
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री कार्यालयदेखि स्थानीय तहसम्मले एउटै प्रकारको सूचना प्रवाह गरिरहेका छन्। मोबाइलमा फोन गर्दा पनि बाढी/पहिरोको सूचना बजेको छ।
- सरकारले असोज १७ देखि २० गतेसम्म लामो दूरीको यात्रा नगर्न र राजमार्गमा सवारी रोक्न निर्देशन दिएको छ।
- विपद् जोखिम न्यूनीकरण प्राधिकरणले ६३ जिल्लामा माइकिङ गरी सुरक्षित रहन नागरिकहरूलाई आह्वान गरेको छ।
१८ असोज, काठमाडौं । गत वर्ष असोज ११ र १२ गते वर्षासँगै गएको बाढी र पहिरो बिर्साउने गरी यसवर्ष पनि २४ घण्टादेखि निरन्तर वर्षा भइराखेको छ । जल तथा मौसम विभागका अनुसार सोमबारसम्मै निरन्तर वर्षा हुन प्रक्षेपण छ ।
विभागले म्यासेज गरेर नागरिकहरूलाई भनेको छ, ‘भारी वर्षा भइरहेको र भोलिसम्मै निरन्तर रहने हुनाले बाढी र डुवान हुने क्षेत्रहरुमा अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।’
गत वर्षको बाढी र पहिरोको क्षतिको पुननिर्माण भइनसक्दै, भत्किएका सडक साविकमा आइनसक्दै यसवर्ष पनि मौसमी विपद् आएको छ । यो विपद्ले कति ठूलो क्षति पुर्याउँछ अहिले नै अनुमान छैन। तर यसपटक विगतको जस्तो मनसुनी प्रणाली र त्यसपछि आउने जोखिमबारे नागरिक सूचनाविहीन हुने अवस्था चाहिँ रहेको छैन । किनकी यसपटक सरकारले प्रभावकारी सूचना प्रवाह प्रणाली सक्रिय बनाएको छ ।
दशैं पर्व मनाउन गाउँ गएकाहरू शहर फर्किन नपाउँदै सुरक्षा खतराबारे सूचित गरिएको थियो । राज्यका विभिन्न संयन्त्रले दशैं आसपासदेखि नै भनिरहेका छन्– असोज १७ गतेदेखि असोज २० गतेसम्म लामो दूरीको यात्रा नगर्नू।
सामाजिक सञ्जाल प्रयोगकर्ता सीबी अधिकारी ‘सरकार भएको अनुभूति’ भएको बताउँछन्। पेशाले सरकारी कर्मचारी उनी नागरिकसम्म एकपछि अर्को निरन्तर सूचना प्रवाह हुँदो जनधनको क्षति हुनबाट रोकिन सम्भावना रहेको बताउँछन्।
यसपटक ठूलो पानी पर्छ भनेर मौसमविद्ले अनुमान गरे । सरकारले जोखिम हुन सक्ने राजमार्गमा राती गाडी चलाउन बन्द गर्यो । प्रधानमन्त्री कार्यालयदेखि स्थानीय तहसम्मले एउटै प्रकारको सुचना प्रवाह गरिरहेका छन् । मोबाइलमा फोन गर्दा पनि बाढी/पहिरोको सूचना बजेको छ।
मिडियाहरुले पल–पलको अपडेट दिइरहेका छन् ।वर्तमान सरकारले विगतबाट पाठ सिकेको अधिकारीको बुझाइ छ । उनी लेख्छन्, अघिल्लो वर्ष बाढी पहिरोमाधेरैले ज्यान गुमाउँदा तत्कालीन प्रधानमन्त्री विदेशमा थिए, पछि उनले भनेका थिए– यति ठूलो बाढी पहिरो आउला भनेर अनुमान नै थिएन।’
यसवर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नै विपद्बारे पूर्वसूचना प्रवाहमा निरन्तर जुटिरहेको छ । आफैँ नागरिकलाई अपिल गर्नेदेखि लिएर राज्यका अन्य संयन्त्रलाई प्रभावकारी परिचालनामा जुटेको छ । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार साँझ भिडियो सन्देश जारी गर्दै विपद्बाट सावधानी अनपाउन र उद्धार राहतमा सक्रिय हुन सरकारी निकायहरुलाई निर्देशन दिइन् ।
फिल्डमा सरकार
दशैंको बिदा सकिएर नागरिक सहर फर्किने बेला हो यो । यो बेला सवारी चाप बढ्ने हुँदा दुर्घटनाको खतरा ज्यादा हुनसक्थ्यो । स्थानीय प्रशासनले सकेसम्म नागरिकलाई जहाँ रहेको हो त्यहीँ राख्ने प्रयास गरेका छन् ।
यसअन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यका सवारी भित्रन र बाहिरिन तीन दिन रोक नै लगाएको छ । प्राधिकरणले यो निर्णय शनिबार बिहान १० बजेतिर गरेको हो । लामो दुरीमा यात्रामा निस्केकाहरूका लागि स्थानीय जिल्ला प्रशासन कार्यालयहरूले होल्डिङ स्थान तय गरेर यात्रामा रहेका सवारीलाई सुरक्षित स्थानमा राख्ने कोसिस गरेका छन् ।
