News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीले विराटनगरमा १५ दलको एकतापछि चौथो एकता सन्देशसभा आयोजना गर्यो।
- सभामा प्रचण्डले वर्तमान सरकारले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने बताए।
- प्रचण्डले राष्ट्रिय फौज बनाउनुपर्ने र छोराछोरीसँग संवाद गर्नुपर्ने आग्रह गर्नुभयो।
१५ मंसिर, विराटनगर । १५ राजनीतिक दल र समूहको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले सोमबार विराटनगरमा एकता सन्देशसभा आयोजना गर्यो । देश दौडाहा रहेको नेकपाको चौथो सभा थियो विराटनगरमा ।
धनगढी, दाङ र पोखरा हुँदै विराटनगर आएका नेताहरूले परम्परागत शैलीमा पट्यारलाग्दो भाषण गरे । विराटनगरमा नेताहरूका भाषणमा कुनै नयाँ कुरा थिएनन्, यसअघिका भाषण सुनेकालाई उस्तैउस्तै लाग्ने थियो ।
जेनजी विद्रोहको सन्देश परम्परागत शैली परिवर्तन पनि थियो । तर, १५ दलको एकतापछि बनेको दलले पुरानो शैली छोडेन । मञ्चभरी नेता, सबै नेतामा माइकप्रतिको मोह उस्तै ।
एकता सन्देशसभामा नेतालाई पालो पुर्याउन भाषण गर्नेको लिष्ट लम्ब्याउँदा दिउँसो आएका कार्यकर्ता कार्यक्रम सकिनुअघि नै फर्किए । कार्यक्रमको अन्त्यमा प्रचण्डले भाषण गर्दा आधा जति कार्यकर्ता फर्किसकेका थिए । कार्यकर्ता कुर्सि छाडेर फर्कन थालेपछि प्रचण्डले आफ्नो सम्बोधन छोट्याए । उनी भन्दा अघि बोलेका माधवकुमार नेपालले कुर्सीलाई कुरा सुनाउनु भन्दै ठट्टा पनि गरे ।
दिउँसो १२ बजेबाट सुरु गर्ने भनिएको सभामा सवा १ बजे नेताहरू आइपुगेका थिए । कार्यक्रम सुरु हुँदा उत्साहजनक उपस्थिति थियो । प्रचण्डले भाषण पूरा गर्दा ५ बजेको थियो । खाली कुर्सि हेर्दै उनले करिब २५ मिनेट सम्बोधन गरे ।
तत्कालीन नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले सञ्चालन गरेको सभामा सुरुमा प्रदेश इञ्चार्ज हरिबोल गजुरेलले सम्बोधन गरे । त्यसपछि तत्कालीन नेकपा एकीकृत समाजवादी कोशी प्रदेशकी अध्यक्ष सरिता खड्काले सम्बोधन गरिन् ।
दुई नेताको सम्बोधनपछि जेनजीको तर्फबाट महेन्द्र मोरङ स्ववियु सभापति रोहित यादव र डिग्री क्याम्पस स्ववियु सभापति पृतम साहले सम्बोधन गरे । त्यसपछि नेकपा एमाले छाडेर नेकपामा प्रवेश गरेका रुपेश खतिवडाले सम्बोधन गरे ।
रुपेशपछि प्रमोदनारायण यादवले सम्बोधन गरे । उनीपछि आएका चीरण पुनले सम्बोधनपछि जनवादी गीत गाए । नेताको सम्बोधनलाई भन्दा उनको प्रस्तुतिलाई कार्यकर्ताले चासो दिएर हेरे । उनले खुद्रे पसल नचल्ने भन्दै मूल नेतृत्व नेकपामा आउन कम्युनिष्ट दलहरूलाई आग्रह गरे । उनीपछि गोपाल किराँतीले सम्बोधन गरे । किराँतीपछि राजेन्द्र श्रेष्ठले सम्बोधन गरे । उनीपछि भीम रावलको पालो आयो ।
उनले देशको रक्षा गर्नेबेला सेनाको हेलिकप्टर चढेर भागेका केपी शर्मा ओलीले गुण्डुबाट लल्कारीरहेको दाबी गरे । उनले नेकपालाई वृद्धहरूको क्लब भन्नेहरूलाई प्रचण्डसँग मर्निङ वाक गरेर देखाउन चुनौती दिए ।
भीम रावलपछि नारायणकाजी श्रेष्ठले सम्बोधन गरे । उनले संविधान र राष्ट्रियताको रक्षाका लागि निर्वाचनमा जानुपर्ने बताए ।
त्यसपछि पालो आयो पूर्वप्रधानमन्त्री झलनाथ खनालको । देश गम्भीर संकटमा गुज्रिरहेको बताउँदै उनले निकास दिनका लागि कम्युनिस्ट पार्टी एकतामा जोडिएको बताए ।
खनालपछि पूर्वप्रधानमन्त्री तथा नेकपा सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्न अघि सरे । यतिबेलासम्म धेरै कुर्सी खाली भइसकेका थिए ।
