+
+
Shares
कृषिमा यान्त्रीकरण :

किसानलाई २०० बिघामा आलु खेती गराउँदै फ्रेन्च फ्राइज उद्योग

२८ जिल्लाका ३५ हजार किसानलाई उन्नत जातको आलु खेतीमा संलग्न गराई वार्षिक ३० हजार मेट्रिक टन उत्पादन गर्ने उद्योगको लक्ष्य छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ मंसिर १ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीको फस्ट च्वाइस फुडले कैलालीको टीकापुरमा १०० बढी किसानसँग २०० बिघा जमिनमा प्लान्टर मेसिनबाट व्यावसायिक आलु खेती सुरु गरेको छ।
  • उद्योगले किसानलाई न्यूनतम समर्थन मूल्य तोकी खरिद सुनिश्चित गर्दै वार्षिक ३० हजार मेट्रिक टन गुणस्तरीय आलु उत्पादन गराउने लक्ष्य राखेको छ।
  • फ्रेन्च फ्राइज उद्योगले भारतबाट ल्याएको मेसिन र प्राविधिक सहयोगमा किसानलाई आधुनिक प्रविधि सिकाएर आलु खेती विस्तार गर्ने तयारी गरेको छ।

१ मंसिर, बुटवल । रुपन्देहीमा सञ्चालित फ्रेन्च फ्राइज उद्योगले किसानमार्फत यान्त्रीकरण (मेसिन)बाट व्यावसायिक आलु खेती सुरु गरेको छ ।

शुद्धोधन गाउँपालिका मैनहियास्थित फस्ट च्वाइस फुडले कैलालीको टीकापुरमा १०० बढी किसानमार्फत २०० बिघा जमिनमा प्लान्टर मेसिनबाट आलु खेती सुरु गरेको हो ।

२ अर्ब लगानीको उद्योगलाई वाार्षिक ३० हजार मेट्रिक टन उन्नत जातको गुणस्तरीय आलु चाहिने भएकाले कन्ट्याक्ट फार्मिङ अवधारणाअनुसार किसानले उत्पादन गर्ने आलुको न्यूनतम समर्थन मूल्य तोकी खरिद सुनिश्चित गरेर व्यावसायिक आलु खेती गराएको हो ।

भारतबाट ल्याएको प्लान्टर मेसिनले ८ घण्टामा ५० बिघा जमिनमा आलु रोपेको उद्योगका सञ्चालक कृष्ण पौडेलले बताए । भारतबाट ६ जना प्राविधिकसमेत ल्याएर किसानलाई मेसिनबाट आलु रोप्ने तरिका उद्योगले सिकाएको छ ।

मेसिननबाट आलु खेती गर्नका लागि एकै प्लटमा कम्तीमा १० बिघा खेत हुनुपर्ने प्राधान छ । ‘किसानको उत्पादन लागत कम होस्, कृषि मजदुरको अभावले खेती प्रभावित नहोस् भनेर प्लान्टर मेसिन भित्राएका हौं,’ पौडेलले भने, ‘मुसनबाट रोप्दा गुणस्तरीय र बढी परिमाणमा आलु उत्पादन हुन्छ ।’

उद्योगका फ्रेन्च फ्राइज अमेरिका, भारतलगायत देशमा निर्यात हुन सुरु भइसकेकाले गुणस्तरीय आलु आपूर्ति सहज बनाउन किसानलाई आधुनिक प्रविधि, बिउ र मलमा सहयोग गरेर व्यावसायिक खेतीलाई प्रोत्साहन गरेको पौडेलले बताए ।

कृषि मजदुरको अभाव झेल्नुपरेको अवस्थामा मेसिनबाट आलु रोप्दा किसानलाई धेरै राहत र सहज भएको  टीकापुरको बान्नीगढी कृषि फार्मकी सञ्चालक अम्बिका कुँवरले बताइन् ।

कुंवर र पोष्टबहादुर खड्का सहितको टिमले उद्योगको प्राविधिक सहयोग लिएर वीरेन्द्र विद्या मन्दिर माविको २२ बिघा जग्गा लिजमा लिएर आलु खेती सुरु गरेको छ ।

रुपन्देहीमा सञ्चालित उद्योगले कैलालीको टीकापुरमा प्लान्टर मेसिनबाट १०० बढी किसानमार्फत २०० बिघामा व्यावसायिक आलु खेती सुरु गरेको छ । ‘उद्योगले मेसिन, बिउ, मल सबै दिएको छ, खेती गर्ने तरिका पनि सिकाएको छ,’ कुँवरले भनिन्, ‘आलु जति धेरै फलाए पनि बजार मूल्यभन्दा प्रतिकेजी २(३ रुपैयाँ बढी दिने ग्यारेन्टी पनि गरेको हुँदा ढुक्क भएर व्यावसायिक खेती गरेका छौं।’

उद्योगले किसानको मनोबल उच्च हुनेगरी सबै सहयोग गरेकाले व्यावसायिक आलु खेतीमा होमिएको खड्काले बताए । फ्याकल्टी अफ एग्रिकल्चर डिन कार्यालय टीकापुरका प्रमुख विष्णु अधिकारीले फ्रेन्च फ्राइज उद्योगले टीकापुरमा पहिलोपटक प्लान्टर मेसिन भित्र्याएर व्यावसायिक आलु खेतीलाई प्रबर्द्धन गरिरहेको बताए ।

कलेजले उद्योगसँग सहकार्य गरेर टीकापुरमा आलु स्रोत केन्द्र स्थापना गर्ने तयारी भएको उनले बताए । कलेजका विद्यार्थीलाई आलु खेतीमा संलग्न गराई पढ्दै कमाउँदै कार्यक्रम व्यवहारमा लागु गर्ने, स्थानीय किसान, अभिभावक, कर्मचारीलाई उन्नत जातको आलु खेती र प्रविधि प्रदर्शन गराई व्यावसायिक खेतीमा प्रोत्साहन गर्ने उनले बताए ।

कलेजको स्वामित्वमा रहेको करिब ३० बिघा खेतलाई पनि व्यावसायिक आलु खेती गर्न लिजमा दिने तयारी भएको अधिकारीले बताए ।

उद्योगले कैलालीमा मात्रै ४ हजार मेट्रिक टन आलु उत्पादन गराउने लक्ष्य राखेको छ । नेपालका करिब ३० जिल्लाका ३५ हजार किसानलाई उन्नत जातको आलु खेती गराइरहेको उद्योगले चालु वर्षमा ३० हजार मेट्रिक टन आलु खरिद गर्ने लक्ष्य राखेको छ ।  वार्षिक ४० हजार मेट्रिक टन आलु प्रशोधन गरी फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योगको क्षमता रहेको छ ।

तराईका अन्य जिल्लामा पनि कैलालीको टीकापुरमा जस्तै मेसिनबाट आलु खेती विस्तार गर्ने तयारी रहेको उद्योगले जनाएको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?