
News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व आर्थिक मञ्चले ग्लोबल रिस्क रिपोर्ट २०२४ मा मिस–इन्फर्मेसन र डिस–इन्फर्मेसनलाई विश्वकै पहिलो ठूलो जोखिमको रूपमा पहिचान गरेको छ।
- नेपालमा डिजिटल पहुँच बढे पनि करिब ९० प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ताले भ्रामक सूचना अनुभव गरिरहेका छन् र तथ्य जाँच संस्कृतिको विकास भएको छैन।
- मिडिया साक्षरता विस्तार र पत्रकारिताको नियमन आवश्यक छ भने सरकारले प्रभावकारी सूचना नीति निर्माण गर्नुपर्ने उपप्राध्यापक पराजुलीले बताउनुभयो।
हालसालै मात्र विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) ले प्रकाशित गरेको ग्लोबल रिस्क रिपोर्ट २०२४ मा मिस–इन्फर्मेसन एन्ड डिस–इन्फर्मेसन अर्थात् गलत र भ्रामक सूचनालाई विश्वकै पहिलो नम्बरको ठूलो जोखिमका रूपमा पहिचान गरेको थियो। नभन्दै यसको असर समग्र विश्व परिवेशमा फैलिंदै गएको देखिन्छ र नेपाली समाज पनि यसको असरबाट अछुतो रहन सकेको छैन।
आजको डिजिटल युगमा सूचना सेकेन्ड भरमा संसारभर छरपस्ट फैलिन्छ, सामाजिक सञ्जाल, अनलाइन समाचार पोर्टल र मेसेजिङ प्लेटफर्म मार्फत दैनिक हजारौं सूचनाहरू आदान–प्रदान भइरहेका छन्। तर तीमध्ये कतिपय सूचना गलत, झूटा वा दुराशयपूर्ण पनि हुन सक्छन्।
यस्ता सूचनाहरूले समाजमा भ्रम, वैमनस्य र अविश्वास फैलाउने काम गर्दछन्। भ्रामक सूचनाका तीन रूप: मिस–इन्फर्मेसन, डिस–इन्फर्मेसन र इल–इन्फर्मेसनलाई सरल रूपमा यसरी बुझ्न सकिन्छ।
मिस–इन्फर्मेसन भन्नाले अञ्जानमा गलत सूचना फैलाउने कार्य हो। यसमा सूचना दिने व्यक्ति वा माध्यमको उद्देश्य अरूलाई धोका दिने हुँदैन, तर तथ्य गलत हुन्छ। उदाहरणका लागि, कसैले पुरानो घटना वा तस्बिरलाई नयाँ घटना भनेर शेयर गर्नु वा अपुष्ट तथ्यलाई साँचो ठानेर पठाउनु मिस–इन्फर्मेसन हो। यस्ता सूचनाले भ्रम फैलाउँछन्, तर उनीहरूको उद्देश्य कपटपूर्ण हुँदैन।
डिस–इन्फर्मेसन भनेको जानाजान गलत वा बनावट सूचना प्रसारण गर्ने वा सूचनालाई आफूअनुकूल तोडमोड गरेर सम्प्रेषण गर्ने कार्य हो। यसले समाजमा जनमतलाई प्रभावित पार्ने, कसैको प्रतिष्ठा ध्वस्त पार्ने वा राजनीतिक लाभ लिन खोज्ने उद्देश्य राख्छ। उदाहरणका लागि, कुनै व्यक्ति वा दल विरुद्ध झूटा समाचार बनाई प्रचारप्रसार गर्नु, बनावट भिडियो वा तस्बिर मार्फत भ्रम फैलाउनु यी सबै डिस–इन्फर्मेसनका रूप हुन्।
इल–इन्फर्मेसन भन्नाले साँचो सूचना भए पनि दुराशयपूर्वक प्रयोग गरी अरूको हानि पुर्याउने सूचना जनाउँछ। यस्ता सूचनामा तथ्य सही भए पनि त्यसको प्रयोग गलत उद्देश्यका लागि गरिन्छ। उदाहरणका रूपमा, कसैको गोपनीय निजी जानकारी वा पुराना संवेदनशील विवरणहरू सार्वजनिक गरेर बदनाम गर्ने कार्य इल–इन्फर्मेसन हो।
यदि सूचनाको सत्यता र स्रोतमाथि नागरिकको विश्वास कमजोर भयो भने, त्यसको असर केवल मिडिया वा राजनीतिमा मात्र होइन, सम्पूर्ण सामाजिक स्थायित्वमाथि पर्छ। जुन कुरा वर्तमान अवस्थामा स्पस्ट रूपमा नेपाली समाजमा देख्न सकिन्छ।
हाल नेपालमा उत्पन्न सामाजिक विचलन र अन्योलको प्रमुख कारक भनेकै मिस–इन्फर्मेसन, डिस–इन्फर्मेसन र इल–इन्फर्मेसन हो। जसले गर्दा छोटो समयमै मानवीय व्यवहार र आचरणलाई देवत्वकरण र क्षणभरमै दानवीकरण गरेको हामी देखिरहेका छौं र जसको फलस्वरुप समाजमा द्वेष फैलन गई सामाजिक सद्भाव भाइचारामा धुमिल स्थिति सिर्जना गरेको छ। र, यो विश्व आर्थिक मञ्चले दिएको चेतावनी केवल सैद्धान्तिक रूपमा मात्र नभई, व्यवहारमै छर्लङ्ग देखिंदैछ।
