+
+
Shares
कुइनेटो :

आमजनका दिलको ‘कठै’ किन ‘कट्’ भयो ?

देउवा, दाहाल र ओलीले पार्टी त मौजा बनाएकै थिए, देश पनि पालैपालो मौजाभोग गरे ।

नवीन विभास नवीन विभास
२०८२ असोज २१ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा कांग्रेस, एमाले र माओवादीका तीन शीर्ष नेताहरुले पालैपालो प्रधानमन्त्री भएर देशको शासन गरेका छन्।
  • भदौ २३ गते जेनजी विद्रोहमा तीन नेताका आवासमा आगजनी भएको थियो र उनीहरु सेनाको हेलिकप्टरबाट ज्यान जोगाएका थिए।
  • विद्रोहपछि सर्वसाधारणले नेताका आवासमा भएको आगजनीमा कुनै समवेदना जनाएका छैनन् र 'कठै' शब्द आम जनताका मुखबाट सुनिएको छैन।

जेनजी विद्रोहपछि तीव्र ‘कट्’ भएको ‘कठै’ खोज दशैं विदामा घोराही जाँदा र घोराही पुगेपछि पनि जारी छ । काठमाडौंका फल्चा, सार्वजनिक सवारी साधन, चियापसल, साँघुरा गल्ली, खोलाकिनारका झुप्राहरू कहीं कतै पनि आमजनका दिलबाट झर्ने कठै सुनिएन । दाङका चौपारी, चोक, चियापसल, थारू गाउँ, दलित बस्ती कहीं कतै पनि कठै सुनिएन ।

तपाईंलाई थाहा छ, आम दिलबाट किन कठै कट् भयो ? कहाँ कट् भयो ? कसरी कट् भयो ? के ‘हुनुहुनामी‘ भएर आमजनका दिलबाट स–साना दुःखमा ओर्लने ‘कठै’ नै ‘कट्’ भयो ?

०००

गणतन्त्र सहितको लोकतान्त्रिक राजनीतिक व्यवस्था भएको नेपालमा कहिले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए, कहिले एमाले अध्यक्ष केपी ओली त कहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तीन दले तीन ‘बड्डा’ पालैपालो देशको कार्यकारी प्रमुख प्रधानमन्त्री भए । प्रधानमन्त्री हुने तीनमध्ये कम्तीमा दुईले तमसुक लेख्दै प्रधानमन्त्री भए । कहिले तमसुक देउवा र दाहालले लेखे । कहिले तमसुक देउवा र ओलीले । कहिले तमसुक दाहाल र ओलीले लेखे । पछिल्लो तमसुक ओली र देउवाको थियो ।

तीन नेता यसरी प्रधानमन्त्री भए कि, नेपाल तिनका मौजा हो । नेपाल तीन नेताले ‘मौजा’ बनाएर ‘मौजाभोग’ गरे । दाहाल, ओली दुवै ‘ह्याट्रिक‘ प्रधानमन्त्री थिए भने देउवा ‘डबल ह्याट्रिक‘को मुखमा थिए । मुखमा थिए भन्नुको कारण थियो, ओलीपछि देउवा प्रधानमन्त्री बन्ने तमसुक नै थियो । २०७९ को चुनाव अनुसार तीन दल देशका पहिलो, दोस्रो र तेस्रो दल थिए ।

प्रधानमन्त्री मात्र थिएनन्; देउवा, ओली र देउवा आफ्ना पार्टी प्रमुख पनि थिए । तेस्रोपालि अध्यक्ष बन्न ओलीले भर्खर सम्पन्न विधान महाधिवेशनबाट विधान नै फेरेका थिए । देउवा दोस्रो कार्यकालमा थिए । दाहालको त के कुरा गर्नु ! ३८ वर्षदेखि पार्टी प्रमुख थिए ।

नेपाली राजनीतिका ब्रह्मा, विष्णु र महेश्वर दरिएका तीन नेता । तिनलाई लाग्थ्यो, तिनका आज्ञा विना नेपाली राजनीतिको पात समेत हल्लिन्न, पार्टीभित्रको के कुरा ! ओली भनेको एमाले त एमाले भनेको ओली थियो भने दाहाल भनेको माओवादी र माओवादी भनेको दाहाल ।

