+
+
Shares

बेलायतमा नर्सिङतिर आकर्षित हुँदैछन् नेपाली

एनएचएसमा रजिस्टर्ड नेपाली नर्सको संख्या ३ हजार ५६२ छ । यद्यपि, एनएचएस बाहेक अन्य केयर होमतिर काम गर्ने नेपाली नर्सहरू पनि उत्तिकै छन् । नर्स कन्सल्टेन्ट बनेका नेपालीको संख्या पनि बढ्दो छ ।

नवीन पोखरेल नवीन पोखरेल
२०८२ कात्तिक २४ गते १५:१९

२४ कात्तिक लन्डन । लन्डन नर्थ वेस्ट हेल्थ केयर एनएचएस ट्रस्टमा क्रिटिकल केयर आउटरिच स्पेसलिस्ट प्रसुना कँडेल झन्डै २० वर्षदेखि बेलायतमा नर्सिङ पेसामा छिन् । उनले यही पेसामा रहँदा बर्क्स र यूडब्लूएल युनिभर्सिटीमा एसोसिएट लेक्चररको जिम्मेवारीसमेत पाएकी छन् ।

‘कामको चाप र मानसिक तनाव छ, तर आकर्षण पनि छ,’ प्रसुनाले सुनाइन्, ‘यस पेसामा सम्मान र कमाइ लोभलाग्दो छ । त्यसकारण नर्सिङप्रति आकर्षित हुनेको संख्या बढिरहेको छ ।’

बेलायती विश्वविद्यालयहरूले वर्षेनी उत्पादन गरिरहेका नर्स र अन्तर्राष्ट्रिय नर्सहरूको आगमनले अहिले काम पाउन भने केही गाह्रो रहेको उनले सुनाइन् ।

‘स्वास्थ्य सेवा त सधैं खाँचो हुन्छ, किनभने मानिस बिरामी भइरहन्छन्, नयाँ जन्मिरहेका छन्,’ उनको तर्क छ, ‘कोभिडपछि अझ हेल्थ केयर प्रोफेसन सधैं चाहिने रहेछ भन्ने महसुस भयो । कामको चाप बढी भए पनि डिमान्डसमेत बढिरहेको छ ।’

पे-स्केल चित्तबुझ्दो छ । तर बेलायतको महँगी दिनहुँ बढेकाले जीवनयापन थप कष्टकर बन्दै गएको अनुभव पनि उनीसँग छ ।

प्रसुना कँडेल ।

नेपालमा सन् १९९८ देखि र बेलायत आएर सन् २००४ देखि नर्सिङमा लागेकी सुनिता गौतम हाल अक्सलिज एनएचएस फाउन्डेसन ट्रस्टमा स्पेसलिस्ट नर्सका रूपमा कार्यरत छिन् । उनी नर्सिङ आकर्षण बढ्नुमा चित्तबुझ्दो आर्थिक पक्ष (कमाइ), अवसर धेरै, आत्मसन्तुष्टि, विश्वसनीय जागिर र छुट्टै पहिचान प्रमुख कारण देख्छिन् ।

‘क्वालिफाइड भएपछि सजिलै जागिर पाउन सकिन्छ, यद्यपि यतिखेर रिक्रुटमेन्ट प्रक्रिया स्लो छ,’ उनले भनिन्, ‘कतिपय सरकारी निकायमा भ्यालिडेसनमा नर्सको हस्ताक्षर चल्ने हुFदा गर्व लाग्छ ।’ यही पेसामा २०० बढी सेक्टरमा काम गर्न पाइने अवसर रहेको उनले सुनाइन् ।

नेपलिज नर्सिङ एसोसिएसन यूकेकी निवर्तमान अध्यक्ष एवं हाल सल्लाहकार गौतमले बेलायतमा नर्सले अनुभव र कामका आधारमा मासिक ३ देखि ५ हजार पाउन्डसम्म कमाउन सक्ने जनाइन् ।

एनएचएसमा छन् २०० देशका नागरिक

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) इङ्गल्यान्डले अगस्ट २०२५ सम्म हेडकाउन्टको आधारमा लगभग १५ लाख मानिसलाई रोजगारी दिएको छ । यसमध्ये पूर्णकालीन कर्मचारी संख्या १४ लाख छ ।

