+
+
Shares

७ वर्ष लगाएर बनेको देवघाटको विद्युतीय शवदाह गृह भरतपुर महानगरलाई हस्तान्तरण

गृह निर्माण गरेको सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको गृह भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालमार्फत महानगरपालिकालाई आज हस्तान्तरण गरिएको हो । गृहको सञ्चालन महानगरपालिकाको मातहतमा रहनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १३:४३

२४ असोज, चितवन । झन्डै ७ वर्ष लगाएर देवघाटमा निर्माण गरिएको विद्युतीय शवदाह गृह भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

गृह निर्माण गरेको सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको गृह भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालमार्फत महानगरपालिकालाई आज हस्तान्तरण गरिएको हो । गृहको सञ्चालन महानगरपालिकाको मातहतमा रहनेछ ।

भवन सञ्चालन, संरक्षण तथा व्यवस्थापनका लागि महानगरका कर्मचारीलाई आपूर्तिकर्ता कम्पनीमार्फत मेसिन सञ्चालन, शव व्यवस्थापन तथा प्रदूषण नियन्त्रणसम्बन्धी तालिम दिन बाँकी छ ।

भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले महानगरपालिकाले शवदाह गृह हस्तान्तरण गरेर लिए पनि सञ्चालनका लागि भने समय लाग्ने बताए ।

उनले गृह सञ्चालन सम्बन्धी कार्यविधी बनाउन बाँकी रहेकोले कार्यविधी पारित भएपछि मात्रै सञ्चालनमा जाने बताए ।

‘हामीले कार्यविधी सबै तयार गरेका थियौं, सबै जलाइदिए, हार्डकपी र कम्प्युटर दुवै जल्यो, अब फेरि नयाँ बनाउन भनेको छु,’ प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने, ‘अब कार्यविधी तयार गरेर पास गरेपछि सञ्चालन मोडालिटी आउँछ ।’

उनले महानगरका १० जना कर्मचारीलाई तालिम दिने तयारी गरिएको बताए । महानगर आफैंले सञ्चालन गर्ने की, नीजि क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिने वा देवघाट क्षेत्र विकास समितिसँग मिलेर सञ्चालन गर्ने भन्ने विषय कार्यविधीबाट टुंगो लाग्ने उनको भनाइ छ ।

२०७५ सालबाट निर्माण थालिएको शवगृह २०७७ सालको माघमा सम्पन्न गर्ने भनिए पनि झन्डै ७ वर्षपछि मात्रै निर्माण सकिएको हो । शवदाह गृह निर्माणका लागि ११ करोड २१ लाख आठ हजारमा ठेक्का लगाइएको थियो । पटकपटक म्याद थप गरेपछि भवन बनेको हो ।

गृहमा मलामीका लागि पर्याप्त ठाउँ, स्नानसहितको बाथरुम, चारवटा शव राख्न सक्ने मर्चुरी च्याम्बर, आपतकालीन जेनरेटर र दुईवटा विद्युतजडित दाहसंस्कार मेसिन जडान गरिएको छ । एकैपटकमा दुई वटा शव दाहसंस्कार गर्न सकिने व्यवस्था गरिएको छ । एउटा शव जल्न ४५ मिनेट लाग्नेछ ।

प्रदूषण नियन्त्रणका लागि पोलुसन कन्ट्रोल युनिट र ३० मिटर अग्लो चिम्नी जडान गरिएको छ । देवघाटमा चितवन, नवलपरासी, तनहुँसँगै देशका विभिन्न जिल्लाबाट दैनिक २२ वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याउने गरिन्छ ।

बाढीले भत्काउने जोखिम

भवन बनेको स्थानमा गत बर्ष असोजमा आएको बाढी पसेको थियो । बाढीले भवनको भुई तलामा डेढ फिटसम्म पानी जम्मा भएको थियो । भवन बनाउन उठाइएको शेरवालमा समेत पानीले क्षति गरेको थियो । सो पर्खाल नदीको वहावले भत्काउने सक्ने जोखिम उत्तिकै छ । गत बर्षकै जतिकै बाढी आएमा भवनमा क्षति गर्न सक्ने भन्दैं बाढी नियन्त्रणको लागि थप लगानी गर्न सरकारसँग अनुरोध गरिएको सघन शहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?