+
+
Shares

पहिचानको आन्दोलन कमजोर भएपछि पार्टीमा लागे थेगिम, आन्दोलनको नेतृत्व छाड्ने

पहिचानको आन्दोलन कमजोर भइरहेका बेला प्रदेश नं. १ पुन: नामङ्कन अभियान समिति संयोजक डकेन्द्रसिंह थेगिम कुलमान घिसिङले गठन गरेको उज्यालो नेपाल पार्टीमा जोडिएका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ कात्तिक ३० गते ९:३०

३० कात्तिक, विराटनगर । पहिलो प्रदेशसभाले नाम राख्न नसेपछि आलोचना भोगेको तत्कालीन प्रदेश १ ले १७ फागुन २०७९ मा प्रदेशको नाम कोशी राख्यो ।

पहिचानवादी मुद्दा पचिलो भएका कारण पहिलो प्रदेश सभाले नाम राख्न सकेको थिएन, दोस्रो प्रदेश सभाले एक्कासी प्रदेशको नाम कोशी राखेपछि पहिचानवादीले चित्त दुखाए । त्यसपछि प्रदेशको नाम पहिचानको आधारमा पुन: नामाङ्कन गर्नुपर्ने भन्दै पहिचानवादी दल र संगठनले मोर्चाबन्दी गरेर आन्दोलन सुरु गरे । डकेन्द्रसिंह थेगिमले नेतृत्व गरे ।

सुरुमा आन्दोलन चर्कियो । सत्ता पक्ष लचक नभएपछि आन्दोलन विस्तारै कमजोर भयो । २०८१ वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनसम्म आइपुग्दा पहिचानको मुद्दा अस्वीकृत भयो । पहिचानवादी मोर्चाको साझा उम्मेदवार बनेका थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भए । त्यसपछि, आन्दोलन झन कमजोर भयो ।

पहिचानको आन्दोलन कमजोर भइरहेका बेला प्रदेश नं. १ पुन: नामङ्कन अभियान समिति संयोजक डकेन्द्रसिंह थेगिम कुलमान घिसिङले गठन गरेको उज्यालो नेपाल पार्टीमा जोडिएका छन् ।

लामो समयसम्म सडकमा चलेको आन्दोलन कमजोर भएपछि थेगिमले पार्टी राजनीतिको बाटो रोजेका हुन् । पहिचानवादी मोर्चाको नेतृत्वमा हुनुअघि उनी एमालेमा थिए ।

उज्यालो नेपाल पार्टीमा जोडिएका थेगिमले पार्टीले पहिचानको एजेन्डा बोकेको बताउँछन् । ‘हामी पहिचानको मुद्दा बोकेरै यो नयाँ पार्टीमा आबद्ध भएका हौं, अचम्म मान्नुपर्ने कुरा छैन किनभने, यो पार्टीको विधानमा संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व र बहुसांस्कृतिकवादका कुराहरू स्पष्ट रूपमा समेटिएका छन्’, उनी भन्छन्, ‘यसले पहिचानको मुद्दालाई सम्बोधन गर्छ । पहिचान भनेको लिम्बुवान वा खम्बुवान पार्टी मात्र होइन, यो बृहत् अवधारणा हो ।’

नयाँ पार्टीमा आबद्ध हुनुअघि संयुक्त पहिचानवादी मोर्चामा रहेका सबै घटकसँग पनि सल्लाह र परामर्श भएको उनको भनाइ छ । पहिचानवादी जोडिदै जाने उनले बताए । ‘हामीले सल्लाह गरेरै अगाडि बढेका हौं । संयुक्त पहिचानवादी मोर्चामा जो–जो घटकहरू थिए, उहाँहरूसँग परामर्श भएको छ’, उनले भने’, ‘मैले नेतृत्व गरेको अभियान समिति, डाक्टर महेन्द्र लावतीले नेतृत्व गरेको पहिचानवादी मोर्चा, प्रदेश नं. १ को नागरिक उन्मुक्ति पार्टीलगायतका अन्य समूहहरू छलफल भएको छ । सबैको सहमति र सल्लाहमा नै हामी यो नयाँ बाटोमा हिँडेका हौँ ।’

इलामको उपचुनावमा डकेन्द्र ।

राजनीतिमा लागेपछि उनी अब पहिचानवादी मोर्चाको नेतृत्व छाड्ने मनस्थीतिमा छन् । किनकि अभियानको नेतृत्व सामाजिक संस्थाले मात्रै गर्ने भद्र सहमति छ ।

