+
+
Shares

हेटौंडा–काठमाडौं जोड्ने दुई वटा सडकमा छैन अवरोध, सवारी सञ्चालनमा भने रोक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते २०:२५

१९ असोज, हेटौंडा । बागमती प्रदेशको मुकाम हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने मुख्य चार सडकमध्ये दुई वटामा अवरोध छैन ।

१७ र १८ असोजमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले सडक अवरुद्ध हुँदा हेटौंडा र काठमाडौंको सम्पर्क टुट्न पुगेको थियो । हेटौंडा पालुङ हुँदै धादिङको नौबिसे जोड्ने त्रिभुवन राजपथ, हेटौंडा–ठिंगन–सातदोबाटो जोड्ने कान्तिलोकपथ र हेटौंडा–कुलेखानी–फर्पिङ–बल्खु जोड्ने दुई वटा छोटोमार्गले काठमाडौंलाई जोडेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आज आइतबार साँझसम्म दुई वटा सडकमा अवरोध छैन । तर अत्यावश्यकबाहेकका सवारीसाधनलाई हिँड्न रोक लगाइएको छ । प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले लामो दूरीको त्रिभुवन राजपथ र छोटोमार्गअन्तर्गत् कुलेखानी–फाखेल–फर्पिङ–बल्खु सडकमा अवरोध नभएको हो ।

कुलेखानी–फाखेल–फर्पिङ–बल्खु खण्डको खानीखेत प्रहरी चौकी नजिकै गएको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको उनले जानकारी दिए । उनकाअनुसार कान्तिलोकपथ र छोटोमार्गअन्तर्गत्कै कुलेखानी–सिस्नेरी–दक्षिणकाली–बल्खु खण्डमा अवरोध कायमै छ ।

कान्तिलोकपथ खण्डमा मकवानपुरको बकैया गाउँपालिका–११ सिमात घुम्तीमा पहिरो खसेर अवरुद्ध भएको डिएसपी बोगटीले जानकारी दिए । कुलेखानी–सिस्नेरी–दक्षिणकाली–बल्खु खण्डको सिस्नेरी बजारमा बाढीले सडक कटान गरेको छ । ‘सिस्नेरी खोलाले सिस्नेरी बजारको सडक कटान गरेको छ । त्यो भोलिसम्म बनाउने गरि काम भइरहेको छ,’ उनले भने ।

त्रिभुवन राजपथ र कुलेखानी–फाखेल–फर्पिङ–बल्खु खण्डमा अवरोध नभएपछि सवारी सञ्चालनमा रोक लगाइएको डिएसपी बोगटीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले १८ देखि २० गतेसम्म हेटौंडा–काठमाडौं जोड्ने सडकमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय शनिवार गरिसकेको थियो । काठमाडौंतर्फ हिँडेका सवारीलाई हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलबाटै प्रहरीले फिर्ता पठाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?