+
+
Shares

झोला, झण्डा र झटारो

जुन झोलाभित्र जनताका सुन्दर भविष्य, सपना, केही आदर्श र परिवर्तनका आकांक्षाहरू हुनुपर्ने हो, नेताहरूले त्यसभित्र आफ्ना स्वार्थ लुकाएका थिए जसले मुलुकमा लुट अनि भ्रष्टाचार मच्चाइरह्यो।

पुरुषोत्तम पोखरेल पुरुषोत्तम पोखरेल
२०८२ असोज २६ गते ७:१०

यस्तो लाग्छ राजनीतिक कार्यकर्ताहरूको जीवन एउटा परित्यक्त पथिक जस्तो हुने रहेछ। जसले बाटो निर्माण गर्छ, तर आफू गन्तव्यमा पुग्न पाउँदैनन्। कतिपयले उनीहरूलाई योद्धा क्रान्तिकारी भन्छन् भने वर्तमान अवस्थामा धेरैले विचरा तथा कठैबरा पनि भन्न थालेका छन्। यस कुराले पनि मुलुकको वस्तुगत राजनीतिक अवस्थाको सिंहावलोकन गर्न सकिन्छ। वास्तवमा उनीहरू देशका सचेत र समर्पित नागरिकको हैसियतले समष्टिगत अधिकार प्राप्तिको लागि संघर्षको मैदानमा ओर्लिएका हुन्छन्। जसले आफ्नो घरपरिवारको समस्यालाई थाती राखेर जनताको समस्या समाधानका लागि तत्कालीन शासन व्यवस्थाको विरुद्धमा लड्ने धारिला कार्यकर्ता हुन्, जसले एक सहजकर्ताको रूपमा आफूलाई उभ्याएका हुन्छन् ।

दलका कार्यकर्ता परिवर्तनका वाहक हुन्। यस्ता कार्यकर्ताहरू अति सामान्य पहिरन भएका हुन्छन्। जसले दाह्री–कपाल पालेका, गम्भीर मुद्रा र प्रखर वक्ताको रूपमा देखिने अनि सरल जीवन पद्धति अपनाएका हुन्छन्। दलभित्रका अल्पकालीन र दीर्घकालीन कार्यकर्ता दुवैमा समर्पणको भावना समान रहेका हुन्छन्। उनीहरूमा थकाइ हुन्छ तर सपना बाँचेका हुन्छन्। जुत्ता च्यातिएका हुन्छन् तर आँखामा क्रान्तिको उज्यालो चम्किएको हुन्छ। यही आत्मविश्वास र आस्थाको आधारमा दृढतापूर्वक अघि बढेका हुन्छन्।

राजनीतिक कार्यकर्ताको भूमिका एउटा जीवन्त र गतिशील लोकतन्त्रको लागि आवश्यक मानिन्छ। उनीहरू सरकार र जनताबीच एउटा महत्वपूर्ण कडीको रूपमा काम गर्दछन्। जस्तो कि सरकारी नीतिहरूलाई आकार दिन, सामाजिक परिवर्तनलाई प्रोत्साहन गर्न, विभिन्न राजनैतिक मुद्दा–मामिला, नीति र प्रक्रियाहरूको बारेमा शिक्षित गराउन, जनतालाई जागरूक बनाउन तथा सरकारको गलत नीतिको खबरदारी गर्दै आएका हुन्छन्। यसैको सेरोफेरोमा रहेर ‘झोला, झण्डा र झटारो’ यी तीन शब्द हजारौं–लाखौं निष्ठावान् कार्यकर्ता एवं शहीद परिवारको आर्तनादको साझा कथा र व्यथा हुन्। जहाँ उनीहरूले वर्षौंदेखि बोकेका झोला च्यातिन्छ, उठाएको झण्डा ओझेलमा पर्छ बाँकी रह्यो झटारो जसलाई आफ्नै दल, नेता र सरकारबाट समेत माछो ! माछो ! भ्यागुतो भनेर ठिंगा देखाइन्छ।

राजनीतिक कार्यकर्ताले दलको झण्डा उठाउँदा त्यसमा बलिदानको रगत देखेका हुन्छन् तर उक्त दलका नेताहरूले त्यही झण्डामा चुनाव चिह्न मात्र देख्ने गर्दछन्

