका उनी आफू उड्ने जहाजको बोर्डिङ पास कुरिरहेका थिए ।
त्यो कुराइ उनका लागि महिनौंको प्रतीक्षा जस्तै बनिरहेको थियो । घरी यता हिँडिरहेका थिए, घरी उता पुगिरहेका थिए ।
दशैं दैलोमा छ । उनी मुस्लिम धर्मावलम्बी हुन्, दशैं मनाउँदैनन् । तर, नेपाली हिन्दुलाई दशैंले छपक्कै छोपेका बेला उनी भने परदेसिन विवश छन् ।
चितवन नारायणगढका अत्ताउल्ला खान त्रिभुवन विमानस्थल टर्मिनल बाहिरको कुर्सीमा बसेर खाडी मुलुक युएईको दुबई जाने जहाज कुरिरहेका थिए । २७ वर्ष वैदेशिक रोजगारीमा बिताए अत्ताउल्लाले प्रहरी, सेक्युरिटी सुपरभाइजर र पछिल्लो समय कम्पनी पार्टनर हुँदै लगभग पूरै जीवन परदेशमा बिताइसकेका छन् ।
अनलाइनखबरकर्मी उनको नजिक पुग्दा अत्ताउल्ला झस्किए, तर चाँडै प्रेमपूर्वक आफ्नो जीवनका कथा खोल्न थाले । कुराकानी क्रममा एक पुरानो परदेशीको मनभित्रको देशप्रेम, निराशाको भावना व्यक्त भइरहेको थियो ।
‘देशको माया लाग्छ,’ अत्ताउल्लाले बारम्बार दोहोर्याइरहे, ‘त्यही भएर यो पटक नै परदेश नफर्किने सोचमा थिएँ, तर देशको अवस्था देखेर बस्न सकिन र परिवारले नमान्दा नमान्दै परदेशिने निधो गरेँ ।’
परदेशमा कमाएको पैसाले सुख त दिलाउन सक्थ्यो । तर, त्यसले आफ्नो देशको न्यायोपन, देशको सुन्दरता, पहाड, नदीको शीतलता दिलाउँथेन । पैसाले किनेर नपाइने रहेछ भन्ने पीडा सधैं उनको आवाजमा समाइरहन्थ्यो ।
कसरी बाध्य भए परदेशिन ?
अत्ताउल्लाको जीवनको बाटो सजिलो थिएन । २६ वर्षको उमेरमा उनी परदेशिन बाध्य भए । सन् १९८७ मा कतार पुलिसमा जाने अवसर मिल्यो । र, त्यहाँ १३ वर्ष काम गरे अनि सन् २००० मा नेपाल फर्किए ।
कतार प्रहरीमा हुँदा उनलाई सीमामा लडाइँका लागि खटाउन लागेको थाहा पाएपछि जागिर छाडेर घर फर्किए ।
कतार प्रहरीमा हुँदा उनले मासिक ४ सय अमेरिकी डलर बराबर तलब थाप्थे ।
नेपाल फर्किए, तर गर्ने के ? यसो जानेको काम थाले– ट्रक हाँक्ने । यो पेसामा उनी धेरै टिकेनन् ।
त्यसपछि उनी कुवेतमा सुपरभाइजरको जागिर गर्न पुगे । कुवेतमा ९ वर्ष काम गरे । त्यसपछि दुबई पुगे । दुबईमा साझेदारीमा कम्पनी खोले ।
‘देशको अवस्था ठिक भए फर्केर आउँछु’
अत्ताउल्लासँग कुराकानी क्रममा कमाइ र करियरका कथामात्र थिएनन् । उनका कुरा जसरी अगाडि बढ्थे, त्यहाँ समाज, राजनीति, आन्दोलन र विवेकका प्रश्न घुमिरहन्थे । हालैको जेनजी आन्दोलन र त्यसपछि भएको विध्वंस र आगजनीले अत्ताउल्लालाई गहिरो चोट पुर्याएको थियो ।
‘आन्दोलनमा उठाइएको माग जायज थियो,’ उनी भन्छन्, ‘तर, घुसपैठ भयो, बालबालिकाले त्यो धेरथोर गर्न सक्दैनन्, केही त राजनीतिक दलहरूका लागि अवसर बन्यो ।’
न्याय र परिवर्तनको चाहना भए पनि विनाश र यस्तो विध्वंसले सम्पूर्ण समाजलाई क्षति पुर्याएको पीडा उनमा थियो । उनी यो पटक विदेश नफर्किने सोचमा थिए । तर, दुई दिनको आन्दोलनले उनको मानसपटल नै हल्लियो ।
