२३ कात्तिक, काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आइतबार उनीविरुद्ध थप अनुसन्धानका लागि ८ दिन अनुमति दिएको हो ।
६६ वर्षीय कार्की अवकाशप्राप्त सहसचिव हुन् । प्रहरीका अनुसार, उनी चितवनको भरतपुर महानगरपालिका–१५ मा बसोबास गर्दै आएका छन् ।
उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले जानकारी दिए ।
संस्थालाई नोक्सानी हुनेगरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
नेपाल ट्रस्टका नाममा दर्ता कायम रहेको काठमाडौंको जग्गा बदनियत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
प्रतिक्रिया 4