+
+
Shares

नर्सका मागबारे छलफल गर्न आज पनि मन्त्रालयमा बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १५:०२
स्वास्थ्य मन्त्रालयमा शनिबार नर्स र निजी अस्पताल प्रतिनिधिबीच भएको वार्ता ।

१७ कात्तिक, काठमाडौं । आन्दोलनरत नर्सहरूका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा सोमबार पनि बैठक बस्ने भएको छ ।

नेपाल नर्सिङ संघले नर्सहरूका विभिन्न मागलाई लिएर अस्पताल सञ्चालकसँग शनिबार सहमति गरेको थियो । तर, आइतबार आन्दोलनरत नर्सले विरोध जनाएपछि नर्सिङ संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

एकतर्फी ढंगले निर्णय गरेको आरोप लगाउँदै नर्सहरू आन्दोलित बनेपछि नर्सिङ संघ सहमतिबाट पछि हटेको छ ।

संघले आन्दोलनरत नर्सहरूकै मागअनुसार, आन्दोलनका कार्यक्रम निरन्तरता दिने निर्णय गरेको छ ।

संघका महासचिव देवकुमारी आचार्यद्वारा जारी विज्ञप्तिमा सरकारलाई सम्पूर्ण माग पूरा गर्न ४८ घण्टाको अल्टिमेटम दिइएको छ ।

उक्त सहमति आन्दोलनरत नर्सहरूले विरोध गर्दै आन्दोलन जारी राखेपछि पुनः बैठक बस्न लागिएको नर्सिङ संघर्ष समितिकी संयोजक ज्योति रानाभाटले बताइन् ।

रानाभाटले सरकारले तोकेको न्यूनतम तलब र तहगत सुविधा कार्यान्वयन गर्नुपर्ने नै बटम लाइन भएको बताइन् ।

उनले नर्सहरूको मुख्य माग भनेको मन्त्रालयले विगतमा गरेका परिपत्र र निर्णयहरूलाई हुबहु कार्यान्वयन गर्नु रहेको बताइन् ।

निजी मेडिकल कलेजहरू र ठूला निजी अस्पतालले कात्तिक महिनादेखि नै पूर्ण रूपमा सरकारी पाँचौं तह अर्थात् ३४ हजार ७३० रुपैयाँ तलब दिने सहमति भएको थियो ।

त्यसैगरी, अन्य निजी अस्पतालहरूले भने हाललाई २७ हजार ७८४ तलब दिने र एक महिनाभित्र अस्पतालको वर्गीकरण गर्दै सरकारी सरह नै पुर्‍याउने सहमति भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा, मन्त्रालयका सचिव डा. विकास देवकोटा, सरकारले गठन गरेको कार्यदलका संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, नेपाल नर्सिङ संघका अध्यक्ष चन्द्रकला शर्मा र निजी मेडिकल कलेज तथा अस्पताल संचालकहरूबीच भएको वार्ताबाट उक्त सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?