पाकाहरूले भन्थे– अति गरे खति हुन्छ । तीनै सुप्रिमोका ‘अति‘ गर्भबाट भदौ २३ गते जेनजी विद्रोह विस्फोट भयो । भलै विस्फोटनमा तीन नेतालाई गरेको ‘गणेशगिरीबाट उपप्रधानमन्त्री र मन्त्री पड्काएका ‘तरमारा पुस्ता’को पनि विशेष योगदान थियो । तीन नेताभन्दा कम्ता योगदान होइन, स्थायी सरकार भनिने ‘भ्रष्ट कर्मचारीतन्त्र’को पनि ।

परिवारवाद, लुटतन्त्र, घुसतन्त्रले आक्रोश यति चुलिएछ कि, जेनजी विद्रोहमा तीन सुप्रिमोका आवास पनि आगजनी भयो । गाउँघरमा भने जस्तै ‘हुनुहुनामी’ भयो । डबल ह्याट्रिक गर्न ठिक्क परेका देउवा र बहालवाला परराष्ट्रमन्त्री आरजु राणा देउवा आफ्नै भव्य महलमा कुटिए । ज्यान जोगाउन सेनाको हेलिकप्टरबाट कुलेलम ठोके । तीन सुप्रिमो दुर्दान्त तपाईंमध्ये कतिले भिडियोमा देख्नुभयो होला, कति त सहभागी नै हुनुभयो होला ।

देशै मौजा बनाएका मौजावाल नेताका आवासमा आगजनी हुँदा, हेलिकप्टरमा भागेर ज्यान जोगाउँदा तपाईंलाई पनि लागेको होला, पहरा पनि रसाउनुपर्ने । नेपाली मन पग्लिनुपर्ने । नेपालको राजनीतिक आन्दोलनमा तीन नेताका योगदान सम्झेर भावुक हुनुपर्ने । समवेदनाको सागरमा चुर्लुम्म डुब्नुपर्ने । जनमन जलेर खरानी हुनुपर्ने ।

सर्वसाधारणका सुख–दुःखमा तीन सुप्रिमो सामेल भएका पल सम्झँदै सर्वसाधारणका मुखबाट बगाले ‘कठै’ झर्नुपर्ने । ओक्खो देउवाले, दाहालले र ओलीले मलाई यस्तो दुःख पर्दाखेरि यस्तो सहयोग गर्ने नीति बनाएर दुःखको सागर पार गराएका थिए भनेर सर्वसाधारण मन पानीपानी हुनुपर्ने हो ।

आफू जलेर भए पनि सुप्रिमोका आवासमा पानी हाल्न जानुपर्ने हो । टाढा भएका सर्वसाधारण, आगो निभाउन जान त सम्भव भएन रे, तिनका दुःखमा दुई अक्षरे ‘कठै’ त कहनुपर्ने हो । आमजनका मुखबाट कतै कठै झर्छ कि भनेर मन तिर्खाएको छ । तर यो कानले सुनेको छैन । कोही सर्वसाधारणले तीन सुप्रिमो आवासमा आगजनी भएकोमा ‘कठै बरै’ कहेको तपाईंले सुन्नुभयो ?

०००

राजधानीका सार्वजनिक सवारीमा सवार हुँदै सर्वसाधारणले सुनाउने तिनका सुखदुःख सुन्न थालेको दुई दशक नाघेछ । कीर्तिपुर विश्वविद्यालयमा पढ्ने विद्यार्थीले नाउँ राखिदिएको ‘लाउडा’ नामक बसमा कीर्तिपुर–रत्नपार्क गर्दा माओवादी युद्ध उत्तराद्र्धमा थियो ।