यो तथ्याङ्कमा एम्बुलेन्स, कम्युनिटी, मानसिक स्वास्थ्य र अस्पताल सेवाका कर्मचारी साथै कमिसनिङ भूमिकामा रहेका एनएचएस इङ्गल्यान्ड जस्ता केन्द्रीय निकायमा काम गर्ने जनशक्ति पनि समावेश छ, जसले यसलाई इङ्गल्यान्डको सबैभन्दा ठूलो रोजगारदाता बनाएको छ ।

यसबाहेक, एनएचएसले रोजगारी नदिएका पनि यससँग आवद्ध भएर काम गर्छन् । जस्तै, जनरल प्राक्टिस (जीपी) मा काम गर्ने लगभग एक लाख ५० हजार र दन्त चिकित्सक २५ हजार बढी छन् ।

एनएचएसमा इङ्गल्यान्डमा धेरैजसो कर्मचारी बेलायती छन्, तर लगभग १९ प्रतिशत गैरब्रिटिस रहेको तथ्यांक छ । एनएचएस वर्कफोर्स स्टाटिसटिक्सका अनुसार, गत जुन २०२३ सम्म १५ लाख कर्मचारीमध्ये लगभग २ लाख ६५ हजार गैरब्रिटिस थिए ।

ती कर्मचारी २०० भन्दा बढी राष्ट्रियता भएका हुन् । तथ्यांकअनुसार, एक लाख २२ हजार एसियाली नागरिक (८.६ प्रतिशत) छन् भने ७० हजार (५.२ प्रतिशत) युरोपियन युनियनका नागरिक छन् ।

उक्त तथ्यांकमा रजिस्टर्ड नेपाली नर्सको संख्या ३ हजार ५६२ छ । यद्यपि, एनएचएस बाहेक अन्य केयर होमतिर काम गर्ने नेपाली नर्सहरू पनि उत्तिकै छन् । नर्स कन्सल्टेन्ट बनेका नेपालीको संख्या पनि बढ्दो छ ।

 

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) इङ्गल्यान्डले अगस्ट २०२५ सम्म हेडकाउन्टको आधारमा लगभग १५ लाख मानिसलाई रोजगारी दिएको छ । यसमध्ये पूर्णकालीन कर्मचारी संख्या १४ लाख छ ।

गत वर्ष बेलायत र नेपाल सरकार (जीटूजी) बीच भएको श्रम सम्झौताअन्तर्गत मार्चदेखि मे अन्तिमसम्म विभिन्न चरण गरी नेपालबाट ४२ जना नर्स बेलायत आएका छन् ।

एनएचएसमा झन्डै १७ वर्ष वरिष्ठ व्यवस्थापकको रूपमा काम गरेर स्वेच्छिक अवकाश लिएका डा. बच्चुकैलाश कैनी बेलायतका अरू सार्वजनिक सेवामा भन्दा एनएचएसमा काम गर्नु फरक रहेको बताउँछन् ।

‘एनएचएसमा स्वास्थ्यकर्मीहरूले गर्नुपर्ने कामको बोझ धेरै छ र अरू कामको तुलनामा उनीहरूको काम बढी तनाव र मानसिक बोझ थप्ने किसिमको छ,’ कैनीले भने, ‘बेलायतमा जहिले पनि सेवाग्राही ठिक हुन्छन् अर्थात् उनीहरूप्रति सबै किसिमले सन्तुष्ट पार्ने काम मात्र गर्नुपर्छ भन्ने मान्यता राखिन्छ, जुन आफैंमा चुनौतीपूर्ण मात्रै होइन् कठिन पनि छ ।’

कैनीको बुझाइमा जनसंख्या वृद्धि र रोगको प्रकार वा प्रकोपमा भएको वृद्धिले बेलायतको एनएचएसले दिनुपर्ने स्वास्थ्य सेवा विस्तार भए पनि त्यही अनुपातमा सरकारी लगानी अर्थात् बजेट भने बढ्न सकेको छैन । यसकारण सरकारी सेवा प्रदायक वा एनएचएस ट्रस्टहरू सीमित स्रोत-साधनले काम गर्नुपर्ने अवस्थामा छन् । यसको सिधा नकारात्मक प्रभाव स्वास्थ्यकर्मीहरूको वृत्ति विकास, उनीहरूले पाउने सेवा र सुविधामा परिरहेको छ ।