‘भन्नुपर्ने धेरै कुराहरू पूर्ववक्ता साथीहरूले भन्नुभयो, फेरि भन्न सुरु गरौं भन्यो सामुन्नेमा खाली खुर्सी देख्छु,’ उनले आफ्नै आयोजनामाथि ब्यङ्ग्य गर्दै भने, ‘जम्मै गइसकेपछि के गरौं भनेर प्रचण्डले कानमा खुसुक्क भन्दै हुनुहुन्थ्यो, बडो गाह्रो भयो ।’
उनले कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी चरित्रलाई जोगाउन र राष्ट्रको रक्षाको निम्ति नेपाली कम्युनिष्ट पार्टी गठन गरिएको बताए ।
उनीपछि नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अन्तिम सम्बोधन गर्ने पालो थियो । साँझ पर्न थालिसकेकाले धेरै त गइसकेका थिए । भएका पनि दिनभर नेताको पट्यारलाग्दो भाषणले वाक्क भएका कार्यकर्ता थकित थिए ।

न्युन उपस्थितिबीच पनि प्रचण्ड बोल्न थाले । प्रचण्डले वर्तमान सरकारले तोकिएकै मितिमा निर्वाचन गर्नु पर्ने बताए । ‘सरकार गठनमा हाम्रो पनि भूमिका छ, सरकारले बुझोस् कुनै आग्रह पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छ,’ उनले भने ।
उनले आन्तरिम सरकारका मन्त्रीलाई दीर्घकालीन असर गर्न काम नगर्न आग्रह गरे । दीर्घकालीन काम गर्ने म्यान्डेट सरकारलाई नरहेको उनको भनाइ थियो । प्रचण्डले राष्ट्रको रक्षाका लागि राष्ट्रिय फौज बनाउनुपर्ने पनि बताए ।
जनयुद्ध र शान्ति प्रक्रियामा आएपछि तत्कालीन माओवादीले प्रत्येक नागरिकलाई सैनिक तालिम दिने विषयअघि सारेको थियो । अन्य दल सहमत नभएपछि संविधान निर्माणको क्रममा माओवादी यो मुद्दामा माओवादी ब्याक भएको थियो ।
जेनजी आन्दोलनपछि प्रचण्डले फेरि फौजको विषय उठाएका हुन् । ‘हामीसँग ३ करोड नेपालीको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ, यदी तीन करोड नेपाली नै देशका लागि जरुरी पर्दा मर्न तयार हुने हो दुनियाँको कुनै तागतले नेपाललाई हराउन सक्दैन,’ उनले भने, ‘हामी सबै राष्ट्रको निम्ति देशको स्वतन्त्रता र स्वाधीनताका निम्ति, नेपाली जनताको आत्मसम्मानका निम्ति एउटा नयाँ राष्ट्रिय फौज, सम्पूर्ण जनता नै फौज बन्ने प्रतिवद्धता र संकल्प नगर्ने हो भने, जरुरी परे नेपाली सेना, सुरक्षा फोर्ससँग मिलेर सम्पूर्ण जनता राष्ट्रका निम्ति लड्न तयार नहुने हो भने हामीले बचाउन सकिँदैन ।’
जनयुद्धपछि शान्ति प्रक्रियामा आएका प्रचण्डका यस्ता कुरा सुनेर थपडी बजाउनेहरू प्रशस्तै थिए । तर, यसपटक उनका यस्ता कुरा सुनेर सिट्टी फुक्ने ताली ठोक्ने थिएनन् ।
प्रचण्डले आफ्ना छोराछोरी र नातीनातिनालाई समय दिन पनि कार्यकर्तालाई आग्रह गरे । ‘छोराछोरी नातीनातिनाले के पढ्दैछन्, के हेर्देछन् ध्यान दिन पर्यो, हेर्न पर्यो सम्वाद गर्न पर्यो, हामीले वास्तै गर्न छाडेका रहेछौं यो बिचमा,’ उनले भने, ‘उनीहरूको संसार अर्कै (प्रविधिमा) भइसकेको छ, हामीसँग ठूलो ग्याप रहेछ, यहीँ ग्यापले गर्दा स्थिति धेरै नै गम्भीर भएको देखियो नि ।’

उनले छोराछोरी र नातीनातिनासँग सिक्नु पर्ने पनि बताए । ‘छोराछोरी र नातीनातिनासँग सिक्न थालौं, हामीभन्दा धेरै सिपालु छन् उनीहरू,’ उनले फेरि भने, ‘हामी त धेरै पछि परेका छौं ।’
तर, यसो भनिरहँदा स्वयं नेपाली कम्युनिष्ट पार्टीले अबका कार्यकर्ता र जनताको बदलिएको मनाविज्ञानबारे केही सिकेको देखिएन । उनी पुरानै ढर्रा र पुरानै शैली पछ्याउँदै कार्यक्रम आयोजना गर्दा आफूले सुनाउनु पर्ने कुरा सुन्नुअघि नै मञ्च खाली हुने अवस्था यसपटक पनि देखियो ।
प्रतिक्रिया 4