कहिले कुन जिल्ला सदरमुकाम माओवादीले हानेको कुरा, कहिले कुन पुलिसचौकी आक्रमण जस्ता घटनामाथि सर्वसाधारणका धारणा र टिप्पणीबाट सार्वजनिक थलामा सर्वसाधारणलाई सुन्न सुरु गरेको थिएँ । माओवादी, सेना र सरकारप्रति सर्वसाधारणका आ–आफ्ना धारणा थिए । जेनजी पुस्ता जन्मनुभन्दा एक वर्षअघि अर्थात् १९९६ देखि माओवादीले युद्ध थालेको थियो ।

माओवादी र खाओवादी आ–आफ्ना कोणबाट व्याख्या गर्थे । बढीजसो माओवादीतिर ढल्केका हुन्थे । कारण थियो, सरकारी ज्यादती तीव्र थियो । माओवादी त विद्रोही थियो । राज्य पक्ष तिनै विद्रोहीको पनि अभिभावक थियो । शायद यसैले पनि आमजन विद्रोहीतिर ढल्केका हुँदा हुन् । भलै शाहीकालमा माओवादीतिर ढल्काइलाई बिम्बमा व्यक्त गर्थे ।

सर्वसाधारणका ढल्काइ र भोगाइका कोण सर्वसाधारणका दुुःखमा दुख्थे । कुनै कुनाको सर्वसाधारण माओवादी नाम मारिए वा घाइते भए वा पक्राउ परे, प्रहरीको नाउँमा सामान्य प्रहरी मारिए वा घाइते भए वा केही तलमाथि हुँदा सर्वसाधारण कठै कहन्थे । तिनका समवेदना यसरी पोखिन्थ्यो कि, आफूलाई सहज बनाउन गाह्रो हुन्थ्यो ।

रोल्पा रुकुमका नाउँमा होस् कि गैरखसआर्य अनुहारलाई राज्य पक्षले गर्ने माओवादी व्यवहारप्रति तिनले गुनासो गर्थे । दुःख व्यक्त गर्दै कठै भन्थे । तिनले बिम्बात्मक ढंगले नै यिनका दिन धेरै छैनन् भनेर टिप्पणी गर्थे । त्यति गाह्रो समयका बीच तिनका समवेदना कहिले तल त कहिले माथि हुन्थे । कहिले आक्रोश त कहिले दुखाइले विचलित पनि हुन्थे ।

माओवादीले जनतामाझ देखाएका सुखका दिन फिर्ने सुन्दर सपना समाएर त सर्वसाधारण मर्न र मार्न तयार भएर युद्धमा लागेका थिए ।

ज्ञानेन्द्र सरकार विरुद्ध दोस्रो जनआन्दोलन भयो । गिरिजाप्रसाद कोइराला आफैं रत्नपार्कमा जान थाले । पचासको दशकपछि कोइराला लगायत संसदीय दल र तिनका नेता यति कुख्यात भइसकेका थिए कि, कसले पत्याउनु । दुईचार जना रत्नपार्कमा भेला हुन थाले ।

शाही शासनबाट उकुसमुकुस नभएको होइन, कोइरालाहरू पनि आफ्नो पालामा शाहीलाई पछ्याएकाले पत्याएका थिएनन् । पत्याउनु पनि कसरी ? कोइराला सहित संसदीय पार्टी नेताले अब चेते बिराएँ भनेर कान समाते ।

अब त सुध्रिए भनेर आन्दोलनमा आमजन खनिन थाले । विद्रोही माओवादी पनि मिसिएपछिको के कुरा ? त्यसबेला सार्वजनिक थलामा सुध्रिएलान् कि नाइ भनेर सर्वसाधारणले द्विविधा पोखेका थिए ।

शाही शासन भन्दा त सुध्रिए भने कसो राम्रो नहोला भन्थे । नभन्दै शाही सरकार ढल्यो । संसदीय लोकतन्त्र फर्कियो । संसदीय गणतन्त्र आयो । त्यसबीचमा भएका विभिन्न घटनावलीबारे सर्वसाधारणका अभिमत सार्वजनिक सवारीमै सुनें ।

