लाखौं यहुदीको सामूहिक हत्याको योजना र व्यवस्थापनमा भूमिका खेलेका नाजी अधिकारी एडोल्फ आइखमान दोस्रो विश्वयुद्धपछि अर्जेन्टिनामा लुकेर बसेका थिए । पछि उनलाई पक्राउ गरी न्यायको कठघरामा ल्याइयो ।
आइखमानको अन्तर्राष्ट्रिय मुद्दाको बयान र बहस प्रत्यक्षरूपमा हेरिसकेपछि हाना एरन्टले न्यूयोर्क टाइम्स पत्रिकाका लागि रिपोर्टहरूको श्रृङ्खला ‘जेरुसेलममा आइखमान’ दुष्टताको सामान्यतामाथिको प्रतिवेदन (१९६३) लेखिन् ।
आइखमानको व्यवहार र सोच्ने तरिका देखेपछि उनले एउटा गहिरो र चकित पार्ने निष्कर्ष निकालिन्– यो व्यक्ति कुनै राक्षसी, हिंस्रक वा सनकी अत्याचारी होइन, बरु सामान्य देखिने, आदेशपालक र सोच्ने विवेक गुमाएको सामान्य मानिस थियो। यसै रिपोर्टबाट उनले ‘दुष्टताको सामान्यता’ (Banality of Evil) भन्ने प्रसिद्ध अवधारणा प्रस्तुत गरिन्।
एरन्टका अनुसार, आइखमानको अपराध आदेश र नियम पालन गर्ने यान्त्रिक बानीका कारण भयो। उसले अदालतमा बारम्बार भन्यो, ‘म केवल आफ्नो कर्तव्य गर्दै थिएँ, आदेश मान्दै थिएँ।’
तर यही सोच नै सबैभन्दा खतरनाक हो, किनकि जब मानिसले आफ्नो विवेकभन्दा माथि आदेश र निष्ठालाई राख्छ, तब ‘सामान्य मानिस’ पनि भयानक अपराधी बन्न सक्छ।
एरन्टको व्याख्यामा आइखमानको समस्या घृणा वा पागलपन होइन, उसको सोच्न नसक्ने क्षमता हो। ऊ केवल अरूको निर्देशन पालना गर्न बानी परेको थियो, कानुन र आदेशलाई नै सत्य ठान्थ्यो र आफ्नै नैतिक जिम्मेवारी बुझ्ने प्रयास गर्दैनथ्यो। उसले आफ्नो विवेक बन्द गरेको थियो र यान्त्रिक रूपमा दुष्टतालाई सम्भव बनाएको थियो। यही सोचविहीनता नै दुष्टताको गहिरो स्रोत हो।
नेपालका राजनीतिक दलहरूको सन्दर्भमा, एरन्टको विचार आज पनि तीखो र सान्दर्भिक लाग्छ। जब दलका कार्यकर्ताहरू वा युवा नेताहरू ‘आदेश पालना नै कर्तव्य हो’ भनेर विवेक प्रयोग नगरी निर्णय गर्छन्, तब उनीहरू पनि आइखमानकै जस्तो दुष्टताको सामान्यतामा फस्छन्।
राजनीतिक भक्ति, आलोचनात्मक सोचको अभाव र ‘नेता सधैं ठिक’ भन्ने अन्धविश्वासले नै राजनीतिक नैतिकतालाई कमजोर बनाउँछ। लोकतन्त्र सधैंभरि खतरामा छ भन्ने पार्टीहरुले बुझुन् कि यसैकारण खतरामा छ ।
दुष्टता सधैं हिंस्रक रूपमै आउँदैन । कहिलेकाहीँ यो सभ्य अनुहार, मीठा भाषण, र ‘कर्तव्य पालन’को आवरणमा लुकेको हुन्छ। जब मानिसहरूले सोच्न छोड्छन्, प्रश्न गर्न डराउँछन् र विवेकभन्दा आदेश पालना ठूलो ठान्छन्, त्यतिबेला नै समाजको नैतिक पतन सुरु हुन्छ।