बीपी राजमार्गमा धुलिखेल हुँदै गएका सवारी साधन काभ्रेभन्ज्याङमा होल्ड गरिए । चितवनबाट काठमाडौं आउन लागेका सवारी उतै होल्ड गरिए । राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन पनि गृह मन्त्रालयले सबै स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
सरकारले विभिन्न राजमार्गमा परेको अविरल वर्षा र पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देश नै गरेको छ ।
विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका निर्देशक दिनेश प्रसाद भट्टले भनेका छन्, ‘आवश्यक पर्ने सबै खाद्यान्न व्यवस्थाका लागि सीडीओमार्फत स्थानीय प्रशासनमार्फत जानकारी गराउने निर्णय भएको छ ।,’ यसअनुसार सूचना प्रवाह गरिएको छ ।
अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेका बेला, विभिन्न राजमार्गहरू अवरुद्ध बनेका बेला सरकारको तदारुकताको केहील प्रसंशा पनि गरेका छन् ।काठमाडौं आवातजावतमा रोक लगाएर ठूलो जोखिम कम गरेता पनि काठमाडौं उपत्यकाभित्रै पनि जोखिममा छ ।
बागमती खोला करिडोरका बस्तीहरू जोखिममा परेका छन् । यो बेला काठमाडौं महानगरपालिका, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राज्यका अन्य विपद्सँग सम्बन्धित निकायहरू फिल्डमा खटिएका छन् ।काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बस्तीलाई सुरक्षित स्कुलहरूमा सारेको छ ।
महानगरपालिकाले खोला छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका कुन–कुन विद्यालयहरूमा स्थानान्तरण गर्ने भनेर लिस्टिङ नै गरेर सूचना प्रवाह गरेको छ ।
महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार, बागमती, विष्णुमती लगायतका खोलाहरूको पानीको सतह निगरानीमा राखेर थली, बनेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडा सदस्यहरूमार्फत समन्वय गरी विद्यालयहरू आश्रयस्थलका रूपमा पहिचान गरिएका छन् ।
सडक भासिएका क्षेत्रहरूमा समेत महानगरसहितका प्रहरीहरू खटिएका छन् ।यसका साथै विपद प्रतिकार्यमा सात हजार बढी सशस्त्र प्रहरी परिचालन भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं विपद प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीका अनुसार ६३ जिल्लामा माइकिङ गरेर सुरक्षित रहन नागरिकहरू आह्वान गरिएको छ ।
२६ वटा विपद् प्रतिकार्य वेश तयार गरिएको छ । ९ वटा विपद् प्रतिकार्य वेश यस अगाडि नै रहेका थिए । यी सबै वेशमार्फत काम भइराखेको छ । ९९० जना स्वयमसेवक तयार गरिएको छ । उनीहरूलाई १८ दिने तालिम दिएर तयारी अवस्थामा राखिएको हो ।
उद्धार उपकरणहरू समेत तयारी अवस्थामा राखिएको छ र आवश्यकता अनुसार तुरुन्तै प्रयोग गर्न सकिने केसीले जानकारी दिए ।
२४ सै घण्टा तैनाथ
विपद्का बेला स्थानीय सरकारका साथै जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को भूमिका अति महत्वपूर्ण हुन्छ ।संघीय नीति अनुसार नागरिकलाई राहत, उद्धार र व्यवस्थापनको काम सिडिओमार्फत हुन्छ । विपद्का बेला सिडिओलाई २४ सै घण्टा तैनाथ राखिएको छ ।
सीडीओ तैनाथ भएपछि उस अन्तर्गत रहने कर्मचारीहरू समेत तैनाथ हुने भए । यसले विपद्का बेला हुन सक्ने खतरालाई कम गर्न मद्दत गर्दछ भने नागरिकले खोजेका बेला सुरक्षा निकाय भेटाउन सक्नेछन् ।