सामाजिक सञ्जाल, टिकटक, युट्युब र अनलाइन पोर्टलहरूमा दैनिक रूपमा फैलिरहेका असत्य र अतिरञ्जित सूचनाले नागरिक बीच अविश्वास र भ्रमको वातावरण सिर्जना गरेको छ। एउटा फोटो वा भिडियोको सन्दर्भ परिवर्तन गरेर “सत्य” भनेर प्रस्तुत गर्ने प्रवृत्तिले समाजलाई क्रमशः ध्रुवीकृत र आक्रोशित बनाइरहेको छ। र, फलस्वरुप नागरिक–नागरिक बीच विश्वासको संकट उत्पन्न भएको अवस्था छ।
नेपालमा डिजिटल पहुँच बढे पनि तथ्य जाँच संस्कृतिको विकास भएको छैन। विभिन्न अध्ययनले जनाए अनुरुप करिब ९० प्रतिशत भन्दा बढी नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले भ्रामक सूचना देख्ने वा सुन्ने गरेको अनुभव गरेका छन्। यसरी असत्य सूचना दोहोरिएर प्रस्तुत हुँदा नागरिकहरूले सरकारी निकाय, मिडिया र यहाँसम्म कि विज्ञहरूको पनि भनाइमाथि शंका गर्न थालेका छन्। यो अवस्था सामाजिक विश्वासको संकट हो, जसले लोकतन्त्रको मेरुदण्ड नै कमजोर पार्न सक्छ।
भ्रामक सूचनाको अर्को गहिरो प्रभाव राजनीति र सामाजिक एकतामाथि परेको देखिन्छ।निर्वाचनका अवधिमा उम्मेदवारहरू विरुद्ध बनावटी समाचार, सम्पादित भिडियो र झुटा प्रचार सामग्रीले मतदाताको सोच प्रभावित पारिरहेको छ साथै सही र गलत छुट्याउन गाह्रो छ।
“जिरो टोलरेन्स टू डिस-इन्फर्मेसन एन्ड हेट स्पीच” नीति भए पनि यसको कार्यान्वयनमा चुनौती छन्। त्यसकै कारण राजनीतिक ध्रुवीकरण बढ्दै गएको छ जसले संवादभन्दा विवाद र अविश्वासको संस्कृति जन्माइरहेको छ।
नागरिकलाई सही सूचना सम्प्रेषण गर्ने जिम्मेवार निकायहरुमध्ये कतिपय नेपालको मिडिया समुदाय पनि मिस–इन्फर्मेसन, डिस–इन्फर्मेसन र इल–इन्फर्मेसनको समस्याबाट अछुतो रहन सकेका छैनन्। प्रेस काउन्सिल नेपालले बारम्बार सचेत गराए पनि, अफवाह र क्लिकबेट समाचारको बाढी रोकिएको छैन। यस सन्दर्भमा नेपालका मिडिया समुदायमा दुई तहको सुधार अत्यावश्यक देखिन्छ।
पहिलो, मिडिया साक्षरता विस्तार, जसले नागरिकलाई सूचना छान्ने, स्रोत परीक्षण गर्ने र सत्यतथ्य पहिचान गर्ने क्षमता प्रदान गर्छ। दोस्रो, पत्रकारिताको नियमन र उत्तरदायित्व जसले सूचना सम्प्रेषणमा नैतिकता र प्रामाणिकताको संस्कृतिलाई बलियो बनाउँछ।
यस्ता यावत् किसिमका समस्या समाधान हेतु मिडिया नियमन र पारदर्शिता नीति, आधिकारिक सूचना स्रोत चिनाउने अभ्यास, पुरस्कार र दण्डको व्यवस्था जस्ता कुराहरूमा राज्य लगायत समग्र जिम्मेवार निकायहरुले ध्यान दिनुपर्ने देखिन्छ।
यसर्थ सही सूचना नै लोकतन्त्रको बलियो आधार हो। नेपाल जस्तो बहुभाषिक, विविधतापूर्ण र लोकतान्त्रिक देशमा गलत सूचना केवल अफवाह मात्र नभई सामाजिक विष पनि हो। यसले समुदाय बीचमा अविश्वास, वर्गीय तनाव साथै सामाजिक संस्थामाथि आघात पुर्याउँछ।
सूचनाप्रविधिको वर्तमान युगमा सही र गलत बीचको रेखा एकदमै पातलो बन्दै गएको छ। जसले गर्दा आम नागरिकले सही र गलत बीचको भेद पहिल्याउनका निमित्त जटिल परिस्थिति सिर्जना भएको छ। त्यसैले प्रत्येक नागरिकले सूचना प्राप्त गर्दा स्रोत जाँच्ने, प्रमाण खोज्ने र सत्य–असत्य छुट्याउने चेतना विकास गर्न जरूरी छ।
त्यसैगरी, मिडिया हाउसहरूले सूचना सम्प्रेषणमा नैतिकता र प्रामाणिकताको परीक्षण गर्नु जरूरी रहन्छ। गलत सूचना केवल एउटा व्यक्तिमा मात्र सीमित नरही सामाजिक र समग्र राष्ट्रकै हानिको कारण पनि बन्न सक्छ। यसर्थ सूचनाको जिम्मेवार उपभोग र प्रसारण नै लोकतान्त्रिक समाजको बलियो आधार हो।
त्यसैले, सरकारले प्रभावकारी सूचना नीतिहरू निर्माण गर्नुपर्छ, मिडियाले जवाफदेही बन्नुपर्छ र नागरिकहरूले सूचना उपभोगमा सचेत र उत्तरदायी हुनुपर्छ। सही सूचना नै लोकतन्त्रको स्तम्भ हो। त्यो स्तम्भ ढल्यो भने, राज्य र समाज दुवै अस्थिर हुने खतरा बढ्दै जान्छ।
पराजुली त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन्।
प्रतिक्रिया 4