सर्वसाधारणका चासो र आशा थियो, माओवादीले केही गर्छ । यसका कारण थिए, माओवादीले जनतामाझ देखाएका सुन्दर सपना । सर्वसाधारणका सुखका दिन फिर्ने सपना । तिनै सपना समाएर त सर्वसाधारण मर्न र मार्न तयार भएर युद्धमा लागेका थिए ।

सार्वजनिक थलामा सर्वसाधारणले माओवादीप्रति बुनेका सपना साँच्ची सुन्दर थिए । तिनलाई लागेको थियो, यति रगत बगेर आएको लोकतन्त्र र गणतन्त्रमा हुने शासनमा सर्वसाधारण सुखको सास नफेरे कहिले फेरम्ला ? यसै भन्थे ।

कांग्रेसमा कोइराला जुग अस्तायो । शेरबहादुर देउवा उदाए । एमालेमा ओली आए । माओवादीमा दाहाल त छँदैथिए । देउवा, दाहाल र ओली तीन नेताले पार्टी त मौजा बनाएकै थिए, देश पनि पालैपालो मौजाभोग गरे । त्यसबेलाका आमजनका उकुसमुकुस जात्तिबित्ती कहालीलाग्दा सुनें ।

परिवारवाद, गुटवाद, घुसवाद, लुटवाद देखेर आमजन वाक्कदिक्क थिए । हामीलाई हातले त के, काठले पनि कोही माइकालालले हल्लाउन सक्तैन भन्दै तीन नेताले सर्वसाधारणका सुखदुःख कुल्चेर सत्ता ‘मोज’ गरे । राजनीतिको सामान्य ‘र’ पनि नराखेर ती यति ‘मोजमग्न’ भए कि, तिनका कारणले तिनका पार्टीलाई पनि घृणा गर्न थाले ।

नेता जतिलाई चोर, भ्रष्ट, परिवारवादी भनेर भाष्य बन्यो । सार्वजनिक थलामा सर्वसाधारणहरूका उकुसमुकुस जेनजी विद्रोहको पूर्वसन्ध्यासम्म पुग्दा थाम्न नसकिने गरी आक्रोशित भइसकेको थियो । आमजनको मूल कुरो थियो, सुशासन भएन । भ्रष्टाचार बढ्यो । परिवारवाद भयो ।

नातावाद कृपावाद छायो । देशमा रोजगार नहुँदा देश नै रित्तियो । देश युवाविहीन हुन थाल्यो । र, राजनीतिक दलमा पनि मुख्यतः कांग्रेस, एमाले र माओवादी दल र तिनका सुप्रिमोप्रति चर्को आक्रोश थियो । नेपाल र नेपालीले जस्तो नियति भोगिरहेका छौं, त्यसको जिम्मेवार यिनै नेता हुन् भन्ने तिनका निचोड थियो । भलै ती नेताभन्दा कम बदनाम थिएन, नेपालको कर्मचारीतन्त्र ।

जेनजी विद्रोहपछि आमजनका धारणा पनि सार्वजनिक थलामा सुनें । सुन्नेक्रम जारी छ । बस, माइक्रो र टेम्पो जस्ता सार्वजनिक सवारीमा सर्वसाधारणलाई सुनें । फल्चामा सुस्ताइरहेका बूढाबूढीका धारणा सुनें । गल्लीमा भरियालाई सुनें । चियापसलमा चिया पिइरहेका मजदुरलाई सुनें ।

फुटपाथमा हिंडिरहेका सर्वसाधारणलाई सुनें । फल्चा, सडक, गल्ली, चोक, चियापसल र सार्वजनिक सवारीमा सवारीरत सर्वसाधारणहरूलाई सुनें । सर्वसाधारणलाई सुन्नु भनेको सर्वसाधारणका सोचाइ, तिनका अभिमत बुझ्ने कोसिस थियो ।

हाम्रो समाजको आधारभूत वर्गको सपना सम्झन प्रयास थियो । सर्वसाधारणले आफ्नो र आफ्नो समाज सम्बन्धमा उनेको उकुसमुकुस बुझ्ने चाह थियो । जरा सम्झन सार्वजनिक थलामा सर्वसाधारण विश्वविद्यालय नै थिए, हुन् ।