झरी र बाढीमा फसेकाले सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएका छन् । जसमार्फत नागरिकले आफ्नो समस्या सिधै सिडिओसँग राख्न सक्दछन् ।
यसका साथै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू समेतलाई संघीय सरकारले अनिवार्य रुपमा कार्यस्थल रहन भनेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसारसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर आ–आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन भनिएको छ ।
कार्यस्थल पुगेर पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देश गरिएको छ ।संघीय मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेले निकालेको सूचनामा भनिएको छ, ‘सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न÷गराउन हुन अनुरोध छ ।’
सरकारले अन्य पूर्व तयारीका काम समेत गरेको छ । गृह मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई निजी हेलिकप्टरहरूलाई तत्काल प्रयोगका लागि तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ ।
भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनस्र्थापना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबीच भएको सम्झौतालाई गृहले स्मरण गरेको छ ।
युनिफाइड कमाण्ड टिम
विपद्का बेला सरकारसँगै अन्य सरोकारवालाहरूले सक्रियता देखाएका छन् । बागमती प्रदेश सरकारले विपद्को जोखिमलाई मध्यनजर गर्दै ‘युनिफाइड कमान्ड टिम’ नै गठन गरेको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आकस्मिक बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय गरी ‘युनिफाइड कमान्ड टिम’ बनाएको हो । जसले विपद्को समयमा उद्धार र राहतका लागि द्रुत गतिमा काम गर्नेछ । टोलीलाई विपद्को समयमा स्रोत–साधन परिचालन, उद्धार कार्यमा समन्वय र तत्काल निर्णय लिन जिम्मेवारी दिइएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारी वर्षाले सिर्जित विपद्को अवस्थामा सरकारले जारी गरेका सूचनाहरू व्यापक रूपमा फैलाउन अपिल गरेका छन् ।
सम्भावित विपदको समयमा आफ्नो ख्याल गर्दै आफ्ना–आफ्ना ठाउँमा सक्रिय भएर उद्दार, राहत र सेवामा खटिन आम नेपाली, कांग्रेसका नेता÷कार्यकर्ताहरू र स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिहरूलाई अनुरोध गरेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पनि विपद्को बेला सचेत रहन र आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आवश्यकता अनुसार राज्यका सरोकारवाला निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीहरूलाई विशेष अनुरोध गरेका छन् ।
नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका १० हजार बढी सदस्य बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा खटिने भएका छन् ।
वाईसीएल नेपालका अध्यक्ष पुष्प ओलीले विज्ञप्ति निकालेर देशव्यापी उद्धार तथा राहत अभियान सुरु गर्ने घोषणा गरेका हुन् ।
आम जनता पार्टी (आजपा)को सम्पुर्ण सदस्यहरू उद्धार, राहत, सहयोग एवं सहजीकरणमा खटिने निर्णय लिएको छ ।पार्टी प्रवक्ता चन्द्रभुषण साहले विज्ञप्ति निकालेर सिंगो पार्टी पंक्ति उद्धार, राहतमा परिचालित हुने जनाएका छन् ।
अन्य राजनीतिक दलहरूले पनि विपद्का बेला सक्रिय हुन पार्टी पंक्तिलाई निर्देश गरिरहेका छन् ।
प्रतिक्रिया 4