७ कात्तिक, काठमाडौं । गायिका नितु पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् । नितुका दाइ गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी लिएर अहिले प्रहरी वृत्त सिंहदरबार पुगेका हुन् ।
अनलाइनखबरसँग कुरा गर्दै गणेशले आफू जाहेरी लिएर सिंहदरबार वृत्तमा पुगेको बताए ।
‘म जाहेरी लिएर प्रहरी कार्यालयमा पुगेको छु । अब जाहेरी दर्ता गरेर गायक गिरीमाथि अनुसन्धान अघि बढाउनुपर्छ,’ उनले अनलाइनखबरसँग भने ।
गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन लागेका छन् । विगत ८–९ वर्षदेखि बहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ । दुई जनामात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको दाबी उनको छ ।
गायिका नितु पौडेलको एक साताको उपचारपछि आज शुक्रबार मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहान साढे ८ बजेतिर गायिका पौडेललाई चिकित्सकले मृत घोषित गरे । १ कात्तिकमा स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेको बताइन्छ ।
यो स्टुडियो गायक बाबुल गिरीको हो । उनले किन आत्मदाहको प्रयास गरिन् भन्नेबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन । यो विषय अनुसन्धानकै क्रममा रहेको बताएको छ । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको बाबुल गिरीले प्रहरी समक्ष बताएका छन् ।
प्रतिक्रिया 4