दोस्रो बिश्वयुद्दपछि विज्ञान र दर्शनको क्षेत्रमा अभूतपूर्व कायापलट नै भएको पाइन्छ । मान्छेको मस्तिस्क र स्वभावबारे कयौं रोचक अनुसन्धान भएका छन् । मान्छेले किन र कसरी त्यति क्रुर घटना वा दुष्ट्याइँलाई साथ दिन्छन् वा गरिदिने गर्छन् ॽ हाम्रो समाजमा भैरहेका वा दोहोरिरहेका घटनाहरुलाई मान्छेको सोचाइ वा स्वभाव बुझ्न ‘दुष्टताको सामान्यतामाथिको प्रतिवेदन’ सहयोगी हुन्छ ।
नसोच्ने, प्रश्न नगर्ने र विवेक प्रयोग नगर्ने रोजीरोटी र लेखापढीको परम्पराले गर्दा साक्षरता ७७=४ पुगे पनि हाम्रो राजनीति बदलिएन । हुन त परम्परा सांस्कृतिक दृष्टिले पहिचानको मेरुदण्ड हो । तर, दार्शनिक दृष्टिले यो विवेकको परीक्षा पनि हो। सामाजिक स्मृतिको स्वरुप मानिने परम्पराको कोणबाट नेपाली राजनीतिलाई हेर्दा विस्मृतिको परम्परा व्याप्त देखिन्छ ।
बिर्सँदै जाने, बिग्रिँदै जाने । लोकतन्त्रका लागि किन लडेको ॽ राजनीतिक दलहरुले बिर्सेजस्तो किन ॽ जेलनेल र आन्दोलन र बलिदान किन गरिएको थियो ॽ नेताहरुले बिर्सेजस्तो किन ॽ उही व्यक्तिले किन धेरै भोट ल्याउँछ ॽ जनताले बिर्सेजस्तो ।
समाजमा व्याप्त राजनीतिक डिमेन्सिया र चाकरी प्रथाको जालोका बीच हरेक एक–दुई दशकमा हुने राजनीतिक–समाजिक निराशाको बिस्फोट अनि देखिने संक्रमणकाल, जो आफैंमा एउटा गज्जबको बहाना हो । घाम ताप्ने बहाना ।
ध्रुवचन्द्र गौतमको तथाकथित उपन्यासमा कसैले कामचोर कर्मचारीहरुलाई सोध्छ – तपाईहरु घाम किन ताप्नुहुन्छ ॽ जवाफमा कर्मचारीहरु भन्छन् – हजुर, घाम लाग्छ र त ताप्छौँ ।
‘हुँदैछ–चल्दैछ’ को अनेक चरण पार गरिसक्दा पनि हामी ‘हुँदैछ’मै अल्झिनुका पछाडि यस्तै परम्पराहरु छन् । भर्खर बहुदल आएको छ, हुँदैछ । भर्खर शान्तिवार्ता भयो, हुँदैछ । भर्खर गणतन्त्र आयो, भर्खर संविधान बन्यो, हुँदैछ . युद्धले गर्दा, नाकाबन्दीले गर्दा, आन्दोलनले गर्दा, कोभिड महामारीले गर्दा . संघीयता भर्खर लागु भो त्यसैले गर्दा… । हामीले गर्न नसकेका तमाम कामहरुको बहानामा एउटा अर्को बहाना नबनोस् – जेनजी आन्दोलन ।
सार्वजनिक संस्था र निकायहरु बलियो हुने देशले संक्रमणकालमा समेत जनताको पक्षमा काम गर्न सक्छन् । दोस्रो विश्वयुद्दपछि भयावह आर्थिक, सामाजिक र राजनीतिक अवस्थाबाट कयौं देशहरु निस्किएर समृद्द बनेका छन् । तर, यसका पछाडि पनि ती समाजका परम्पराको हात छ । मिहिनेत र चेतनाको जबर्जस्त परम्परा ।
हाल व्याप्त राजनीतिक विस्मृति र ‘हुँदैछ–चल्दैछ’ कै परम्पराको डरलाग्दो पाटो बुझाउने अर्को कृति दोस्रो विश्वयुद्दलगत्तै लेखिएको शर्ली ज्याक्सनको ‘दि लटरी (१९८०)’ हो ।