‘अब नजाने कि भन्ने सोच बनाएर बसेको थिएँ तर यो देशको स्थिति देखिहाल्नुभयो, देश कम्तीमा पनि ५० वर्ष पछाडि धकेलिने भयो, नेपालमै केही गरौँ भन्ने सोच मैले बनाएको थिएँ,’ उनी भन्छन्, ‘देशमा साह्रै दुःख लागेर एक पटक जान्छु, देशको हालत केही ठिक भयो भने आउँछु ।’
उनले सरकारप्रति कटु आलोचना गरे । नेताकै दूराचार र भ्रष्टाचारले जनताको विश्वास कमजोर भएको उनको धारणा स्पष्ट थियो । ‘६ महिनाभित्र के हुन्छ थाहा छैन,’ उनी भन्छन् ।
नेताहरूका घरमा गड्डीका गड्डी पैसा भेटिएको विषयमा समेत उनी निकै आक्रोशित बने । जनताको सेवक भनिएका नेताहरूले अवैध सम्पत्ति घरमा थुपारेर राख्ने अनि जनतालाई विदेशमा श्रम गर्न पठाउनेप्रति उनको आक्रोश थियो ।
देशमा प्रशस्त प्राकृतिक स्रोत र खनिज छन्, यदि सही व्यवस्थापन र इमानदार नेतृत्व भयो भने विकास सम्भव हुनेमा उनी विश्वस्त देखिए । तर, त्यो सबै ‘काम गर्ने मान्छे’ र ‘इमान्दार प्रणाली’ हुँदा मात्र सम्भव हुने उनको ठहर छ ।
खाडी मुलुकको जीवनका सुखद र कष्टदायी पक्ष उनले सुनाए । ‘दुबईमा पैसा छ, तर प्राकृतिक केही छैन,’ उनी भन्छन्, ‘त्यहाँको प्रणालीले काम गर्न सजिलो बनाएको हो ।’
कर्मचारीलाई नियम र कानुनको कडाइ, समयको पाबन्दी र अनुशासनले जीवन चल्ने उनको भनाइ छ । तर, नेपाली श्रमिकहरूले साह्रै दुःख पाउने गरेको उनको भनाइ छ ।
‘लेबरहरूले बेस्सरी दुःख पाउँछन्, नेपालमा केही सिप नसिकी आउँदा अनेक दुःख भोगिरहेका छन्,’ उनी भन्छन्, ‘कम तलब, विभेद, भिसा समस्या र कम्पनीले नबुझ्ने अवस्थाले धेरैलाई जीवनका कष्टपूर्ण यात्रामा धकेलेको छ ।’
‘सिप नभई विदेश नजानुस्’
अत्ताउल्ला विदेशमा श्रमिकका रूपमा आउनेलाई ज्ञान/सिप सिकेर मात्रै आउन सुझाव दिन्छन् । विदेशमा नेपालीहरू रक्सी खाने, झैंझगडा गर्ने, कानुन उल्लंघन गर्ने जस्ता कार्यले समस्यामा पर्ने गरेको उनी बताउँछन् ।
‘कानुनको सम्मान गर्नुपर्छ, समय पालन गर्नुपर्छ, झगडा गर्नुहुँदैन, यति गरिदियो भने पनि विदेशमा दुःख पाइँदैन,’ उनी सुनाउँछन् ।
कुनै पनि देशमा सम्मान र सुरक्षा पाउन चाहने हो भने तिनै आधारभूत कुरा अनुशरण गर्नुपर्ने उनको भनाइ छ । कुनै न कुनै सिप सिकेर जाँदा विदेशमा धेरै सजिलो हुने उनको अनुभव छ । सिप नहुँदा लेबर कार्यमा पुगेर थप जोखिम र शोषण भोग्नुपर्ने उनको बुझाइ छ ।
दुबईमा ‘अलुहा ग्रुप’ मा हार्दिक काम र साझेदारी अनुभव, अमेरिकी कम्पनीमा सुपरभाइजर जिम्मेवारी, कुवेतमा दैनिक जीवनका तिता–मिठा अनुभव उनीसँग थियो । यी सबैले उनको जीवनलाई घनीभूत बनाएको रहेछ ।
‘म क्याटागोरीमा गएँ, त्यसैले मैले दुःख कम पाएको,’ उनी थप्छन्, ‘जसले काममा तालिम र पेसागत क्षमता हासिल गरेका हुन्छन्, तिनलाई सजिलो अवस्था हुन्छ ।’
कुराकानी क्रममा उनी बेलाबेला मौन हुन्थे । जहाँ देशप्रेम र जीवनको सक्रिय समय अर्काको देशमा खर्च गर्नुपर्दाको पीडा झल्किन्थ्यो ।
‘देश बनाउने जिम्मा तपाईंहरूको काँधमा छ,’ विमानस्थलमा बिदाइ हुँदै गर्दा अत्ताउल्लाले भने । ती शब्दमा कुनै गुनासो मात्र थिएन; मातृभूमिको माया र सम्मान थियो ।
प्रतिक्रिया 4