‘पार्टीमा आबद्ध भइसकेपछि अब हामी यस विषयमा विस्तृत सल्लाह गर्छौं । पहिले पहिचानको आन्दोलन सामाजिक संघसंस्थाहरू लिम्बुवान, आदिवासी जनजाति महासंघ, शेर्पा संघ, किराँत राई याक्खा नेतृत्व गरेका थिए । अब पार्टीमा आबद्ध भइसकेपछि यसको जिम्मेवारी तिनै सामाजिक संघसंस्थाहरूलाई उनीहरूको मापदण्ड र विधिअनुसार दिनेछौ|’, उनले भने ‘अब मैले यसको नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छु ।’

पार्टी मार्फत पहिचानको मुद्दामा अघि बढ्दैछन् उनी । ‘हाम्रो पार्टीको विधान लगभग तयार भइसकेको छ । यसमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने, सामुदायिक समाजवाद, बहुसांस्कृतिकतावाद र समतामूलक समाज निर्माण गर्ने भन्ने कुराहरू आएका छन् । यी सबै विषय विधानमा परेपछि सबै मुद्दाहरू समेटिएको मैले महसुस गरेको छु,’ उनले भने ।

मुद्दा कमजोरर भयो

उनका अनुसार प्रदेशमा पहिचानको मुद्दा सेलाएको छैन, तर आन्दोलन कमजोर चाहिँ भएको छ । जेनजी आन्दोलन, चाडपर्व उपनिर्वाचन घोषणाले आन्दोलनलाई प्रभाव पारेको उनको भनाई छ ।

‘आन्दोलन केही सुस्त भएको थियो,’ उनले भने,‘अन्तरधार्मिक राष्ट्रिय गोष्ठी र त्यसपछि थप कार्यक्रम गर्ने योजना थियो, तर जेन्जी आन्दोलन भयो त्यसपछि ६ महिनाको सरकार बन्यो र पार्टी निर्माण गर्ने कुराले गतिविधिलाई प्रभाव पारेको हो ।

अब नयाँ पार्टीमार्फत हामी पुनः सक्रिय हुनेछौं ।’ निर्वाचनमा स्वतन्त्र रूपमा भाग लिन सम्भव नभएकाले पार्टी निर्माण जुटेको उनले बताए ।

हर्क र कुलमान मिल्नुपर्छ

२०८१ वैशाख १५ गतेको इलाम–२ को उपनिर्वाचनमा ‘मुढा’ चुनाव चिह्नसहित पहिचानको मुद्दा लिएर स्वतन्त्र उम्मेदवारी दिएका थेगिमलाई पहिचानवादी नेताहरुले साथ दिएका थिए, जसमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि थिए ।

इलाम उपनिर्वाचनका बेला थेगिम र साम्पाङको सम्बन्ध सुमधुर थियो । थेगिम हर्कसँग सहकार्य गर्न तयार थिए । तर, हर्क साम्पाङ सल्लाह नगरी पार्टी गठन गरेपछि उनले चित्त दुखाएका छन् ।

उपनिर्वाचनपछि कम्युनिकेशन ग्याप आएको थेगिमले बताए । हर्कले पार्टी खोल्दा थेगिमलाई सम्झेनन् । थेगिमले साम्पाङसँग सहकार्य गर्ने प्रयास गरेपनि सकारात्मक प्रतिक्रिया पाएनन् । यद्यपि, भविष्यमा हर्क साम्पाङसँग सहकार्यको सम्भावना देख्छन् । एकता सम्भव नभएपनि स्वच्छ छवी भएकाहरू चुनाव सहकार्य गर्नुपर्ने उनी बताउँछन् ।

‘हिजो मैले सम्मानजनक मत प्राप्त गर्नमा उहाँको ठूलो योगदान छ । हामी ४१ घटक राजनीतिक पार्टी र सामाजिक संघसंस्थाहरू थियौँ, सबैको योगदान छ र त्यसमा उहाँको योगदान ‘प्लस’ हो,’ उनी भन्छन् ‘कुलमान घिसिङजस्ता देशभक्त, राष्ट्रवादी र देशको उन्नति चाहने व्यक्ति तथा हर्क साम्पाङजस्ता श्रम संस्कृति विकास गर्ने र कुनै आरोप नलागेका साथीहरू एक भएर जानुपर्छ । एक भएर चुनाव लड्नुपर्छ, नभए पनि कम्तीमा सहकार्य वा मोर्चाबन्दी गरेर चुनाव लड्न सक्ने वातावरण तयार गर्नुपर्छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?