झोला (सपना र संघर्ष): निश्चित राजनीतिक उद्देश्य प्राप्तिको लागि कार्यकर्ताले बोक्ने झोला बुझिन्छ। जसभित्र दलको विधान, मेनुफेस्टो, पर्चा, सानो रेडियो, रोटी–च्यूरा र केही सामान्य लुगाहरू हुन्छन्। यसबाहेक थोत्रो साइकल नभए पैदल हिंडेर गाउँ–टोल–क्षेत्र तथा जिल्लाभरि संगठन विस्तार गरी लोकतन्त्रको पक्षमा जनमत तयार गर्ने सिलसिलामा जहाँ रात पऱ्यो त्यहीं कुनै साथीको घरमा आश्रय लिन्छन्। भोलिपल्टको पनि पुनः त्यही दिनचर्या निरन्तर चल्दै आएका हुन्छन्। अरू त्यस्तै हो, गोजीमा प्रायः पैसा नहुँदा खाजा खान, चिया पिउन या गाडी भाडाका लागि अरूको मुख ताक्नुपर्ने, हात थाप्नुपर्ने बाध्यता बीच अपमान सहेर आधा पेट खाएर सुतेका कैयौं रातलाई सम्झिन सकिन्छ। यसरी भोको पेट र लाचारीपनको सामना गर्दै देश र जनताको हितमा अहोरात्र सडक आन्दोलन, प्रहरीको लाठीचार्ज, आश्रुग्यास, शहीदको बलिदान, जेलयात्रा, मुद्दा–मामिला आदि खेप्दै उद्देश्य प्राप्तिको संघर्षमा लागेका हुन्छन्। जुन झोलाभित्र जनताको सुन्दर भविष्य, धेरै सपना, केही आदर्श र परिवर्तनका आकांक्षा बोकेका हुन्छन्। तर, उनीहरूलाई यो थाहा थिएन कि पार्टीको मेनुफेस्टोमा कार्यकर्ताको सपनाभन्दा माथि नेताको गद्दी र स्वार्थ लिखिएको हुन्छ भनेर।

झण्डा (विचारको पहिचान): दलको झण्डा एउटा विचार सिद्धान्त एवं दर्शनको माध्यमबाट स्वस्थ राजनीतिको स्थापना गरी आर्थिक सुधार मार्फत समृद्धि आदिलाई इङ्गित गर्दछ। जसले लोकतन्त्र, मानवअधिकार, पारदर्शिता जस्ता मूलभूत गरिमालाई विश्वसमक्ष चिनाएको हुन्छ। राजनीतिक कार्यकर्ताले दलको झण्डा उठाउँदा त्यसमा बलिदानको रगत देखेका हुन्छन् तर उक्त दलका नेताहरूले त्यही झण्डामा चुनाव चिह्न मात्र देख्ने गर्दछन्। जब कार्यकर्ता विचारधारा जोगाउन माग गर्छन्, तब नेतृत्व पक्ष विभिन्न हाउगुजी देखाएर थामथुम पार्ने गर्दछन्। यसरी पार्टीको झण्डा अब पार्टी कार्यालयको सांकेतिक पर्दामा मात्र देखिन्छ। जसको पछाडि सौदाबाजी र स्वार्थ लुकेको स्पष्टै हुन्छ। वास्तवमा दलको झण्डाले एकातिर राष्ट्रको झण्डा झुक्न नदिने र समृद्धि प्राप्तिको अठोट गरेको हुन्छ भने अर्कोतिर कार्यकर्ताको मनोबल उच्च राख्न सम्मान गर्ने संस्कार पनि बसालेको हुन्छ।

सत्ता र सिद्धान्त बीचको दूरीलाई आजको राजनीतिले बढाएको छ। जसको प्रत्यक्ष असर श्रमजीवी वर्ग, राजनीतिक कार्यकर्ता, शहीद अनि घाइते परिवारप्रति सरकारको उदासीनताको कारण सिंगो राजनीति दूषित बन्न पुगेको छ

