२४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।
निर्वाचन गराउने म्याण्डेट पाएको अन्तरिम सरकारका मन्त्रीहरू अरू नै गतिविधि गरेर हिँडिरहेको आरोप लगाउँदै ओलीले संयमित हुन आग्रह गरेका हुन् ।
ओलीले चेतावनीको भाषामा भने, ‘अहिले सरकारका मन्त्रीजीहरूलाई धेरै जिब्रो नचलाउन आग्रह गर्न चाहन्छु, अनि फागुन २१ गते चुनाव गराउने भन्या होइन तपाईंहरूलाई, सुन्नु भा छैन ?’
सोमबार एमालेले राष्ट्रिय सभागृहमा आयोजना गरेको घर फर्क अभियानलाई सम्बोधन गर्दै ओलीले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति आक्रोश पोखे ।
‘कहिले राजदूत फिर्ता गरेको छ, फिर्ता नगर भनेर अदालतले भन्छ, धम्क्याएर तुरन्त त्यही टिकटमा नआउने भए टिकटको पैसा पनि आफैं तिरौला, कुन्नी के पनि गरौला, यहाँ आएर हाजिर हुनु,’ राजदूतलाई मन्त्रालयमा हाजिर गराउने सरकारको निर्णयप्रति ओलीले तीव्र असन्तुष्टि व्यक्त गरे ।
कतिपय राजदूत बहालवाला मन्त्रिपरिषद्का सदस्यभन्दा पनि माथिल्लो ओहोदाको भएको तर्क गर्दै ओलीले राजदूतलाई मन्त्रालयमा हाजिर गराउने कुरा नियम संगत नभएको दाबी गरे ।
उनले भने, ‘अहिलेको सरकारभन्दा पनि अलि माथिका मान्छे पनि एम्बास्डर हुन जान्छन्, देशको प्रतिनिधिको हैसियतले, सरकारको मात्रै प्रतिनिधि हुँदैन, देशकै प्रतिनिधित्व गर्नका लागि सहसचिव मात्रै होइन एम्बास्डर, इन सर्भिसबाट मात्रै गएका छैनन् अहिले फिर्ता बोलाइएका एम्बास्डर, अनि फिर्ता बोलाएर एम्बास्डरले परराष्ट्र मन्त्रालयमा हाजिर गरेर बस्नु अरे, के आदेश कुन संसारमा छौ बाबा तिमीहरू ? कुन संसारमा छ यो सरकार ?’
ओलीले अगाडि भने, ‘कानुन थाहा छ कि छैन, कूटनीति थाहा छ कि छैन, एम्बास्डर भनेको के हो थाहा छ कि छैन, अनि इन सर्भिसबाट गएको सहसचिव त होइन नि, इन सर्भिसबाट गएको सचिव पनि होइन नि, उ त त्यो भन्दा बाहिरबाट गएको एउटा विद्वत् व्यक्तित्व हो, उ गएर परराष्ट्रमा हाजिर गर्ने ? कुन हाजिरी पुस्तिकामा हाजिर गर्ने ? के भन्नेमा हाजिर गर्ने ? कुन स्यालरी ? कुन सुविधा ? के मा हाजिर गर्ने ? यस्ता हावा कुराहरू गर्ने, अलि सम्हालिएर त बोल्ने, व्यवहार गर्ने गर्नुपर्छ नि सरकारले ।’
अहिलेको सरकारको आयु २१ फागुनको चुनावसम्म रहेको भन्दै ओलीले पटकपटक संयमित हुन आग्रह गरे ।
उनले भने, ‘जत्ति उफ्रिए पनि फागुन २१ मा त पद सिद्धिन्छ त, म्यादी पनि कति छ भन्दाखेरी ४ महिना बाँकी छैन फुर्ती चैं घाम-जुन रहिन्जेल रहने हुन् कि जस्तो छ, चार महिना बाँकी छैन, मानिलिउँ उनीहरूले ४० वर्ष खाने हुन् कि जस्तो गरेर यसो गर्दिन्छु भन्या छ उसो गर्दिन्छु भन्या छ, ताउर र माउर गर्या छ ।’
ओलीले अहिलेको सरकारले चुनाव नगराउने दाबी समेत गरे । म्याण्डेटभन्दा बाहिरका गतिविधि गरेर सरकार आफ्नो आयु लम्ब्याउनतर्फ लागेको ओलीको आरोप छ ।
चुनाव गराउन चुनौती दिँदै ओलीले भने, ‘चुनाव गराएर देखाउन न त, जिम्मा दिएको काम पो गर्नुपर्थ्यो त, यो सरकारले चुनाव गराउन बनेको होइन, यस्ता हामीले विभिन्न देशमा देखेका छौं, अरू देशमा पनि देखेका छौं ६ महिनामा चुनाव गराउने हरेकलाई भनिएको हुन्छ तर कोही देशमा ५–६ वर्ष भो, कोही देशमा डेढ वर्ष भो, असम्भव असम्भव कुरा गरेर चुनाव नगर्ने संकेत कतिले देखाइरहेका छन् त्यसर्थ यो सरकारले चुनाव गराउँदैन ।’
सरकारलाई एमाले मान्यता नदिने बताउँदै ओलीले सरकारका असंवैधानिक कदमविरुद्ध लड्न आह्वान गरे । एमाले विघटित प्रतिनिधि पुनर्स्थापनाको एजेण्डामा अघि बढ्ने ओलीको भनाइ छ ।
प्रतिक्रिया 4