२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र आम नागरिकको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
संघका सभापति दुजाङ शेर्पा लगायतको समूह शुक्रबार आयोगमा पुगेर निर्वाचनको तयारी र मतदाता नामावली संकलनको प्रणालीमा देखिएका समस्याको बारेमा आयोगको ध्यानाकर्षण गराएको हो ।
संघका सभापति शेर्पाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै युवा मतदातालाई धेरैभन्दा धेरै निर्वाचनमा सहभागी गराउने, मतदाता नामावली दर्ता प्रक्रियामा देखिएका प्राविधिक समस्या समाधानका लागि आयोगलाई सुझाव दिइएको बताए ।
उनले प्रवासमा रहेका नेपाली नागरिकलाई समेत मतदानमा सहभागी गराउने विषयमा भइरहेको प्रगतिबारे जानकारी लिइएको बताए ।
उनले भने, ‘अगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीको कार्यप्रगतिको विषयमा र कसरी बढीभन्दा बढी युवालाई मतदानमा सहभागी गराउन सकिन्छ र मतदाता नामावलीमा नाम दर्ता गर्दा देखिएका समस्या समाधानका लागि आयोगको ध्यानाकर्षण गराएका छौं ।’
स्वच्छ, निष्पक्ष र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गर्न नेविसंघको सधैं साथ रहनेबारे आयोगलाई जानकारी गराइएको उनले बताए ।
सरकारले अगामी २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान समेत गरिसकेको छ ।
प्रतिक्रिया 4