झटारो (तितो सत्य): एउटा निष्ठावान् कार्यकर्तालाई सबैभन्दा ठूलो झटारो तब लाग्छ जब निर्वाचनको मुखमा टिकट माग्दा दलका नेता भन्छन्- तपाईं संघर्षशील र आदर्शवादी व्यक्ति हो तर तपाईंको चुनाव जित्ने हैसियत छैन। यसरी उक्त टिकट जान्छ कुनै पैसावाल व्यापारी, ठेकेदार या नेताका आफन्तको हातमा। अझ थप पीडाबोध तब हुन्छ, जब नेताले मात्र चिनेको प्रतिनिधि जितेर पदमा पुगेपछि चटक्कै बिर्सन्छन्। भेट गर्न फोन गऱ्यो- फोन उठ्दैन, समस्या सुनायो- सुन्दैनन्, उपाय खोज्यो- देख्दैनन्। यसरी आज राजनीतिक दलको नेतृत्व पक्षसँग प्रश्न उठ्छ- के राजनीतिक दलहरू केवल चुनावी मेशिन मात्र बन्ने हुन् ? या नेताहरूले आफ्ना कार्यकर्ताहरूका पिरमर्का सुन्ने र बुझ्ने क्षमता गुमाउँदै गएका हुन्? या अब विचारधाराको ठाउँमा सिधा लाभको राजनीति मात्र बाँकी छ? यी तमाम प्रश्न अब केवल कार्यकर्तासम्म मात्र सीमित रहेन।

उद्देश्य: तत्कालीन व्यवस्थामा देखिएका दोष तथा समाजमा विद्यमान विभेद गरिबी असमानता र दमनका विरुद्ध लडेर एउटा समुन्नत समाज निर्माणका लागि संगठित रूपमा रहने र लोकतन्त्रको रक्षाको लागि खबरदारी गर्नु हो। यसरी आफ्नो उद्देश्य प्राप्तिको संघर्षमा अहोरात्र लाग्ने राजनीतिकर्मी एवं शहीद परिवारहरूले देश र समाजमा पुऱ्याएको योगदानको आधारमा उनीहरूको जहान परिवारको हितमा दिगो उपाय खोज्ने र उचित सम्मान गर्ने/गराउनु पनि हो।

वर्तमान अवस्थाः राजनीतिक परिवर्तनको इतिहासमा कार्यकर्ताहरूको संघर्ष र योगदानको मूल्यांकन गर्दा आजका उपलब्धिहरू उनीहरूकै त्याग र समर्पणबाट सम्भव भएका हुन्। दलका नेताहरू आफ्नो कोठे बैठकमा बस्दा तिनका कार्यकर्ताहरू आन्दोलनको मोर्चामा छाती थापेर लडिरहेका हुन्छन्। यस्तो अवस्थामा धेरैले आफ्नो घरपरिवारको वास्ता गरेनन्, पढाइ छाडे, रोजगारी गुमाए, रगत बगाए, जेल सजाय भोगे, यातना खेपे र आर्थिक संकटको सामना गर्दै जब आन्दोलन सफल भएर दल सत्तामा पुग्छ, तब उक्त दलका नेताहरू धन थुपार्न र विलासी जीवनतर्फ उन्मुख भएपछि आफ्ना कार्यकर्ताहरूको पिरमर्का सुन्न त परै जाओस् भेट्नसम्म चाहँदैनन्। यसैलाई भनिन्छ- खोला तर्‍यो लौरो बिर्सियो…

भदौ २३ गते काठमाडौंमा भएको जेनजी आन्दोलनले उठाएका जायज माग र त्यसले निम्त्याएका हृदयविदारक दु:खद् घटना अनि भदौ २४ गते उत्पन्न परिस्थिति र भयावह क्षतिलाई बिर्सन सकिन्न। यद्यपि यसको समीक्षा गर्न बाँकी छ।

