+
+
WC Series
विराटनगर किंग्स 2025
15/2 (2.6)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares
अखिलेख उपाध्यायसँग पुस्तक वार्ता :

चिकेन नेकमा के भइरहेको छ ?

यसको सामरिक महत्त्व एकदमै धेरै छ। सिलगुडी करिडोर पुरै ‘न्यारो स्ट्रिप अफ ल्यान्ड’ छ । जुन टुक्रियो भने नर्थ इस्टको (असम, मेघालय, मणिपुर, नागाल्यान्ड) पूरा जनसंख्या छुट्टिने हो कि भन्ने भारतलाई चिन्ता छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १६:०७

दक्षिण एसियाको भू–राजनीतिक नक्सामा एउटा साँघुरो, तर अत्यन्त संवेदनशील भूमि छ । नेपाल, भारत, बंगलादेश,चीन र भुटानसँग नजिकको सीमा रहेको यो भूमि ‘चिकेन नेक’ भनेर चिनिन्छ ।

पाँच देशका सीमाहरू नजिक भएकाले यसको सामरिक महत्त्व छ । सुरक्षा–चिन्ता पनि यहाँ प्रकट भइरहेको हुन्छ । चिकेन नेकमा भएका शक्ति-संघर्ष, सीमावर्ती समाजको अवस्था लगायतका विषय समेटेर पत्रकार अखिलेश उपाध्यायले ‘इन द मार्जिन्स् अफ इम्पायर्स’ पुस्तक लेखेका छन् ।

पुस्तकमा सामरिक मार्गहरू मात्र होइन, मानवीय इतिहास, सांस्कृतिक सम्बन्ध र शक्ति–केन्द्रहरूको टकरावका कारण पिसिने सीमावर्ती जीवनका कथा पनि छन् । यसै सन्दर्भमा पत्रकार उपाध्यायसँग गरिएको वार्ता :

तपाईंले लेखेको ‘इन द मार्जिन्स् अफ इम्पायर्स’ नामक पुस्तक भर्खरै प्रकाशित भएको छ । यही समयमा चिकेन नेकमा राजनीतिक घटनाक्रमहरू पनि भइरहेका छन् । तपाईंको पुस्तकले चाहिँ चिकेन नेकको के खबर ल्याएको छ ?

पत्रकारिताको भाषामा भन्छ नि, ‘न्युज प्याक’, नयाँ चिजलाई लिएर सान्दर्भिकता झल्काउने । मैले यो किताबमा त्यस्तो कुरा भन्दा पनि चिकेन नेक के हो ? नेपालका लागि त्यसको महत्त्व के छ ? त्यहाँ कसरी वर्षौंदेखि राजनीतिक, सामाजिक सम्बन्ध र रणनीतिहरू जोडिएका छन् ? भन्ने विषय सेरोफेरोका खबरहरू ल्याएको छु ।

मैले पहिलोचोटि लामो किताब लेखेको हुँ । अन्तर्राष्ट्रिय प्रकाशकले मेरो प्रस्ताव स्वीकार्नुको कारण म आफैँ सीमा क्षेत्रवासी हुँ । झापा भद्रपुरमा खोलावारि हाम्रो घर छ । क्रिकेट खेल्न खोलापारि–गल्गलिया जाने गर्‍थ्यौं । त्यसैले बोर्डरको विषय म जन्मँदा हुर्किँदादेखि देखेको हो ।

चिकेन नेकको सामरिक महत्त्व के हो ?

चिकेन नेकको के हो भने यो सानो करिडोर २०–२२ किलोमिटर लामो छ । बीचमा सिलगुडी छ। दक्षिणपूर्वमा बंगलादेश छ। पूर्वमा नेपाल झापा छ । उत्तरमा दार्जिलिङ जिल्ला छ । चिकेन नेक आफैँ दार्जिलिङ तराई हो । त्योभन्दा माथि दार्जिलिङ हिल्स, सिक्किम, अनि चुम्बी भ्याली छ । त्यहाँको डोक्लाममा २०१७ मा भारत र चीन सैन्य तनाव पनि भएको थियो।

यसको सामरिक महत्त्व एकदमै धेरै छ। सिलगुडी करिडोर पुरै ‘न्यारो स्ट्रिप अफ ल्यान्ड’ छ । जुन टुक्रियो भने नर्थ इस्टको (असम, मेघालय, मणिपुर, नागाल्यान्ड) पूरा जनसंख्या छुट्टिने हो कि भन्ने भारतलाई चिन्ता छ ।

नर्थ इस्टलाई पहिले ‘सेभेन सिस्टर्स’ भनिन्थ्यो । तर, १९७५ मा जब सिक्किमले इन्डियन युनियनमा आफूलाई समाहित गर्न चाह्यो, त्यसपछि चाहिँ ‘सेभेन सिस्टर्स प्लस वान ब्रदर’ (सिक्किम) भनिन्छ।

किताबले के-कस्ता विषयलाई कसरी समेटेको छ ?

