News Summary
Generated by OK AI. Editorially reviewed.- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कर्मचारीले निर्णय गर्न डराउने गरेको बताएका छन्।
- मन्त्री पुनले सरकारी कार्यालयमा ढिलासुस्ती र फाइल एक ठाउँबाट अर्को ठाउँमा जान ढिलो हुने बताए।
- उनले भने, 'हुन्छ भने तुरुन्तै गर्दिनू, हुँदैन भने हुँदैन भन्दिनु' र कर्मचारीको स्वार्थले पनि काम ढिलो हुने उल्लेख गरे।
४ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कर्मचारीले निर्णय गर्न डराउने गरेको बताएका छन् ।
अनलाइनखबरसँगको अन्तर्वार्तामा मन्त्री पुनले सरकारी कार्यालयमा अहिले पनि ढिलासुस्ती रहेको बताउँदै कर्मचारी निर्णय गर्न डराउने गरेको बताएका हुन् ।
‘कर्मचारीहरू आफू तल पर्ने कुरा अथवा अख्तियारले समात्छ कि, कसैले केही गर्छ कि भनेर निर्णय दिन डराउँछन् । डराउनु पनि पर्छ । ऐन–कानुनमा नभएका कुराहरूलाई आफ्नो खुसीले गर्न पाइँदैन,’ उनले भने ।
काम हुने नहुने स्पष्टसँग भन्नुपर्ने उनको तर्क छ । ‘ स्पष्टसँग भन्दैनन् । हुन्छ भनेदेखि हुन्छ भन्दिनुपर्छ । हुँदैन भने हुँदैन भन्दिनुपर्छ । त्यो कुरा भन्दैनन् क्या ! ल हेरौंला । यो अगाडि बढाउँला । हेर्दैछु । यति दिनपछि आउनू । पछि सम्पर्क गर्नू जस्ता कुरा कर्मचारीले गर्छन्,’ उनले भने ।
सरकारी कार्यालयको प्रक्रियाले पनि ढिलासुस्ती हुनेगरेको उनको बुझाइ छ ।
‘मन्त्रालयमा ब्युरोक्रेटिक प्रोसेस छ । फाइल तलबाट दर्ता सुरु हुन्छ । दर्ताबाट सुरु हुँदै हुँदै गएर सचिव र सचिवबाट मन्त्रीसम्म आइपुग्छ । एक ठाउँबाट अर्को ठाउँमा फाइल जान एकदमै ढिलो हुन्छ,’ उनले भने ।
स्वार्थ गाँसिएको विषयमा कर्मचारीले घुमाउन सक्ने भनाइ उनको छ ।
‘स्वार्थ गाँसिएको छ भने घुमाउने हो । मन्त्रीको पनि स्वार्थ गाँसिएको हुनसक्छ । मन्त्रीले नहुने काम कर्मचारीलाई गराउन खोजिरहेको छ भने कर्मचारीले घुमाउँछ । कर्मचारीको पनि आफ्नो स्वार्थ हुनसक्छ । त्यो कुराले पनि घुमाएको होला । तर मैले हुन्छ भने तुरुन्तै गर्दिनू, हुँदैन भने हुँदैन भन्दिनु भनेको छु,’ उनले भने ।
प्रतिक्रिया 4