+
+
Shares

मधेश प्रदेश सरकारबारे कांग्रेस-एमालेको निर्णय कुर्दै महन्थ ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १६:२६

१९ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेश सरकारको नेतृत्वका लागि चाहना राखेको छ । यसका लागि लोसपाका अध्यक्ष महन्थ ठाकुर नै सक्रिय छन् ।

दशैं अगाडि ठाकुर आफैं मधेश प्रदेश गएर छलफल चलाएका थिए । पार्टीभित्र र अन्तरपार्टी छलफल समेत गरेर उनी काठमाडौं फर्किएका छन् ।

तर, शनिबारको वर्षाले ल्याएको बाढी र पहिरोका कारण मुलुकको ध्यान विपद्प्रति छ । यो बेला ठाकुरले नेपाली कांग्रेस र नेकपा एमालेसँग संवाद गर्न पाएका छैनन् ।

‘प्रदेशस्तरमा केही छलफल गरेर आएको हुँ । तर यहाँ आएपछि कसैसँग छलफल/सम्पर्क हुन सकेको छैन,’ ठाकुरले अनलाइनखबरसँग भने, ‘उहाँहरू (कांग्रेस–एमले)ले के निर्णय दिनुहुन्छ । भेटघाट भएको छैन ।’

यही असोज ८ गते नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससँगै मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीका नेता सतिशकुमार सिंह अल्पमतमा परेका छन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अब बन्ने गठबन्धनबाट सरकारको नेतृत्व लिने प्रयासमा लोसपा लागेको हो ।

‘कांग्रेस र एमालेले गठबन्धन बनाएर नेतृतव गर भन्दा तयार छौं,’ लोसपा अध्यक्ष ठाकुर भन्छन्, ‘होइन कसरी जाने भने हो भनेर छलफल भएको छैन ।’

अध्यक्ष ठाकुरका अनुुसार कांग्रेस र एमाले बाहेकको सरकार बनाउने विषयमा समेत छलफल चलेको छ । उनका अनुसार कांग्रेस र एमाले बाहेक पाँच वटा पार्टी मिले सरकार बन्न नसक्ने अवस्था प्रदेश सभामा छ ।

१०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसद आवश्यक पर्छ । कांग्रेस (२२) एमाले (२५) मिल्दा ४७ मत पुग्छ ।

बाँकी दलहरू जनता समाजवादी पार्टी नेपालका १९ जना, जनमत पार्टीका १३ जना छन् । लोसपा र माओवादी केन्द्रका ९/९ जना छन् । नेकपा एकीकृत समाजवादीका ७ जना छन् । नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक/एक जना छन् ।

‘छलफलमा सम्भावनाको कुरा अन्तर्गत त्यो (कांग्रेस र एमाले बाहेकको सरकार बनाउने) कुरा आएकै हो,’ ठाकुर भन्छन्, ‘पाँच पार्टी मिलेर पुग्छ पनि ।’

आसोज ८ गतेको ३० दिनभित्र अर्को सरकार बन्छ भन्ने प्रश्नमा अध्यक्ष ठाकुर जवाफ फर्काउँछन्, ‘भन्न सकिन्नँ । अहिलेको सरकार निरन्तर हुन चाहन्छ । अर्को सरकार बन्ने वातावररण बनेन भने प्रदेशसभाबाट विश्वासको मत नपाए पनि अहिलेकै सरकार रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?