
२३ असोज, काठमाडौं । सल्यानमा जन्ती बोकेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा परी दुलाहा-दुलही सहित १२ जना घाइते भएका छन् ।
शारदा नगरपालिकाको भागाचौरबाट थापाचौर तर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०२-००१ ज.००२१ नम्बरको जिप ज्वालापुरमा अनियन्त्रित भई सडकदेखि २०० मिटर तल खसेको सल्यानका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बाबुराम बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।
दुर्घटनामा परी शारदा नगरपालिका-९ का चेतराम गिरी (दुलाहा) र शारदा नगरपालिका-१० भागाचौरकी २० वर्षीया कमला गिरी (दुलही) घाइते भएका छन् । दुलाह चेतराम र दुलही कमलाको अवस्था भने सामान्य रहेको उनले बताए ।
घाइते मध्ये शारदा नगरपालिका-१० भागाचौर बस्ने ६० वर्षीया गुमी कवर र सोही ठाउँकी १४ वर्षीया शोभा कवरको अवस्था गम्भीर रहेको छ ।
अन्य घाइतेहरूमा शारदा नगरपालिका-१० भागाचौरका १४ वर्षीया हरिकला कवर, १८ वर्षीय प्रविन कवर, १४ वर्षीया रेनुका कवर रहेका छन् ।
यसैगरी १७ वर्षीय हेमराज कवर, २६ वर्षीया कुमारी बुढाथोकी, ४२ वर्षीया प्रमिला गिरी, १५ वर्षीया विमला गिरी, ३३ वर्षीय रूपराल गिरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि जिप चालक सल्यान वनगाड कुपिन्डे नगरपालिका-१२ का २६ वर्षीय हरिबहादुर बुढा भने फरार रहेको उनले बताए ।
प्रतिक्रिया 4