जेनजी विद्रोहपछि सर्वसाधारणले सार्वजनिक थलामा बोल्ने मूल विषय तीन शीर्ष नेताका र तिनका आवासमा भएको लुटपाट र आगजनी थिए । आगजनीपछि शीर्ष नेता र तिनका परिवारले के खाए होलान् ? के लगाए होलान् ? कहाँ बसे होलान् ? कहाँ लुके होलान् ? सेनाको पहराभित्र कसरी बसे होलान् ? तिनको स्वास्थ्य कस्तो होला ? तिनका जिन्दगीको सञ्चोबिसञ्चो बारे सार्वसाधारण चुइँक्क चुँ पनि गरेनन् ।

देउवादम्पती कुटिएका थिए । तिनका स्वास्थ्यस्थितिबारे पनि चिन्ता जनाएनन् । तिनका कति सम्पत्ति नष्ट भयो होला ? त्यसको हिसाबकिताब पनि गरेनन् ।
आमजनले त ओली, दाहाल र देउवा सुप्रिमोका विगत खोतले ।

भने, ‘देउवा, ओली र दाहाल हामी जस्तै सर्वसाधारण थिए । सार्वजनिक सवारी साधन चढ्ने हामी जस्तै सर्वसाधारण । फुटपाथमा हिंड्ने हामी जस्तै । चियापसलमा चिया पिउने हामी जस्तै आम मानिस ।’

यति रगत बगेर आएको लोकतन्त्र र गणतन्त्रमा हुने शासनमा सर्वसाधारण सुखको सास नफेरे कहिले फेरम्ला ? सर्वसाधारण यसै भन्थे ।

सुदूरपश्चिमको सुदूर गाउँका सर्वसाधारणका छोरा देउवाको विगत सम्झिए । सुदूर पूर्वका सामान्य परिवारका ओलीको विगत सम्झिए । कास्कीबाट चितवन झरेका मध्य नेपालका दाहालको विगत सम्झिए । ती तीन नेता आजको जस्तो सम्भ्रान्त थिएनन् । भलै नेपालको जात व्यवस्थामा आधारित समाजमा ‘संरचनागत लाभ’ग्राही अर्थात् शासक खलक भने थिए ।

त्यसपछि तिनले सोधे, ‘हिजो ती कस्ता थिए र आज हेर्दाहेर्दै कस्ता भए ?’ एकाएक तिनका जीवनशैली राजा र राणा कसरी भए ? आमजन छक्क मात्र थिएनन्, आक्रोशित थिए ।
त्यसपछि तिनले खोजे– आमजनका सुखदुःख सम्झने तिनले कुनै नीति बनाएका थिए ? नभेटेपछि स्यालको सिङ सम्झिए । त्यसपछि तिनका बोली र व्यवहारमा व्यक्त दम्भ पनि सम्झिए । तिनले जनमासमाझ देखाउने अहंकार सम्झिए ।

आरजु र देउवापुत्र जयवीरसिंह सम्झिए । ओलीको ‘घोर दक्षिणपन्थी‘ चिन्तन र ‘सामन्तवादी बोली’ त सम्झने नै भए । दाहालको सामन्तवादी जीवनशैली र सर्वहारा भाषण सम्झेर हाँसे । कम्युनिष्ट क्रान्तिकारीदेखि भैंसी पुजेको र भारतमा पहेंलो बस्त्रधारण सम्झे ।

देउवा, ओली र दाहालले लगाएका शिरदेखि पाउसम्मका लुगा, घडी, जुत्ता, कोट, टाइका हिसाबकिताब गरे । तिनका खानपान र उठबसका नालीबेली छुटेनन् । जयवीरसँगै दाहालपुत्री गंगा र नातिनी स्मिताका झोला, जुत्ता, घडी, सारी त छुटेनन् ।

नेपो किड्स, नेपो बेबी जस्ता सामाजिक सञ्जालमा चलेका ‘ट्रेन्ड’ सम्झिए । एकापसमा सोधे, ‘नेताका पत्नी, छोरी, नातिनी, छोरा, ज्वाइँले खाए लाएको कसको पैसाले हो ? हाम्रा आफन्तले अरबको घाममा बगाएको रगत र पसिनाको रेमिट्यान्सले होइन ?’

