२१ कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चर्चित व्यक्ति भित्र्याउने नाममा पार्टीमा नेतृत्वको आयात गर्न नसकिने धारणा अघि सारेको छ ।
कुलमान घिसिङ लगायतका व्यक्तिहरुलाई पनि जोडेर लैजाने विषयमा पटक-पटक आन्तरिक छलफल भइरहेको सन्दर्भमा मूल नेतृत्वको रूपमा त्यस्ता व्यक्ति ल्याउन नसकिने धारणा रास्वपाले ल्याएको हो ।
चितवनको सौराहामा जारी पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्दै रास्वपामा सभापति रवि लामिछानेकै नेतृत्वको निरन्तरताको वकालत गरेका हुन् ।
‘पार्टी रिफर्म’ गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्ति/व्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदा-हुँदै पनि ‘रिफर्म’ वा ‘स्वागत’ को बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन ।’
उनले अहिलेको नेतृत्वलाई विस्थापित नभइ स्थापित गरेर जानुपर्ने उल्लेख गरेका छन् ।
रास्वपाका धेरै नेताहरूले वैकल्पिक शक्तिको रूपमा उदाइरहेका समूह र व्यक्तिहरूलाई पार्टीमा जोड्नका लागि अनौपचारिक छलफल गरिरहेको थियो । त्यसक्रममा घिसिङ लगायतसँग रास्वपाले छलफल गरेको थियो । तर घिसिङ लगायतका व्यक्तिहरूले पार्टीको नेतृत्व नै दाबी गरेको भन्ने चर्चा भइरहेका बेला रास्वपाभित्र यसलाई स्वीकार्न नसक्ने भन्ने औपचारिक राजनीतिक प्रतिवेदन नै तयार भएको हो ।
अर्यालले पार्टी ‘रिफर्म’ को आवाज र यथार्थ शीर्षकमा छुट्टै बुँदा नै राजनीतिक प्रतिवेदनमा राखेका र नेतृत्वको निरन्तरताको बारेमा प्रस्ताव गरेका छन् ।

‘चौतर्फीरूपमा योजनावद्ध तरिकाले मूलमूल नेतृत्वमा प्रहार गरी पार्टीलाई नै सकाइदिने योजनालाई बुझ्न सकेनौं भने हामीले पनि हार्छौं र जनतालाई पनि हराउँछौं । त्यसैले अहिले नेतृत्वहरूलाई विस्थापति होइन, स्थापित गर्ने समय हो’ कार्यवाहक सभापति अर्यालले भनेका छन् ।
उनले रास्वपा ४० महिनाको बामे सर्दै गरेको पार्टी भएकाले यसले सिक्ने क्रम जारी रहेको उल्लेख गरेका छन् ।
‘रास्वपा ४० महिनाको पार्टी हो, बामे सर्दै गरेको । हामी गर्दै र सिक्दैको क्रममा छौं । यसक्रममा हामीले हाम्रो विधान, संगठनात्मक संरचना एवं पार्टी सञ्चालन प्रक्रिया तथा संगठनको विभिन्न तहमा नेतृत्व परिवर्तन, जिम्मेवारी हेरफेर र थपघटका कार्य पनि गर्दै आएका छौं’ उनले भनेका छन्,’ पार्टीका समितिहरूलाई समावेशी बनाउने प्रक्रिया निरन्तर महत्त्व र प्राथमिकतामा छ । हामी पुराना पार्टीहरू जस्तो पूरै भत्काएर नयाँ ‘रिफर्म’ गर्नुपर्ने अवस्थामा छैनौं । हामी त पार्टी निर्माणकै क्रममा छौं ।’
एक जीवन्त राजनीतिक पार्टी भएकाले रास्वपा समीक्षा, स्वीकार र पुनर्संरचनाको प्रक्रियाबाटै अघि बढ्ने उनले उल्लेख गरेका छन् ।
उनले व्यक्तिगत रूपमा सबैका कमजोरी (मानवीय र प्रवृत्तिगत) हुने उल्लेख गर्दै त्यस्ता कमजोरी आफूमा पनि रहेको र नेतृत्वमा रहने सबैका सीमा रहेको बताएका छन् ।
‘ज्ञानको सोचाइको अनुभवको चरित्रको स्वभावको । त्यसैले हामीले सामूहिक नेतृत्वको अभ्यास गरिरहेका छौं । तर, हामीले आफूलाई सर्वगुण सम्पन्न र अर्को गुणहीन सम्झेर ‘रिफर्म’ को योजना बनायौं भने राजनीतिक र समाजशास्त्रीय हिसाबमा कच्चा बुझाइ हुनेछ’ उनले भनेका छन् ।

