+
+
Shares

बकैती : झगडाभित्रको माया

सोच्नुस् त ! तपाई आर्थिक र पारिवारिक सम्बन्धको सकसबाट दिनहुँ गुज्रिनु परेको छ । त्यसैबेला परिवारको मियो अर्थात् पिताको देहान्त भयो भने के होला ?

सन्तोष पौडेल- सन्तोष पौडेल-
२०८२ कात्तिक १५ गते ८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वेबसेरिज \'बकैती\'ले मध्यम वर्गीय परिवारको दैनिक संघर्ष र सम्बन्धका जटिलताहरू प्रस्तुत गरेको छ।
  • कटरिया परिवारका सञ्जयले आर्थिक र पारिवारिक समस्यासँग जुध्दै छोरीको उच्च शिक्षाका लागि \'एफडी-फिक्स डिपोजिट\' तोड्नुपर्ने अवस्था आएको छ।
  • सञ्जय र उनका भाइबीच पिताको घर बेच्ने विषयमा विवाद छ, जसले परिवारभित्रको झगडा र सम्बन्धको जटिलता देखाउँछ।

बकैतीको अर्थ हो- ‘झगडा’ अर्थात् झगडालाई पनि यति सुन्दर तर मर्मस्पर्शी माध्यमबाट पेश गर्न सकिन्छ भन्ने कुरा निर्देशक अमित गुप्ताले हामीमाझ राखेका रहेछन् । यो कुरा मैले हिजो थाहा पाएँ । राति हेरिभ्याएँ । र, आज सबै माझ सेयर गर्दैछु ।

बकैती भारतीय वेब सेरिज हो । बकैटी फेला पार्नुमा दुइईदिनको झरीको भूमिका छ । झरीमा निथ्रुक भिजियो, उही त हो मध्यम परिवार हुनुको ओहोरदोहोर । अब मन पनि त रूझाउनुपर्‍यो । मन रूझाउन वेबसेरिज खोज्न थालें । र, भेट्टाएँ अन्तत: बकैती । सात भाग । छोटा, झण्डै ३० मिनेटभन्दा कम । कटरिया परिवारको संघर्ष । मध्यम वर्ग हुनुको पीडा । स-साना खुसी तर मसिना मानवीय संवेदनाका रोचक उपकथा, जहाँ हाँसो र पीडा सँगसँगै !

*** ***

बकैतीको मुख्य पात्र सञ्जय आफ्नै बाझैं लाग्यो । बा’ले पनि सञ्जयकै जस्तो झण्झट बेहेर्नुपर्छ, बेलाबखत । बा’को भोगाइले धेरै हदसम्म सञ्जयको भोगाइसँग मीत लगाउँछ । मध्यम वर्गीय परिवारभित्र अनेक झण्झट छन् । ती झण्झटभित्र सुन्दर पक्ष पनि छ अनि खराब पक्षहरू पनि उत्तिकै छ ।

एकैछिन मध्यम परिवारको सुन्दर र खराब पक्ष हटाइदिने हो भने बाँकी चाहिँ के रहन्छ ? सोचौं न- यादहरू, सम्बन्धका रसिला वान्कीहरू, कि नजरअन्दाज गरिएका मसिना जीन्दगीका भोगाइहरू ? कि सहजै पचाउन सकिने पुट्के झण्झटहरू वा दु:खैदु:खको पहाड जो कहिल्यै उक्लन सकिनेछैन जीवनभर ।

हो, मध्यम वर्गीय परिवारसँग सामाजिक, आर्थिक, मानवीय संवेदना र सम्बन्ध जस्ता जटिलताका आफ्नै स्वादहरू छन् । आफ्नै प्रकृतिका वाधाहरू छन् । मैले पनि मध्यवर्गीय परिवारको प्रतिनिधित्व गर्ने भएकोले ती स्वादहरू, ती वाधाहरू धेरथोर भोगेको छु जुन मनैबाट महसुस गर्न सक्छु ।

जसलाई मैले दैनिक जीवनमा भोग्दै-पन्छाउँदै यहाँसम्मको यात्रा गरेको छु । हुनत: वास्तविक संसारमा यो कुरा लागू नहोला तर मध्यम वर्गीय परिवारभित्र जुनस्तरको रोमाञ्चकता छ सायदै धनीहरूले त्यो मिस गर्नेछन् । तर, सम्बन्ध र जीवनका अन्तरकुन्तर रोमाञ्चकतालाई धनी हुनु, मध्यम वर्गको हुनु वा गरिब हुनुले फरकै के पार्ला र ? संवेदना र सम्बन्धहरू त मान्छेका निहीत विषय हुन् । भौतिक आवरण र वस्तुसँग यसको सम्बन्ध विरलै तुलना होला वा भनौं सम्बन्धित नहोला ।

*** ***

अब कुरा गरौं सेरिजको । बकैतीमा कटरिया परिवारको कथा छ । कथाभित्र मध्यम वर्गले भोग्ने दैनिक जीवनका आर्थिक, सामाजिक, पारिवारिक विरासत र सम्बन्धका स-साना समस्याका उपकथाहरू छन् । ती उपकथाभित्र कटरिया परिवारको जेठो पुत्र सञ्जय अर्थात् राजेश तैलाङ्गको अव्यक्त पीडा छ ।

उनको पीडाभित्र गुम्सिएका ‘घरमूली’ हुनुको मनोविज्ञानभित्र सामाजिक हैसियतसँग दिनहुँ जुध्नुपर्ने बाध्यताको अर्को उपकथा छ । सञ्जय एक छोरो र एक छोरीका पिता हुन । उनीसँग पिताले दिएको एउटा मकान (घर) छ । त्यो मकानभित्र उनको फेरि अर्कै संघर्ष र दु:खको अन्य कथाहरू छन् ।

