+
+
Shares
पुस्तक समीक्षा :

नारीसत्ताको ‘महायुग’

अघिल्लो जुनीमा हामीलाई देवी भनेर पूजा गरे । हामी चुपचाप बस्यौं । महान भनेर गुणगान गाए । चुपचाप बस्यौँ ।

एल. बी. क्षत्री एल. बी. क्षत्री
२०८२ कात्तिक १५ गते १४:४५

‘मैले जति पटक बोलाए पनि अब्बे बोलेन । आमा खोज्न धेरै टाढा गएछ क्यारे !’

सीमा आभासको उपन्यास ‘महायुग’ सुरु हुनुअघि रहेको ‘कथाअघि’को एक छोटो वृतान्तका अन्तिम छोटा-छोटा दुई पङ्क्तिका शब्दहरूले मलाई प्रभावित गरे । अरू केही होइन भाषाको मीठास अनि अन्त्यमा आएको ‘क्यारे !’ यो क्यारे त हाम्रो स्याङ्गजा तिर पनि बोलिन्छ । यसले भौगोलिक आत्मियताको अनुभूति पो गरायो । पुस्तकको प्रारम्भमै भेटिएको गाउँको गन्ध मिठो लाग्यो । उपन्यास कसरी मिठो न होला र ?

बुकहिलबाट प्रकाशित तीन पुस्तक ल्याएको थिएँ- महायुग, तोर्किन र उर्वशी । पहिला महायुगको पारदर्शी घुम्टो उघारेर पढ्न थालेँ। छोटा-छोटा सुन्दर वाक्यहरूमा तिखा-तिखा अर्थ भेटिँदै गए । पढ्दै गएँ । उपन्यासको शीर्षक सार्थकताबारे पछि लेखुँला तर ‘बस्ती’ अनि ‘केटाकेटी माग्ने’ दुवै शीर्षक सार्थक छन् । खोला छेउको बस्तीको चित्रण र गरिब बस्तीबाट बच्चाहरू संकलन गरेर महँगा निजी स्कुलमा पढाउन लाने घटना-वर्णन गजबको लाग्यो ।

प्रारम्भमा म पात्रको नाम थाहा हुँदैन । त्यसका लागि च्याप्टर ‘कथारम्भ छायादेवी’ कुर्नुपर्छ । हो तिनको नाम छायादेवी रहेछ । यस कृतिको भाषाले मुग्ध बनाएपछि ‘शिरदेखि पुच्छर पढ्ने छु’ भनेर अठोट गरें ।

एक दुई समीक्षकले यो उपन्यास नारी चेतना र नारीवादको परिप्रेक्ष्यमा लेखिएको छ भन्नुभएको छ । नारीवाद मेरो पनि चाखको विषय भएकोले म उत्सुक छु– लेखक सीमा आभासले नारी अनुभव र प्रतिरोधलाई कसरी न्याय गरेकी छिन् ? एक गम्भीर विमर्शको विषयलाई कसरी आख्यानीकरण गरिएको छ ?

मेरो दृष्टिकोणमा कवि आख्यानकार सीमा आभासको ‘महायुग’ नारीवादी चिन्तनबाट प्रेरित त अवश्य नै हो, तर नारीवादको व्याख्या वा बहस केन्द्रित आख्यान होइन । ‘समयको उडान’, ‘मृत्युभन्दा भयानक’ ‘अद्वैत कला’ आदि शीर्षकका च्याप्टरहरू पढ्दै गर्दा उपन्यासका कतिपय अंशमा कतै नारीवादी झिल्का त कतै तीव्र रूपमा नारीवादी स्वर प्रतिध्वनित छन् । तर, आख्यानकारको मूल प्रयोजन त्यो होइन । उनका लागि त्यो एक माध्यम बनेको छ, अन्त्य होइन । अन्त्य त महायुगको आरम्भ नै हो ।

आख्य र नीलाञ्जनाबीचको सम्बन्धको विश्लेषण गर्दा आख्यले नीलाञ्जनासँग विवाह गर्न उचित ठान्दैन, परिवन्द देखाउँछ तर शारीरिक सम्बन्ध बनाउन चाहन्छ ।

‘नीलाञ्जना आज म यहीं सुत्छु ।’ (पृष्ठ १४९)

आख्यको यस चाहनामा लुकेको छ पुरुषको कमजोर इच्छाशक्ति र स्वार्थप्रेरित चेतना । वास्तवमा यो एक असुरक्षित आत्माको स्वीकारोक्ति हो । मैले अन्यत्र पनि भनेको छु– पुरुष कमजोर प्राणी हो । ऊ अहम त गर्छ तर आफूलाई जहिले पनि असुरक्षित महसूस गर्छ । महिलाहरूकै हितका लागि पनि महिलाले पुरुषलाई संरक्षण दिनु आवश्यक हुन्छ ।

नीलाञ्जना संवाद गर्छिन् । उनको संवादमा प्रश्न छ, ‘हिजोको तिमी र आजको तिमी एकै होइनौ । अब तिमी विवाहित हौ । यसैगरी तिम्री श्रीमती कुनै केटा साथीको मा सुत्छु भनिन भने के हुन्छ ?’