यस्ता महान् उद्देश्य बोकेका कार्यकर्ता सधैंभरि विचारलाई जीवित राख्न खोज्छन् भने नेताहरू पद र पैसाको पछि दौडिंदा उनीहरूमा देखिएको अवसरवादी चरित्रले गर्दा आजको दूषित राजनीतिप्रति व्यापक असन्तोष र नैराश्यतालाई बढाएको छ। किनकि, सिद्धान्त एवं विचारमा आधारित राजनीति अब गुट–उपगुट समूह ठेक्का–पट्टामा रूपान्तरण हुँदै गएका छन्। अतः सत्ता र सिद्धान्त बीचको दूरीलाई आजको राजनीतिले बढाएको छ। जसको प्रत्यक्ष असर श्रमजीवी वर्ग, राजनीतिक कार्यकर्ता, शहीद अनि घाइते परिवारप्रति सरकारको उदासीनताको कारण सिंगो राजनीति दूषित बन्न पुगेको छ। वर्षौं पुरानो र वृद्ध नेतृत्वहरूले सत्ता ओगटेर बस्नु र बुढो साँढेले गाई रुँगेर बस्नु उस्तै उस्तै हुन्। जसबाट कुनै आशा राख्नु व्यर्थ हुनेछ। तसर्थ, पुराना वृद्ध पुस्ताले अबको नयाँ युवा पुस्तामा सत्ता हस्तान्तरण गरेर आफ्नो परिपक्वता एवं बुद्धिमत्ताको उदाहरण पेश गर्नु उत्तम विकल्प देखिन्छ। यदि ठूला दलहरूले आफ्ना कार्यकर्तालाई आजको जस्तै झण्डा बोकाउने, व्यानर उचाल्ने, मञ्च सजाउने र घेरा हालेर नेताहरूको सुरक्षा दिने र जयजयकारको पुरानै प्रवृत्ति र शैलीलाई निरन्तरता दिंदै जाने हो भने वैकल्पिक राजनीतिक शक्तिको खोजी तथा नयाँ विचारको निर्माण गर्न जनता स्वतन्त्र हुनेछन्।

महत्वः यस्ता कार्यकर्ताहरूले सत्ताधारी दल र जनताबीच पुल बनेर सहजीकरणको काम गर्दछ। यसैगरी संगठन विस्तार गर्ने, लोकतान्त्रिक चेतना फैलाउने, बेथिति एवं अन्याय विरुद्ध आवाज उठाउने, बाँकी अधिकार प्राप्तिको लागि आन्दोलनको तयारीमा जुटने, न्याय समानता महिला, श्रमिक, शिक्षा र स्वास्थ्य अधिकारसँगै जनजीविका र राष्ट्रियता जस्ता जल्दाबल्दा विषयउपर सक्रिय भूमिका निर्वाह गर्नु र परिवर्तनका वाहक कार्यकर्ताको जीवन र सम्मानलाई जोड दिनु पनि हो।

समाधानका उपाय: कार्यकर्ता दलका मेरुदण्ड हुन्। कार्यकर्ताविहीन दल दिशाविहीन हुन्छन् र अस्तित्व पनि रहन सक्दैन। यो एउटा यस्तो सक्रिय समूह हो, जसले दलको नेतृत्व र जनताबीच सेतु बनेर जोखिम लिन तयार रहन्छ। यस्ता कार्यकर्ताको सुरक्षा र सम्मान गर्नु दल र सरकारको प्रमुख दायित्व हो। हाम्रो खातिर राजनीतिमा आफ्नो आधा जीवन संघर्षै संघर्षमा व्यतीत गर्दा धेरैले जागिर गुमाए, पढाइ छाडे, अंगभंग भए, परिवारका सदस्य गुमाए, घरपरिवार अनि खोतीपाती बर्बाद पारे। यस्ता सामान्य कार्यकर्ता, अल्पकालीन र दीर्घकालीन कार्यकर्ताहरूलाई दलहरूले योगदानको आधारमा मूल्यांकन गरी कार्यकर्ताहरूको सुरक्षित भविष्यको साथै शहीद र तिनका परिवारको उचित सहयोग र सम्मान गर्ने, वरिष्ठ कार्यकर्तालाई राज्यस्तरीय नागरिक सम्मान, न्यूनतम जीवन भत्ता, स्वास्थ्य बीमा, वैकल्पिक र रोजगार, तालिम, कानूनी संरक्षण आदि दिने। यसरी कार्यकर्तालाई नीतिनिर्माण तहमा स्थानीय विकास र सहकारी जस्ता क्षेत्रमा स्वरोजगार कार्यक्रम तथा उद्योग, कल–कारखानाहरूमा सहभागी गराउने तथा सक्रियपूर्वक लाग्ने कार्यकर्ताहरूलाई स्थानीय निकायहरूमा जिम्मेवार बनाउँदै जाने अनि राजनीतिक कार्यकर्ता एवं राजनीतिक पीडितहरूलाई योगदानको आधारमा निर्वाचनमा हकदार बनाउने र त्यसैगरी नीति निर्माण तहमा अनिवार्य समावेश गराई लोकतन्त्रलाई जीवन्तता प्रदान गर्न आवश्यक छ।