कथा एउटा सानो र शान्त गाउँबाट सुरु हुन्छ। गर्मीको उज्यालो बिहान । गाउँका मानिसहरू विस्तारै चौतारीमा जम्मा भइरहेका छन्। वातावरण रमाइलो छ। बालबालिकाले ढुंगाहरू बटुलिरहेका छन्, बूढाबूढीहरू हिजोआजको मौसमबारे कुरा गरिरहेका छन् । सबै जना वार्षिक उत्सव ‘लटरी’ सुरु हुने प्रतीक्षामा छन्। यो परम्परा वा गाउँको पुरानो चलन छ- वर्षको एक दिन सबैले भेला भई लटरी निकाल्ने । कसैले ठ्याक्कै नबुझ्ने, तर सबैले मान्ने गाउँको नियम छ ।
गाउँको स्थानीय ब्यापारी मिस्टर समर्स लटरी सञ्चालन गर्छन्। उनका हातमा एउटा पुरानो कालो बाकस छ, त्यसमा कागजका टुक्रा छन्, जसमा प्रत्येक परिवारको नाम लेखिएको छ।
बाकस देख्दा केही मानिसहरू असजिलो महसुस गर्छन्, तर कसैले केही भन्दैन। बरु कसैले ठट्टा गर्छ, ‘फेरि पनि पुरानो बाकस, अर्को वर्ष नयाँ बनाउने हो कि ?’ तर त्यो पनि केवल हाँसोमै बिलाउँछ। आखिर, ‘यो त सधैं हुने चलन ।
केहीछिनमा अत्यन्त उल्लासका साथ लटरी सुरु हुन्छ। प्रत्येक परिवारका सदस्यहरू एक–एक गरी बक्समा हात हाल्छन् र कागज निकालेर सबैलाई देखाउछन् । सादा कागज ।
माहोल केही गम्भीर बन्छ। सबैको ध्यान एउटै कुरामा हुन्छ – कसको भाग्यले के ल्याउँछ ?
अन्ततः एउटा परिवारको पालो आउँछ । त्यस परिवारको पतिले आफ्नो हातको कागज खोल्छ । त्यो सादा हुन्छ । अनि पत्नी टेसी हचिन्सनतिर लम्केर उसको हातको कागज खोसेर देखाउँछ । टेसीको हातमा कालो चिन्ह लगाइएको कागज पर्छ। टेसी अचम्म मान्छे र भन्छे, ‘दिस इज अन्फेयर’ । यो त अन्याय भयो, । मैले राम्रोसँग निकाल्नै पाइनँ भन्न खोज्छे । तर उसको आवाज कसैले मतलब गर्दैन ।
परम्पराको नाउँमा सबथोक बिर्से पनि ढुंगा हान्न जानेका हुन्छन् । सबै गाउँलेहरू ढुंगाहरू बटुल्न थाल्छन्। साना बालबालिकाले पनि ढुंगाहरू समात्छन्। कोही रुँदैन, कोही हिच्किचाउँदैन । सबैजना शान्त छन्, परम्परा मानेर । र त्यसै क्षण, त्यो गाउँ, त्यो उत्सव, त्यो लटरी । एउटा सामूहिक हिंसामा रूपान्तरण हुन्छ।
यो कथाको अन्त्यमा केवल दृश्य छ – एकजना महिला ढुंगाले हानिँदै मर्छे र बाँकी गाउँलेहरू आफ्नै दैनिकीमा फर्कन्छन्। गाउँ फेरि शान्त हुन्छ । मानौँ केही पनि भएको थिएन।
हाम्रो समाज र राजनीतिक दलहरूमा पनि कतिपय ‘लटरी’हरू छन्, जहाँ अन्याय, असमानता र भ्रस्टाचार निरन्तर चलिरहन्छ । किनकि ‘यस्तै त चलन हो’, ‘यो पार्टीको निर्णय हो’ ‘आदेश पालना गर्नु कर्तव्य हो’ भन्ने आइखमान सोच ब्याप्त छ ।
दलहरुभित्र मानिसहरू विरोध गर्न डराउँछन् । प्रश्न गर्न हिच्किचाउँछन् र मौन बस्छन्। तर, यही मौनता, यही विवेकहीन आज्ञापालन नै समाजको नैतिक पतनको सुरुवात भएको हो। जब हामी सोच्न छोड्छौं, प्रश्न गर्न छोड्छौं तब हामी दुष्टताको लटरी खेलिरहेका हुन्छौं।
प्रतिक्रिया 4