नीलाञ्जनाको यो प्रश्न केवल एक भावनात्मक प्रतिक्रिया होइन, नारीवादी विमर्शको तात्त्विक गर्भ हो । उनी बोल्ड छिन् र यो उनको आत्मविश्वासले सोधेको प्रश्न हो । यस्तो प्रश्नको उत्तर कुनै कायर पुरुषले दिन सक्दैन, किनकी ऊ त मात्र एक पुरुष-प्रधान सोचको उत्पादन हो ।

यो नै हो लेखकको नारीवादी चिन्तन ।

मलाइ लाग्छ ‘महायुग’ उपन्यास लेखकद्वारा कालान्तरदेखि पुरुषसत्ताको गोटी बनेर बाँच्न बाध्य महिलाहरूको पीडाको कथाको जगमा मातृसत्तात्मक संसारको स्थापनाको एक परिकल्पना हो । लेखक दृढ छिन्- मातृसत्तात्मक परिपाटी नआएसम्म पृथ्वी अभिशप्त नै रहन्छ । त्यस अभिशापबाट मुक्ति पाउनका लागि एक ‘अखण्ड स्त्रीभूमि’को सृष्टि आवश्यक हुन्छ र लेखकले यस उपन्यासमा त्यसको रूपरेखा निर्माण गरेकी छिन् । यहीँबाट सुरु हुन्छ अखण्ड स्त्रीभूमिको स्थापनासँगै, पुस्तकको आवरणमा देखिएको ‘योनिमुद्रा’को प्रतीकात्मक परिकल्पना र ‘महायुग’को प्रारम्भ ।

अनि उपन्यास समाप्त हुन्छ ।

आधुनिक युगका तीन पुस्ताका महिला– छायादेवी, निलाञ्जना र ऋत्विजा, यस अभियानका रथसञ्चालक पात्र हुन् । उपन्यासमा नारी अस्तित्ववादको गहन तर केही हदसम्म एकतर्फी विमर्श गरिएको छ । रिपुमर्दिनीदेवीको प्रवेशपछि (पृ. २६८) प्रतीकात्मक लवजमा पुरुषसत्ताका पाप र कुकर्महरूको दार्शनिक विश्लेषण विस्तारसँग प्रस्तुत गरिएको छ ।

त्यही क्रममा उपन्यासमा एक अजूबा पात्रको प्रवेश हुन्छ । उसको नामाकरण ‘स्त्रीकुचाल’ भनेर गरिएको छ । उसको चरित्र वर्णन पनि अनौठै पाराले गरिएको छ । ‘यसले आफ्नो भेष जे पनि बनाउन सक्छ, जस्तो परिस्थिति आयो उस्तै बन्ने क्षमता राख्छ । कतै भिक्षु, पादरी, मौलाना, सन्यासी, मुर्ख, .. । महिलाका अगाडि आकर्षक पुरुष र पुरुषका अगाडि महिलाजस्तो बनेर हिँड्छ । तपाईंले छोडेर आएको समाजका हरेक ढोका-ढोकामा छ यो ।’ (पृष्ठ २७४)

कुचाल एक प्रतीक हो- पुरुषसत्ताको बहुरूपी छल र वर्चस्वको । लेखिकाले त्यसलाई यसरी व्याख्या गरेकी छन् – ‘यही कुचालले स्त्रीहरूको शक्तिलाई निधारमा बोकेर हिँडेको छ । हरेक स्त्रीको मनमा गएर बस्छ र सम्मोहन गराइदिन्छ, ताकि उनीहरू आफ्नै शरीरको लडाइँमा सीमित होऊन् ।….हरेक स्त्रीलाई शारीरिकरूपमा कमजोर छु भन्ने भान गराइदिन्छ ।… शक्तिको प्रार्थना गराई स्त्रीमानवलाई देवीमा परिवर्तन गराएर मान्छे हुनबाट वञ्चित गराइदिन्छ ।’ (२७५-२७६)

अन्ततः स्त्रीकुचाललाई मृत्युदण्ड दिइन्छ । उसको दहनपछि रिपुमर्दिनीदेवीले उद्‍घोष गर्छिन्– ‘अब स्त्रीयुगको सुरुवात हुन्छ ।’ (पृष्ठ-२८१) । वास्तवमा यो क्षण उपन्यासको दार्शनिक उत्कर्ष हो- जुन ‘महायुग’को केन्द्रीय रूपक बनेर उदाएको छ ।