यदि यसो गर्न सकिएन भने वर्तमान राजनीति अवसरवाद र अस्थिरताको दलदलमा जाकिनेछ। त्यसो त कार्यकर्ताले सहजै विचार त्याग्दैनन्। विश्वास गुमेपछि उनीहरू बरु मौन बस्छन् तर जुन दिन हजारौंहजार कार्यकर्ता जाग्छन्, त्यस दिनदेखि राजनीति फेरिने पक्का छ। अस्ति भदौ २३ गते काठमाडौंमा भएको जेनजी आन्दोलनले उठाएका जायज माग र त्यसले निम्त्याएका हृदयविदारक दु:खद् घटना अनि भदौ २४ गते उत्पन्न परिस्थिति र भयावह क्षतिलाई बिर्सन सकिन्न। यद्यपि यसको समीक्षा गर्न बाँकी छ। तथापि यो भन्न सकिन्छ कि एकातिर जनता गरिबी, बेरोजगारी र अभावमा पिल्सिएर विदेशिन बाध्य छन् भने अर्कोतिर दलका नेताहरूका गाडी, बंगला, बैंक व्यालेन्स र विलासी जीवनले जन्माएको यो विभेद र असमानताको उपज जेनजी आन्दोलनलाई लिन सकिन्छ। आजको जेनजी आन्दोलन केवल सडक आक्रोश मात्र होइन, यो त समग्रमा पुस्ता हस्तान्तरणको चेतावनी हो।

सम्मानको खाँचो: जुन शक्तिको आडमा दल बन्छ, नेता बनाउँछ र सत्ता निर्माण गर्छ त्यही शक्ति आज उपेक्षित र अपमानित भएका छन्। कार्यकर्ताको यो बुढ्यौली उमेर एउटा जीवनमरणको दोसाँधमा घिस्रिएर बाँच्न खोज्नु मुलुकको लागि लज्जाजनक विषय हुन्। विशेषगरी, राजनीतिक परिवर्तनको वाहकको रूपमा रहेका राजनीतिकर्मीहरूको त्याग र बलिदानलाई कुनै पनि देशले उनीहरूलाई उच्च सम्मानको साथ हेर्दै आएका छन्। दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलाका कार्यकर्ताहरूको सम्मानलाई लिन सकिन्छ। त्यहाँ फ्रिडम फाइटरहरूलाई राज्यले पेन्सन, आवास र श्रम सुविधा समेत प्रदान गर्दछ। क्यूबामा पनि फिडेल कास्ट्रो र चे ग्वाभारासँग मिलेर लडेका क्रान्तिकारीहरूलाई सर्वोच्च देशभक्तिको रूपमा चिनाएर सम्मान गरिन्छ। हाम्रै छिमेकी राष्ट्र भारतमा पनि स्वतन्त्रता सेनानीहरूलाई भारत सरकारले तमाम किसिमका सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ ।

नेपालमै पनि २०४७ सालका अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा पहुँच भएका राजनीतिक पीडितहरूलाई योगदानको आधारमा आर्थिक सहयोग स्वरूप ५० हजारदेखि २ लाख ५० हजारसम्मको रकम गृह मन्त्रालय मार्फत वितरण गरिएको थियो। यसै किसिमले प्रमुख दलका प्रमुख शहीदहरूको सालिक निर्माण गरेर तत्कालीन सरकारले राजनीतिका नाउँमा केही गर्न खोजेको झझल्को पाइन्थ्यो तर त्यसलाई निश्चित मापदण्ड बनाएर दिगो व्यवस्थापन गर्न सकेको भए पुराना वरिष्ठ कार्यकर्ताहरूमा आज यति धेरै नैराश्यता कदापि बढ्ने थिएन ।

लेखक
पुरुषोत्तम पोखरेल

(पोखरेल, समसामयिक विषयमा कमल चलाउँछन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?