मैले यो किताबमा पूर्वी हिमालयहरूलाई जोडेर त्यसलाई समेट्न खोजेको छु । किताबले नक्सांकन गरेको विषयको क्षेत्र नेपाल, सिक्किम, भुटान, अरुणाचल प्रदेश, नर्थ इस्ट (असम), चिकेन नेक र बंगलादेश हो । राज्यले एकरूपता खोजेको हुन्छ । तपाईं नेपाली, भारतीय, सिक्किमे के हो ?

राष्ट्र राज्य भन्ने अवधारणा नै आधुनिक हो । १८ औँ शताब्दीमा युरोपमा औद्योगिक क्रान्ति सुरु भएपछि यो कुरा आयो ।

चीन र भारतले आफूलाई ‘सिभिलाइजेसनल स्टेट’ हौं भन्छन्, जसको सभ्यता र विकास युरोपको भन्दा धेरै नै पुरानो छ । उनीहरूले आफूलाई ‘राइज’ भन्न चाहँदैनन्, ‘रिजुभेनेसन’ (पुनरोदय) भएको हो भन्छन् । यो सन्दर्भ पनि दिन खोजेको छु । के हो त राष्ट्र राज्य ? मैले प्रश्न सोधेको छु ।

चिकेन नेकका राजनीतिक, समाजिक र मानव जीवन चाहिँ कसरी समेटिएका छन् ?

चिकेन नेकको सामरिक महत्त्व (ट्रेड हब, सिभिलाइजेसन हब र मिलिट्री इन्फ्रास्ट्रक्चर) र नेपालको पूर्वी सीमाको सान्दर्भिकता यसमा छन् ।

चिकेन नेकको घाँटीबाट सबै बाटो (हाइवेज, रेल, फाइबर अप्टिक्स) जान्छ । यो क्षेत्र ‘ट्रेड हब’ हो । भारतको ठूलो सैन्य बेस भएको क्षेत्र पनि यो हो ।

राजनीतिक भूगोलले छुट्याए पनि मानिसहरू अरू कुराले जोडिएको हुन्छ । एकातिर राज्य हुन्छ जसले एकरुपताको माग गर्छ, अर्कोतिर मानिस हुन्छन् । काकाकाकी आसाममा, भतिजो काँकडभिट्टामा, मामामाइजु सिलगुडीमा, भान्जाभान्जी भद्रपुरमा । हात्तीले मेची खोला तर्दा उसलाई ‘पासपोर्ट’ चाहिँदैन । यो मानव सभ्यतालाई भारतीय र नेपाली भनेर कसरी छुटाउने ? ओलाङचुङगोलाका वालुङहरूलाई काठमाडौंले (सिडिओ कार्यालयले) ‘शेर्पा’ नामकरण गरिदिएको कथा छ ।

कोभिडमा याकको बथान चीनबाट नेपालतर्फ आएपछि चीन सरकारले नफर्काउने निर्णय गरेका घटना छन् । याकलाई के थाहा ? नेपाल कुन हो, चाइना कुन हो ? उसले त चरन जहाँ पाउँछ त्यहीँ जान्छ । मैले यी सबै विषयहरूमा प्रश्न गरेको छु ।

किताबमा कस्तो संरचना छ ?

सुरुमा नेपाल र भारतसँगको सम्बन्ध र वाल्यकालका आफ्नै अनुभवसँग सन्दर्भ छन् । सिलिगुडीमा देखि ओलाङचुङगोलाका कुरा आउँछन् । हिमालपारिको सभ्यता, वालुङहरूको कथा र राष्ट्रिय पहिचानको समस्याका विषय छन् । कालिम्पोङ, सिक्किम र भुटान पनि यहाँभित्र छन् ।

भारत र चीनको सम्बन्ध भारत र अमेरिकाको निकटता, र नेपाल-भुटानको भविष्य/हैसियतमाथि चिन्ता पनि यसमा समेटिएको छ ।

पुस्तक लेख्न कति समय लाग्यो ?

यो किताबको लागि म पाँच वर्ष घोल्लिएँ । थिम खोज्न म लागेकै होइन, अर्गानिक रुपमा आएको हो । किताब लेख्दा मलाई कतिपय नैतिक द्विविध पनि भएको थियो । जस्तो : टासीले भनेको कुरा कोट गर्‍यो भने चाइनालाई गोदेको देखिने, अर्को कुरा कोट गर्‍यो भने गजब मानेको ठानिने । त्यसैले मैले कतिपय पात्रहरूलाई एक्सपोज नगरी उनीहरूमा भावनामा आफैं जोडिएर पनि सन्दर्भहरू ल्याएको छु ।

नेपाली भाषामा पनि ल्याउने तयारी छ ?

नेपालीमा पनि निकाल्छु । प्रकाशकहरूसँग कुरा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?