१८ मंसिर, काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
बिहीबार नख्खु कारागार पुगेर गुरुङले लामिछानेसँग भेट गरेका हुन् ।
लामिछानेसँगको भेटमा सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव आफुले राखेका र त्यसमा लामिछाने सकारात्मक देखिएको गुरुङले बताएका छन् ।
‘हामी सकारात्मक छौँ । तपाईंहरू मिलाउन लाग्नुस् । हामी मिल्नुपर्छ भनेर उहाँले भन्नुभयो,’ गुरुङले अनलाइनखबरसँग भने, ‘यदि सबै सकारात्मक भए रास्वपा मिल्नका लागि तयार रहेको र त्यसका लागि छलफल गर्न तयार रहेको बताउनुभयो ।’
यसबाहेक आफूलाई अन्याय भएको विषय पनि लामिछानेले सुनाए । उनले सहकारी ठगी प्रकरणमा आफूमाथि अन्याय भएकाले छिटो न्याय पाउनुपर्ने अपेक्षा गुरुङसँग राखेका थिए ।
‘बरु मलाई गल्ती गरेको भए कारबाही होस् । हैन भने न्याय होस् । यसको छिटो निरुपणका लागि पहल गरिदिनुस्,’ रविलाई उद्धृत गर्दै गुरुङले भने ।
रविको यो प्रस्तावमा गुरुङले पनि आफूहरूले यसका लागि पहल गर्ने बताए । ‘न्यायलयले भन्ने कुरा हो, सही या गलत भनेर । अब त्यो छिटो गर्नुपर्यो भनेर हामीले पहल गर्छौँ भन्यौँ,’ गुरुङले भने ।
त्यसबाहेक रविले जेनजी आन्दोलनमा आफ्नो पूर्ण साथ रहेकाले देश बनाउने अभियानमा एक भएर लाग्न पनि अनुरोध गरेको गुरुङले बताए ।
छलफलमा कुनै ठोस सर्त वा विषय नआए पनि ‘जसरी पनि मिल्नैपर्छ, नमिलेर हुँदैन’ भन्ने भावनामा कुराकानी भएको गुरुङले बताए । त्यस्तै, वैकल्पिक शक्तिबीच एक हुने सम्भावना ८० प्रतिशत रहेको दाबी गुरुङले गरे ।
‘अब हामी सबै सकारात्मक छौँ । केही विषयमा छलफल भएपछि मिल्ने कुरा झन अघि बढ्यो । आजको भेटपछि थप सकारात्मक छु,’ गुरुङले भने ।
योसँगै बालेन र कुलमानको भेटघाटमा पनि आफूले सहजीकरण गरेको दाबी गुरुङले गरे ।
उज्यालो नेपालका एक शिर्ष नेतासँग बुझ्दा पनि गुरुङले बालेनसँग भेट गर्न सहजीकरण गरेको र मिलनको लागि भूमिका खेलेको स्वीकारे ।
‘सुदन जी सुरुबाटै मिल्नुपर्छ भनिरहनुभएको छ । त्यो भेटमा उहाँसहित अरुको पनि भूमिका थियो,’ ती नेताले भने ।
यसरी विशेषगरी कुलमान, रवि र बालेन मिलाउने उद्धेश्यले हिडेका गुरुङले वैकल्पिक धारका विभिन्न शक्तिसँग समन्वय गर्ने बताएका छन् ।
प्रतिक्रिया 4