आफ्नै पिताले दिएको मकानमा पितालाई नै बोलाएर ‘जसन’ नमाएको पनि वर्षौ बितिसकेको छ । घरभित्र कुनै कुनामा राखिएको ‘सन्दुक’ जस्तै समय पनि हराएको छ उनको दैनिकीबाट । सञ्जयका पिता भने भाइसँग बस्छन् । सञ्जयसँग भने ससुरा । भाइ ‘फर्निचर’को धन्दा सम्हाल्छ । सञ्जयको तुलनामा ऊ आर्थिक पाटोमा सबल छ । उसको जिन्दगीलाई लेखापढीको कामले ठिकठाकै चलाएको छ ।

छोरी पढाइमा अब्बल छे । छोरो मध्यम । छोरो क्रिकेटमा रूचि छ, छोरीको मुम्बैको ‘टप’ कलेजमा पढ्ने सपना । श्रीमतीले सिलाइबुनाइ जानेकी छे । बुटिकको सपना छँदैछ । तर, जब दिनहुँ आर्थिक उल्झनको ढुङ्गोले एकाएक उसको वास्तविकतालाई हिर्काउँछ । ऊ झस्किन्छ । तब सञ्चय चाहन्छ- घरको एउटा कोठा भाडामा लगाउन ।

भाडाको पैसाले उसको दैनिकी सहज त बन्छ नै ! तर छोराछोरीले सम्झौता गर्नुपर्ने हुन्छ- एउटै कोठा सेयर गरी । अब कहानीमा सानो ट्वीस्ट आउँछ, के छोराछोरी मान्लान् त ? रोमाञ्चकताको मोड यतैबाट कथाले पक्रिन्छ ।

सञ्जयले छोरीको उच्च शिक्षाका लागि ‘एफडी-फिक्स डिपोजिट’ पनि गरेको छ तर छोरीको म्याक्ट्रिक्स सकिनु र कटरिया परिवारमा दाजुभाइबीच आइपर्ने झगडाका कारण उच्च शिक्षाका लागि राखिएको ‘एफडी-फिक्स डिपोजिट’ तोड्नुपर्ने मोडमा पुग्दा त कथा जङ्गलमा भेटिएको मौरिको घार झैं लाग्छ ।

सञ्जयले भोग्दै आएको यो झन्झटमा साथ दिन धर्मपत्नीको चरित्र सुष्मा अर्थात् शीबा चड्ढाले निभाएकी छिन् । उनको अभिनय यो वेबसेरिजमा मलाई किन अत्यधिक मन पर्‍यो भने पत्नीको चरित्रबाट अनुहारमा जुन तहको ‘पीडा’ रिफ्लेक्ट भएको छ त्यो अद्‍भुत छ ।

कोही मान्छेले म ‘सिनेमा’ गर्दैछु भन्ने थाहा पाउँदा-पाउँदै पनि हेर्नेलाई उस्तै तहको अनुभूत गराउन सक्नेगरी चरित्र निर्वाह कसरी गर्न सक्छ ? म शीबा चड्डाको अभिनय देखेर हैरान छु । शायद, थुप्रै सिनेमा तथा वेबसेरिजमा छोटो तर प्रभावशाली उपस्थिति, चरित्र निर्वाहले उनको अभिनयलाई जीवन्त बनाएको छ । उनी अब्बल अभिनेत्रीमा दर्ज छिन्।

उसो त राजेश तैलाङ्गको पनि अभिनय कम छैन । उनको ‘बन्दी डाकुहरू’ वेवसेरिजमा निभाएको चरित्रबाट त म झनै प्रभावित भएको थिएँ । उनले नसिरुद्दीन शाहको छोराको भूमिका निर्वाह गरेका छन् जो एक सांगितिक परिवारको विरासत बोक्छ ।

*** ***

फेरि फर्कौं बकैतीतर्फ !

सोच्नुस् त ! तपाई आर्थिक र पारिवारिक सम्बन्धको सकसबाट दिनहुँ गुज्रिनु परेको छ । त्यसैबेला परिवारको मियो अर्थात् पिताको देहान्त भयो भने के होला ? कस्तो अवस्था सिर्जना होला ? त्यो मान्छे कुनहदसम्म टुट्छ होला ? सञ्जयले त्यस्तै परिस्थितीबाट गुज्रनुपर्छ । एकातिर घरभित्रको सकस छँदैछ, झन् त्यसमाथि अर्को बज्रपात । त्यसबेलाको चाँजोपाँजो त भाइले मिलाउँछ तर कुरा कहाँ आएर बिग्रन्छ भने सञ्जय बसेको घर भाइ बेच्न चाहन्छ ।

भाइ सञ्जयलाई सम्झाउँछ- घर बेचेर दुवैको समस्या समाधान गर्ने ।

दुवैको बाल्यकाल यही घरमा बितेको थियो । आफ्नो मातापितासँग बिताएको एकमात्र यादहरूको संग्रह जुन गाजियावादको यै घरसँग मात्र छ । शायद पिताको देहान्तपछि सञ्जयसँग भएको सबैभन्दा सुन्दर उपहार जसलाई गुमाउन ऊ तयार छैन । यसै वहानामा भाइसँग हुने वेमेल वा बकैती अर्थात् झगडा तर मिठ्ठो शैलीमा । धेरै लेखिन फेरि मैले अन्याय गर्न सक्छु । न्याय गर्न त मध्यम परिवारको भोगाइ शहरको कुनै मनपर्ने चिया पसलमा बनेको चियाझैं चाख्न, हेर्नैपर्ने पो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?