+
+
Shares

चालु बजेट संशोधन गर्दै हेटौंडा उपमहानगर, ५० करोडका कार्यक्रम कटौतीको तयारी

जेनजी प्रदर्शनका क्रममा उपमहानगरका संरचनामा भएका क्षतिले कार्यालयको प्राथमिकतामा परिवर्तन आवश्यक देखिएको र राजश्व अनुमानमा लक्ष्यअनुसार प्रगति नहुने आंकलन गर्दै बजेट संशोधनको तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले अनलाइनखबरलाई जानकारी दिए।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौंडा उपमहानगरपालिकाले जेनजी प्रदर्शनपछि भएको क्षतिका कारण चालू आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गर्ने निर्णय लिएको छ।
  • कार्यपालिका बैठकले २ अर्ब ९० करोड ३ लाख १० हजारको अनुमानित बजेट संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
  • संशोधनपछि बजेट ५० करोडले कटौती भएर २ अर्ब ४० करोड हाराहारी रहने र अनुदान तथा आन्तरिक स्रोत घट्ने अनुमान गरिएको छ।

२७ असोज, हेटौंडा। बागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडा उपमहानगरपालिकाले जेनजी प्रदर्शनपछि विकसित घटनाक्रमलाई कारण देखाउँदै चालू आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गर्ने निर्णय लिएको छ।

जेनजी प्रदर्शनका क्रममा उपमहानगरका संरचनामा भएका क्षतिले कार्यालयको प्राथमिकतामा परिवर्तन आवश्यक देखिएको र राजश्व अनुमानमा लक्ष्यअनुसार प्रगति नहुने आंकलन गर्दै बजेट संशोधनको तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले अनलाइनखबरलाई जानकारी दिए ।

२३ असोजमा बसेको कार्यपालिका बैठकले विशेष नगरसभाबाट २ अर्ब ९० करोड ३ लाख १० हजारको अनुमानित बजेटको संशोधन प्रक्रिया अगाडि बढाउन निर्णय गरेको छ। उपमहानगरले गत १० असारमा चालू आव लागि २ अर्ब ९० करोडको बजेट विनियोजन गरेको थियो । विनियोजित बजेट गत आव २०८१÷८२ को भन्दा १९ प्रतिशतले अर्थात ७ करोड वृद्धि गरी प्रस्तुत गरिएको हो।

१७औं नगरसभामा पेस गरेको बजेटमा नगरस्तरीय पूर्वाधार विकासतर्फ ६२ करोड ३९ लाख ४१ हजार, वडास्तरीय योजना तथा कार्यक्रमका लागि ३२ करोड २५ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

आर्थिक विकासतर्फ ४ करोड ६९ लाख ७ हजार रुपैयाँ, शिक्षातर्फ ५ करोड ५१ लाख, स्वास्थ्यतर्फ २ करोड ७८ लाख, युवा तथा खेलकुद विकासतर्फ २ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको हो।

यस्तै, खर्च व्यहोर्ने स्रोततर्फ संघीय सरकारबाट प्राप्त हुने अनुदान १ अर्ब १९ करोड ५० लाख, प्रदेश सरकारबाट ११ करोड, आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार र नगर विकास कोषबाट ऋण ३ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको थियो।

उपमहानगरले जेनजी प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनीबाट उपमहानगरपालिकाको प्रशासनिक भवन, ७ वटा वडा कार्यालय, स्वास्थ्य संस्थालगायत सेवा केन्द्रहरुमा र ११ वटा साना सवारी, दुई पाङ्ग्रे सवारी, विद्युतीय उपकरण, फर्निचरमा क्षति पुगेकाले पुनः निर्माणका लागि बजेट संशोधन आवश्यक रहेको औंल्याएको छ । कार्यपालिका बैठकले ३२ करोड ६५ लाख ५५ हजारको क्षति मुल्यांकन समितिको प्रतिवेदन पनि स्वीकृत गरेको छ ।

उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले बजेटको लक्ष्य नै परिवर्तन गर्नुपर्ने देखिएकोले बजेट संशोधन गर्न खोजिएको बताए । उनले बिनियोजित बजेटका अनावश्यक र आगामी वर्षहरुमा पनि कार्यान्वयन गरे हुने प्रकृतिका कार्यक्रम कटौती गरिने बताए। ‘तत्काल आवश्यक नदेखिएका योजनाहरु काट्छौं । त्यसैले हाम्रो बजेटको आकार नै घट्छ ।’ न्यौपानेले भने।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले बजेट पुनः लेखन वा संशोधन गर्नुपर्ने दुई वटा कारण देखाएका छन् । गत असारमा बजेट ल्याउँदा उपमहानगरको प्राथमिकता विकास निर्माणका योजनाहरुमा हुनु र हालको परिस्थितिले प्राथमिकता परिवर्तन भएर पुनः निर्माण रहेका तथा अनुमान गरिएका राजश्व अब नउठ्ने देखिएकोले बजेट संशोधन आवश्यक भएको उनले औंल्याए । अर्को कारण औचित्य पुष्टि नहुने प्रकृतिका अनावश्यक योजनाहरु कटौती गर्ने र नगरबासीलाई प्रत्यक्ष राहत दिने कार्यक्रम ल्याउनु रहेको गौतमले बताए ।

संशोधन हुँदा ५० करोडका कार्यक्रम कटौती हुने भएको छ । संशोधनपछि उपमहानगरको बजेट २ अर्ब ४० करोड हाराहारीको मात्रै हुने गौतमले जानकारी दिए । ‘संघ सरकार र प्रदेशबाट आउने अनुदानहरु पनि घट्छ ।

हाम्रो आफ्नै आन्तरिक स्रोतहरु पनि घट्ने देखिएका छन् । पहिला नै बढी बजेट बनाइएको हो । अब ५० करोड नै घटाउँछौं ।’ गौतमले भने । तालिम, गोष्ठी, सेमिनारलगायतका कार्यक्रमहरु घटाउने तयारी गरिएको छ ।

बजेटमा गत आवकै ३२ करोड बढी भुक्तानी दायित्वलगायत अनिवार्य दायित्व यथावत रहने भएको छ । विपद् व्यवस्थापनमा बजेट बिनियोजन गरेर जानुपर्ने पनि प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?