रिफर्मको नाममा प्रतिगमनको खतरा
पार्टीभित्र रिफर्मको कुरा गर्नेलाई उनले ‘रिफर्म’ को नाममा प्रतिगमन हुन सक्ने भन्दै सचेत गराउन खोजेका छन् ।
‘रिफर्म’ नीति- विचार ( राजनीतिक दृष्टिकोण), विधान ( सांगठनिक संरचना) र मूल्य-मान्यता (कार्यशैली) मै हो कि, केही पद र व्यक्तिहरूको व्यवस्थापनका लागि मात्र भन्ने कुरामा पनि स्पष्ट हुन आवश्यक छ । जिम्मेवारी हेरफेर र पदपूर्ति मात्रै हो भने ती ‘रिफर्म’ का विषय होइनन्, नियमित अभ्यासका हुन्’ कार्यबहाक सभापति अर्यालले भनेका छन् ।
आग्रह-पूर्वाग्रह र व्यक्तिगत महत्वकांक्षाको लेपन नलगाई खुला र हार्दिक छलफल गर्न सक्दा मात्र पार्टीलाई नयाँ रफ्तारमा अगाडि बढाउन सक्ने उनले उल्लेख गरे ।
उनले ‘रिफर्म’ का नाममा भइरहेका सबै तर्क र गतिविधिको अपनत्व लिएर पनि पार्टी अगाडि बढ्न नसक्ने धारणा अघि सारेका छन् ।
‘रिफर्म’ नीति- विचार ( राजनीतिक दृष्टिकोण) विधान ( सांगठनिक संरचना) र मूल्य- मान्यता (कार्यशैली) मैं हो कि केही पद र व्यक्तिहरूको व्यवस्थापनका लागि मात्र भन्ने प्रश्न पनि उठेको छ’ उनले भनेका छन् ।

पार्टीमा पदहरू थपघट गरेर ‘रिफर्म’ गर्न खोजिएको हो भने, त्यसअघि विधान संशोधन गर्नुपर्ने प्रावधान रहेको उनले सम्झाएका छन् । ‘विधानको प्रावधान विपरीत कुनै पनि परिवर्तन सम्भव हुन्न । होइन, रिक्त रहेका पदहरूमा जिम्मेवारी पाऊँ भन्ने हो भने छलफल गरौं । पार्टीका पदाधिकारी नै परिवर्तन गर्ने कुरा हो भने, त्यसका लागि महाधिवेशन नै पर्खिनुपर्छ । पहिलो महाधिवेशन नै सम्पन्न नभइसकेको अवस्थामा कसरी र कुन ढाँचामा भन्ने प्रष्टता विना ‘रिफर्म’ को नाराले सार्थक परिणाम दिँदैन,’ उनले भनेका छन् ।
उनले यो विस्तारित बैठकले पार्टीमा संरचनात्मक फेरबदल गर्न नसक्ने उल्लेख गरेका छन् ।
‘आग्रह-पूर्वाग्रह, व्यक्तिगत महत्वकांक्षा वा क्षणिक आत्मसन्तुष्टिका लागि होइन पार्टी ‘रिफर्म’ बारे हामीले निरन्तर पार्टीका सबै संरचनामा गम्भीर र सार्थक बहस चलाउनु पर्छ । म आग्रह गर्दछु, पार्टी रिफर्म’ बारे कुनै प्रस्तावको मस्यौदा बनाइएको छ भने ल्याउनुस् महाधिवेशनसम्म पार्टीभित्र खुला छलफल गरौं’ कार्यबहाक सभापति अर्यालले भनेका छन् ।
प्रतिक्रिया 4