नेपो बेबी जस्ता ट्रेन्डसँगै तिनले कांग्रेसको तरुण दल, एमालेको युवा संघ र माओवादीको वाईसीएल पनि सम्झिए । त्यसपछि तिनले बालकोट ओली घर र च्यासल एमाले मुख्यालय जल्दा युवा संघ सम्झिए । बूढानीलकण्ठ देउवा दरबार जल्दा, देउवा आरजुले कुटाइ खाँदा र सानेपा कांग्रेस मुख्यालय जल्दा कांग्रेसको तरुण दल सम्झिए।

माओवादी सुप्रिमो दाहाल आवास खुमलटार, पेरिसडाँडा माओवादी मुख्यालय जल्दा, दाहालका दुई पुत्रीका घर जल्दा वाईसीएल सम्झिए । त्यसपछि एकापसमा सोधे, ‘नेपो बेबीकै कारणले होला नि आफैंले बनाएका लडाकु दल पनि सुप्रिमो जोगाउन नगएको ?’

त्यसपछि तिनले सुप्रिमोहरू ज्यान जोगाउन हेलिकप्टरमा उडेर सेनाको शरण परेको सम्झे । त्यसपछि तिनले कामना गरे, ‘आम नेपाली र देश हरिबिजोग बनाएकोमा यिनीबाट असुलउपर गरेको नदेखी हाम्रा यी आँखा बन्द नहोऊन् ।’

सार्वजनिक थलामा सर्वसाधारणले तीन नेता आवाससँगै जलेका सिंहदरबार, संसद् र सर्वोच्च अदालत सम्झे । तीन संस्थामा पस्न चाहिने ‘पास’ सम्झे । भित्रबाट पास पठाए मात्र पस्न पाइने प्रावधान । सर्वसाधारण र ती तीन संस्था बीचको दूरी हिसाब गरे ।

न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका जस्ता थला सर्वसाधारणका थिए कि कसका ? प्रश्न गरे । ती सर्वसाधारणलाई पास पठाइदिने कोही थिएनन् । लोकतन्त्रवाल गणतन्त्रपछि पनि ती थला सर्वसाधारणका लागि ‘राजदरबार’ नै थियो ।

न्यायालयले दिने महँगो न्याय मात्र सम्झेनन्, ढिलो न्याय दिने भन्दै प्रचलित कहावत समेत सम्झिए, ‘ढिलो न्याय दिनु भनेको अन्याय गर्नु हो ।’ पैसावालले न्याय किन्ने न्यायालय भनेर हाम्रो न्यायालय कुख्यात थियो । सर्वोच्च अदालतले जस्तै संसद् र सिंहदरबारले पनि सर्वसाधारणका सुखदुःखसँग सरोकार नराखेको सुनाए । त्यसपछि तीनथलामा अपनत्वबोध नगरेको ‘सार’ सुनाए ।

०००

सुप्रिमो आवास जलेको कुरा सुनाउँदा आम अनुहार उदास थिएनन् । आमजनका आँखा भिजेका थिएनन् । आम मानिसका स्वर काँपेका थिएनन् । आमबोली करुणा र समभावले भिजेका थिएनन् । आमजनका भाव समवेदनाले बुनिएको थिएन । झन् चकित त त्यसबेला भएँ, जब आमजनका अनुहारमा आक्रोश अझै अस्ताएको थिएन ।

त्यसबेला बिजुली झड्का लाग्यो, जब कोही सर्वसाधारणका मुखबाट कठै झरेन । के भएको हो हँ ? नौनारी गले जस्ता भए । आम मानिसका शव्दकोशबाट ‘कठै’ शब्द ‘कट्’ थियो । सुप्रिमो घर जलेकोमा न टेम्पोमा, न बसमा, न फल्चामा, न गल्लीमा, न चोकमा, न सडकमा, न चियापसलमा आमजनका मुखबाट ‘कठै’ सुनियो । सर्वसाधारणका सामाजिक सञ्जाल फेसबुकमा पनि कतै पनि ‘कठै’ सुनिएन।

