४ मंसिर, हेटौंडा । भारत सरकारले नेपाललाई फेरि १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) सहयोग उपलब्ध गराएको छ ।
गतवर्ष असोज अन्तिममा बाढीपहिरोबाट अवरुद्ध भएको सडक सञ्जाललाई जोड्न ३८ करोड मुल्यका १० वटा बेलिब्रिज दिएको भारतले यसवर्ष पनि १० वटा बेलिब्रिज सहयोग गरेको हो ।
हेटौंडामा आज बिहीवार सडक डिभिजन कार्यालयमा भएको एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई बेलिब्रिज पुल हस्तान्तरण गरेका छन् ।
भारतीय राजदूत श्रीवास्तवले नेपालको पूर्वाधार विकासमा भारतले सहयोग पुर्याउँदै आएको बताए । हाल उपलब्ध गराइएको बेलिब्रिज लामो र टिकाउ रहेको उनको भनाइ थियो । भारत–नेपालको विकासमा लामो सहकार्य रहेको बताउँदै राजदूत श्रीवास्तवले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । नेपालको विकासमा भारत संधै सहयोगी बन्दै आएको उनले बताए ।
भौतिकमन्त्री घिसिङले ७० मिटर लामो १० वटा बेलिब्रिज उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिए । उनले पूर्व–पश्चिम राजमार्गदेखि भित्रि मधेश जोड्ने हुलाकी राजमार्गको निर्माणमा भारतले पुर्याएको सहयोगको प्रशंसा गरे । पूर्वाधार निर्माणले मुलुकको आर्थिक वृद्धिदर मात्र नभई नागरिकलाई राष्ट्रसँग पनि जोड्ने घिसिङको भनाइ थियो ।
सरकारले गत असोजमै भारत सरकारसँग बेलिब्रिज सहयोगका लागि अनुरोध गरेकोले यसवर्ष पनि १० वटा बेलिब्रिज उपलब्ध भएको भौतिक मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए । नेपालमा ५० मिटर लम्बाईसम्मका बेलिब्रिज खरिद गर्न पनि समस्या रहेको बताउँदै भारतले उपलब्ध गराउने १० वटा बेलिब्रिज पुल सिंगल लेनको ७० मिटर लम्बाई र ५ दशमलव २५ मिटर चौडाईका रहेको सचिव शर्माले बताए । यसअघि दिइएको पुल ५० मिटर भन्दा माथि विभिन्न लम्बाईका रहेको जनाइएको छ ।
तत्काल चार वटा बेलिब्रिज जडान गर्नुपर्ने अवस्था रहेको शर्माले जानकारी दिए । भारतले उपलब्ध गराउने भनिएको १० वटा पुलमध्ये हाल एउटा मात्रै आइपुगेको छ । सचिव शर्माले भारतले पुल जडानमा प्राविधिक सहयोग पनि गर्ने र नेपालका प्राविधिकहरुका लागि नयाँ प्रविधिको सिकाई हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4