एनएचएसमा अझै छ जनशक्ति अभाव

एनएचएसमा जनशक्ति वृद्धिका बाबजुद अहिले लगभग एक लाख पद रिक्त रहेको तथ्यांक छ । ब्रिटिस मेडिकल एसोसिएसनले एनएचएसमा पर्याप्त जनशक्ति अभाव रहेको बताएको छ ।

वर्षौंदेखिको अपर्याप्त जनशक्ति योजना, समस्या समाधानका लागि जवाफदेहिताको अभाव, कर्मचारीहरूको नगन्य मूल्याङ्कन र न्यून लगानीले राष्ट्रिय स्वास्थ्य सेवामा दीर्घकालीन जनशक्ति संकट रहेको एसोसिएसनले जनाएको छ ।

एसोसिएसनका अनुसार, एनएचएसलाई आवश्यक पर्ने चिकित्सकहरूलाई राम्रोसँग तालिमको कुनै कदम नचाल्दा मागको तुलनामा कर्मचारी संख्या घट्दै गइरहेको छ, जसले गर्दा काम गर्ने अवस्था, बिरामीको पालो आउने अवधि र हेरचाहको गुणस्तरमा थप असर परिरहेको छ ।

डा. कैनीको भनाइमा बेलायतको एनएचएसमा काम गरेको स्वास्थ्यकर्मी संसारको जुनसुकै देशमा गएर काम गर्न सक्षम र सवल हुन्छ । त्यसैले पनि एनएचएसमा काम गर्दै गरेका हजारौं स्वास्थ्यकर्मी बेलायतबाट विश्वका अन्य विकसित मुलुकहरू जस्तै- अष्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपका अन्य मुलुकमा पलायन भएका छन् । उदाहरणका लागि, बेलायतबाट हरेक वर्ष १ हजार ५०० बढी चिकित्सक अष्ट्रेलिया जाने गर्छन् ।

हरेक ६ जना स्वास्थ्यकर्मीमा एक जना अर्थात् १८ प्रतिशत जति एनएचएसमा काम गर्ने स्वास्थ्यकर्मीहरू विदेशी भूमिमा जन्मेर उतै पढेर बेलायत आएको तथ्यांक छ । उनीहरू एक निश्चित अवधि काम गरी आर्थिक रूपमा स्वाबलम्वी भएपछि एनएचएसबाट स्वेच्छिक रूपमा अवकाश लिन्छन् र आफ्नो रुचिको काम गर्छन् वा आफ्नै देश फर्कन्छन् ।

‘मैले पनि एनएचएसमा झन्डै १७ वर्ष वरिष्ठ व्यवस्थापकको रूपमा काम गरेपछि मेरो सेवा गर्ने र पूर्ण पेन्सन लिने उमेर बाँकी छँदै ‘अर्ली फिप्तिज’ मा स्वेच्छिक रूपमा पेन्सनमा अवकाश लिएर प्राज्ञिक क्षेत्रमा काम सुरु गरें,’ कैनी थप्छन्, ‘म जस्तै थुप्रै स्वास्थ्यकर्मी जीवनको उत्तरार्धमा एनएचएसको व्यस्त र तनावपूर्ण जागिर छोडेर आफूलाई मन पर्ने वा रुचिको काम गर्न थाल्छन् ।’

उल्लेखित कारण एनएचएसमा काम गर्ने स्वास्थ्यकर्मीहरूको भर्ना, उनीहरूलाई निरन्तर काममा लगाउन र लामो समय टिकाउन एनएचएसलाई गाह्रो परेको छ ।

यसका लागि हालको लेबर सरकारले नयाँ नीति जस्तै स्वास्थ्यकर्मीहरूको सेवा र सुविधामा पुनरावलोकन, मानसिक स्वास्थ्य ख्याल राख्न कार्यक्रम, उचित रूपमा स्वास्थ्यकर्मीहरू भर्ना गर्ने योजना आदि ल्याएर चुनौतीसँग लड्ने र समाधान गर्ने प्रयास गरेको छ ।

लेखक
नवीन पोखरेल

नवीन पोखरेल अनलाइनखबरका लागि बेलायतका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?