News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङ जिल्ला उद्योग वाणिज्य संघले ३२औं वार्षिक साधारणसभामा अतिथिलाई स्थानीय मास र गेडागुडी उपहारस्वरूप दिएको छ।
- नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न र आयात प्रतिस्थापन गर्न स्थानीय वस्तुहरूको प्रचार आवश्यक भएको बताए।
- ढकालले प्लास्टिकजन्य सामग्रीको सट्टा स्थानीय बाँस र निगालोबाट बनेको चोयाको डाली प्रयोग र संरक्षणको सन्देश दिन सक्ने उल्लेख गरे।
२८ कात्तिक, काठमाडौं । चोयाले बुनेको चिटिक्कको डाली । अनि डालिभरि कालो मास । मास पनि धादिङको । जहाँको मास र अन्य दलहन गेडागुडी मलेखु बजारको मुख्य आकर्षण हो ।
मलेखु भएर काठमाडौं भित्र–बाहिर गर्ने जोसुकै यात्रुको पनि विशेष कोसेली बन्ने गर्दछ यहाँको मास र गेडागुडी ।
धादिङ नीलकण्ठ नगरपालिकामा बिहीबार आयोजित एक कार्यक्रमका अतिथिलाई उपहार स्वरूप दिइएको जिल्लाको यो रैथाने उत्पादनबारे निकै चर्चा भयो ।
धादिङ जिल्ला उद्योग वाणिज्य संघले ‘मायाको चिनो’ अर्थात् कोसेलीका रूपमा अतिथिलाई डालीभरि मास दिएपछि अतिथि आश्चर्यमा परे ।
कार्यक्रम आयोजक थियो जिल्ला उद्योग वाणिज्य संघ धादिङ र प्रमुख अतिथि थिए नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल । अनि प्रसंग थियो संघको ३२औं वार्षिक साधारणसभा ।
कार्यक्रम सकियो, अतिथि बिदाइ सुरु भयो । अतिथिलाई मायाको चिनो प्रदान गर्ने क्रममा डालिभरि मास लिएर जिल्ला उद्योग वाणिज्य संघ अध्यक्ष रामकुमार डल्लाकोटी उपस्थित भए । परैबाट के होला कोसेली भनेर छुट्याउन नसके पनि नजिकै उपस्थित हुनेले थाहा पाए मास भनेर ।
प्रमुख अतिथि ढकाल लगायत त्यहाँ उपस्थित अन्य विशिष्ट अतिथिले खुसी र श्रद्धापूर्वक धादिङको स्थानीय उत्पादनलाई उपहारका रूपमा ग्रहण गरेलगत्तै कार्यक्रमस्थलमा सुरु भएको थियो मासको महत्त्वको चर्चा । धादिङमा ठूलो मात्रामा मास उत्पादन हुने गर्छ ।
यस्ता समारोह तथा कार्यक्रममा मायाको चिनोका रूपमा प्राय: आयातित वस्तु तथा सजावटका समान दिने प्रचलन रहँदै आएकामा संघले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिन, मुलुकका उद्योगी–व्यवसायीका नेता ढकाल मार्फत आफ्नो स्थानीय उत्पादन प्रवर्द्धन गर्न तथा धादिङको मासको देशव्यापी प्रचार गर्न यो उपहार दिएको अध्यक्ष डल्लाकोटीले बताए ।
उपहार प्राप्त गरेपछि अध्यक्ष ढकालले आफू सदैव स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न, रैथाने एवं स्थानीय वस्तुलाई उचित बजार प्रबन्ध गर्न तथा स्वदेशी उत्पादन मार्फत आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्न लागिपरेकाले यस्ता उपहार र तिनको प्रचारबाट निकै खुसी हुने धारणा पनि राखे ।
‘यो उपहारले प्लास्टिकजन्य सामग्रीबाट बन्ने झोला आदिका ठाउँमा चोयाको डालीले काम गर्छ र नेपालमा प्लास्टिकका वस्तुले स्थानीय बाँस, निगालोको चोयाबाट बन्ने डाली, डोका आदि सामग्री विस्थापित भइरहेका बेला तिनको प्रयोग र संरक्षणको सन्देश पनि डालीले दिन सक्छ,’ ढकालले भने ।
प्रतिक्रिया 4