उपन्यासमा स्त्री शक्तिबारे पनि भनिएको छ, ‘हे स्त्रीहरू तपाईंहरू जे चाहनुहुन्छ तस्तै सिर्जना गर्ने क्षमता तपाईंहरूमा निहीत छ । यो भूमि तपाईंहरूको हो ।’

एउटा ढुंगाको स्तम्भ स्थापित गरिएको छ जसमा खोपिएको छ– स्त्रीसंवत एक, एक, एक । त्यहाँ एक त्रिकोण ध्वजा छ जसमा लेखिएको छ- स्त्रीयुग र अर्कोमा- महायुग ।

उपन्यासमा पुरुषसत्ताले नारीलाई दिएको सामाजिक र मानसिक पीडाको वर्णन त छ नै साथै यसमा छ बौद्धिक पीडा जो लेखकको कलमबाट निकै मार्मिक शब्दहरूमा उजागर गरिएको छ- अघिल्लो जुनीमा हामीलाई देवी भनेर पूजा गरे । हामी चुपचाप बस्यौं । महान भनेर गुणगान गाए । चुपचाप बस्यौँ । आगोमा जलाए चुपचाप बस्यौँ । आमाको कोखबाट टुक्राटुक्रा परेर तान्दा दुख्यो । ऐया भनेनौं किनकी त्यो बेला हामीसँग आवाज थिएन । …सुन्न र बुझ्न पनि सकेनौँ ।’ (पृष्ठ ३१४)

वास्तवमा यी शब्दहरू नारीवर्गको विद्रोह नै हो । यो विद्रोह कुनै आकस्मिक विस्फोट होइन । यो त उनीहरूको युगौं-युगौं देखिको मौन पीडाको परिपाक हो । उपन्यासका यी वाक्यहरु कालान्तरदेखि अभिशप्त जीवन बाँच्न विवश बनाइएका नारीहरूको सामूहिक विद्रोह-स्वर हुन् ।

एउटा प्रश्नले मस्तिष्कमा स्थान ग्रहण गर्‍यो- यस स्त्रीयुगको महायुगमा सृष्टिलाई निरन्तरता दिने व्यवस्थापन खै त ? तर लेखक यसबारे पूर्व तयारीकासाथ सजग रहेको देखिन्छिन् । नारीवाद भित्रकै नारीको कम्जोर पक्ष पनि हुन्छ । यी र यस्ता कमजोरीसँग लेखक परिचिंत छिन् ।

महायुगको स्थापना हुँदा रिपुमर्दिनीदेवीले आफ्नो सम्बोधनमा स्त्रीहरूलाई भनेकी छिन्– तपाईंहरू सबै जवान हुनुहुन्छ । स्त्रीजन्य प्राकृतिक गुणलाई सम्मान गर्न तपाईंहरूलाई शारीरक हितैषी चाहिन्छ । त्यो हितैषीसँग शारीरिक आत्मिक मानसिक रूपमा अनुशासनबद्ध भएर यो सृष्टिलाई निरन्तरता दिनुपर्ने हुन्छ ।’ (पृष्ठ– ३२७)

‘नवायक र वीर्यवान’ शीर्षकको अनुच्छेदमा नवायुकहरूको जन्म हुन्छ (पृष्ठ ३२५) । नवायक मानवमा परिणित हुन्छन् र ‘वीर्यवान’ यिनको नाम तोकिन्छ । यी वीर्यवानहरू आत्मिक, मानसिकरूपमा अनुशासनबद्ध भएर शारीरिक हितैषीको रूपमा महिलाहरूका सहयोगीको भूमिकामा रहन्छन् ।

पृष्ठ ३२७ मा एक थप उदार पङ्क्ति पनि छ– हामी स्त्री, स्त्रीकै सम्बन्धमा बाँधिएर बस्न चाहन्छौं । एआईको युगमा लेखिएको यो उपन्यास आधुनिक यथार्थ, मिस्टिसिज्म र म्याजिक रियालिटीको संगम हो । यसमा विचार छ । विचारमा विद्रोह छ । वेदना र घृणा पनि छ । एक दूरदर्शी सपना छ । केही यथार्थ तर धेरै परिकल्पना छ । अन्ततः स्त्रीयुगको स्थापनाका लागि ‘महायुग’ को आरम्भ छ ।

‘महायुग’ केवल पढ्ने कृति होइन, अध्ययन गर्ने कृति हो । यसको व्याख्या-संरचना गहिरो छ, जसलाई हतारमा समेट्न कठिन छ।

सीमा आभासको साहस र धैर्य, परिकल्पना र चिन्तनप्रति – सलाम !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?