स–साना दुःखमा दुःखी हुने आमजनको चरित्र हो । आम नेपालीको चलन हो । जति बैगुनी भए पनि दुःखको बेला ‘कठै’ कहने आम नेपालीको चलन नै हो । भलै नेपालीको स्मरण छोटो छ । कुनै पनि कुरा छिटो भुलेर माफी दिने चरित्र नै हो ।

नेपाली आमजन त समवेदना समृद्ध हुन् । बोली बारेको मानिस मरेछ भने पनि आमजन त मलाम जाने संस्कृति हो । बैगुनीलाई गुनले मारेर बैगुनीका दुःखमा ‘कठै’ कहने चलन नै हो ।

फेरि सम्झिएँ, आरजुको कुकुर । देउवा आवासमा कुटपिट भिडियोमा आरजुसँगै कुकुर देखेका थिए । सार्वजनिक थलाका सर्वसाधारणले कुकुरको सञ्चोबिसञ्चो सोधे । आरजुभन्दा सर्वसाधारणका मन कुकुरमा अल्झिएको थियो । आन्दोलनकारीले आरजुलाई कुकुर र उनीमा फरक सोधेका थिए ।

आरजुले फरक छैन भनेकी थिइन् । तर आमजनले आरजु र कुकुरलाई फरक छुट्याए । त्यसबेला फेरि झल्यास्स भएँ, आमजनका समवेदना कहाँ हराएको हो र ? हराएको नै भए त कुकुर चिन्ता गर्थे ?

त्यसबेला बिजुली झड्का लाग्यो, जब कोही सर्वसाधारणका मुखबाट कठै झरेन । के भएको हो हँ ? नौनारी गले जस्ता भए ।

कतिले भिडियोमा देखेको कुकुरको रेस्क्यु भयो कि भएन भनेर सोधे । जलेको घर रुँघेर कुकुर रोइरहेको भिडियोमा देखेका थिए । त्यो कुकुरको चिन्ता गरे । जलेको घर रुँघेर रोइरहेको कुकुरप्रति सहानुभूति मात्र जनाएनन्, त्यसलाई रेस्क्यु भयो कि भएन होला भनेर एकअर्कालाई सोधे ।

ब्रह्मा, विष्णु र महेश्वरका आवास जल्दा आमजनले किन ‘कठै’ पनि भनेनन् ? के आमजन निठुरी भए ? आम मानिसका दिल नदुख्ने भएको हो ? सर्वसाधारणका संसारमा समवेदना समेत सकिएको हो ? आमजनका मन पहर भएको हो ? मन दिलबाट कठै ढोकामा फिट्कुली लगाएको हो ?

नेता जति ‘भ्रष्ट भाष्य’ समाएर आमजनले ‘कठै’को बदला ‘बोलो’ भन्दै किन गाला बजाए ? किन ‘अहिले बल्ल झाल भेटिस्’ भने ? इतिहासमा गरेको योगदानको व्याजको स्याज समेत असुलेर यति ‘हुनु हुनामी’ गरे कि ‘कठै’ शब्द निक्लने ठाउँ पनि बाँकी राखेका थिएनन् ? यति असुले कि, आमजनका मुखबाट सहजै निक्लने कठै पनि बाँकी राखेका थिएनन् ? सर्वसाधारणका समवेदना सागर नै सुकाइदिएका थिए ?

नेपाली आमजनका मुखबाट झर्ने ‘कठै’ कहाँ गयो ? नेता जति ‘भ्रष्ट’ भाष्य कसरी बन्यो ? जेनजी विद्रोहपछि ओली, दाहालका भाषणमा माथिका प्रश्नका जवाफ दिने प्रयास तपार्इंले सुन्नुभएको छ ?

लेखक
नवीन विभास

नवीन विभास लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?